मङ्लबार, जेष्ठ १३, २०७७

कोरोना परास्त गर्न ‘झिकीकटक’

कोरोना परास्त गर्न ‘झिकीकटक’


  • विवेक विनयी
  • आइतवार, जेष्ठ ४, २०७७

विश्वभर कोरोना यतिखेर मनुष्यको लागि डरलाग्दो अदृश्य सत्रु बनेको छ । उसले विश्वमञ्चमा मृत्यु र भयको कहालीलाग्दो ताण्डव देखाइरहेको छ । नाबालकदेखि वृद्धवृद्धासम्मलाई उसले खुलेआम सख्त आक्रमण गर्दा पनि मनुष्य लाचार छ । परोक्ष घातक आक्रमण गर्ने यो सत्रुलाई परास्त गर्न अहिले विश्वलाई चुनौती थपिएको छ । आ–आफ्नै नीति तय गरी, यो महामारी विरुद्ध लड्न देशहरुले युद्ध घोषणा गरी शसक्त रुपमा लागी रहेका छन् तर पनि स्थिीति काबुमा आइ रहेको छैन ।

नेपालले यो सत्रुबाट बच्न सुरक्षात्मक नीति अपनाएको छ । यसरी नै सत्रुलाई ठेगान लगाउँछु भन्ने नेपालको ध्याय छ । सत्रु हामीलाई आक्रमण गर्न खुल्लमखुल्ला मार्चपास गरिरहेको छ । हामी चाँहि सुरक्षीत हुँदै उसलाई सिध्याउन सुरक्षाकवच भित्र छौँ । अझ प्रष्ट रुपमा भन्नु पर्दा वाहिर कोरोना हामीलाई ढुकेर बसेको छ । भित्र हामी ढोका थुनेर बसेका छौँ । हामीले सोचेका छौँ कि हामीलाई कुर्दा कुर्दा कोराना थाकेर आफैँ भाग्छ वा खाना नपाएर आफैँ मर्छ । अनि हामी रमाउँदै बाहिर निस्कन्छौँ । अहिलेको हाम्रो अवस्था र अपेक्षा लगभग यस्तै छ ।
के हामीले सोचे जस्तै हुन्छ होला ? भइरहेको छ ? के हामीले अहिलेको यो महामारीको युद्ध, सुरक्षात्मक नीति अपनाएर मात्र जित्न सक्छौँ ? हाम्रो सामू महत्वपूर्ण प्रश्नहरु तेर्सिएका छन् ।

लकडाउनले दुई महिना छुनै लागेको छ । अब चाँहि सरकारले लकडाउन खुकुलो पार्छ कि भन्दै गर्दा एक्कासी संक्रमण ह्वार ह्वारर्ती बढीरहेको छ । अब कत्तिन्जेल लकडाउन गर्ने र त्यो कत्तिको प्रभावकारी होला भन्ने विषयमा सरकारले गम्भिर भएर सोच्नुपर्छ । अहिलेको जस्तो लकडाउन, अपर्याप्त जाँचबुझ तथा महामारी नियन्त्रणको अस्पष्ट नीति एवम् धीमा गतिले लामो समय र धेरै क्षति पश्चात नेपालले सफलताको झुल्के घाम देख्न पाउने हो कि भन्ने त्रास पैदा भएको छ ।

नेपालले कम आर्थिक क्षति र लगानीमा अहिलेको शक्तिशाली सुत्रलाई पराजित गर्न विशेष प्रकारको नीति बनाएर अबिलम्ब लागु गर्न आवश्यक छ । अहिलेको जस्तो सुरक्षात्मक रणनीतिले मात्र छिट्टै हामी कोरोनामुक्त हुन सक्दैनौ ।

अहिले विश्वका अधिकांश देशहरुले सुरक्षात्मक विधि नै अपनाइरहेका छन् । थोरै देशहरुले मात्र कम सुरक्षात्मक ज्यादा आक्रमक नीति अवलम्बन गरिरहेका छन् । दक्षिण कोरिया, स्वीडेन लगायत केही देशहरुले लकडाउन नगरी कोरोनलाई परास्त गरिरहेका छन् । आक्रमक टेष्ट, ट्रयासिङ, आइसोलेसन, सामाजिक दुरि, माक्सको प्रयोग तथा अन्य सवधानि अपनाइएको छ । ठूलो संख्यामा परिक्षणहरु भइरहेका छन् । मानिसहरु आफ्नो काममा व्यस्त छन् । यहाँ हेर्दा यी देशहरले सुरक्षात्मक कम र बढी आक्रमक नीति अख्तियार गरिरहेको देखिन्छ । लकडाउन नहुँदा मानिसहरु काममा व्यस्त छन् । आत्मबल उच्च छ । नेपालमा पनि ठ्याक्कै यस्तै गर्न त सकिन्न होला तर कोरोनासँग लड्नको लागि सम्बन्धित विज्ञहरुसँग गम्भिर छलफल गरी खास रणनीति लागु गर्नुपर्छ । यति लामो समयसम्म देशैभरी एकनासे लकडाउन प्रभावकारी हुन्न ।

मलाई चाँहि यो कोरोना युद्ध लड्नको लागि पृथ्वीनारायण शाहको दिव्य उपदेश स्मरण भइरहेको छ । ‘जाइकटक नगर्नू झिकीकटक गर्नू’ अर्थात आफैँ निँहु खोजेर आक्रमण नगर्नू तर आक्रमण गरे प्रत्याक्रमण गर्नू । सत्रुले हामी आक्रमण गरिरहेको छ । हामी पनि झिकीकटक (प्रत्याक्रमण) गर्नुपर्छ । हाम्रो प्रत्याक्रमण प्राकृतिक एवम् बैज्ञानिक हुनुपर्छ । त्यसको लागि सम्बन्धित सबै विज्ञहरुको राय सुझाव र विश्व पृष्ठभूमिको अनुभवलाई सदुपयोग गरी तत्काल निर्माण गर्नुपर्छ ।

म त यसबारे अज्ञ मनुक्खे हुँ तथापि आपतविपतमा सबैले माथापच्ची गर्नुपर्छ भनेको सुनेर अहिलेको अदृश्य सत्रुलाई परास्त गर्न आधा दर्जन सुझाव पस्कन चाहान्छु ।

मलाई लाग्छ यो प्रत्याक्रमणको मोर्चामा सरकारले सक्रिय युवा, संघसंस्थाहरु र स्थानीय सरकारलाई विशेष प्रयोग गर्नुपर्छ । आफ्नो क्षेत्रमा मानिसहरुको आवतजावतमा प्रहरीले मात्र विवरण राख्न सक्दैन । स्थानीय सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । यदि सरकारसँग अपर्याप्त जनशक्ति भए चुनावको वेला जस्तै म्यादी स्वयंसेवक नियुक्ती गरी तिव्र आक्रमण गर्नुपर्छ ।

सत्रु अदृश्य छ । उसले हामीलाई सजिलै देख्छ तर हामी उसलाई देख्दैनौँ । त्यसकारण हामीले सत्रुलाई खोजेर बाहिर ल्याउनु पर्यो । त्यसको लागि देशैभरी आक्रमक शैलीमा दक्षिण कोरियाले झैँ पालीपाली अर्थात छिटो छिटो भन्दै हाम्रा सेनारुपी डाक्टरहरुलाई पठाएर व्यापक रुपमा उनीहरुको खोजी गर्नुपर्छ । अहिलेको जस्तो फाट्टाफुट्ट चोकसोक र प्रभावित छेउछाउमा दुईचार सयमा खोजी गरेर पुग्दैन । यसलाई सरकारले गम्भिरतापूवर्क लिएर ‘नन स्टप’ दैनिक कम्तिमा पाँच हजारको संख्यामा जाँच गराउँनुपर्छ । अन्यथा कोरोनाले थाहै नपाई आफ्ना सेनाहरु बृद्धि गरी हामीलाई कडा आक्रमण गर्ने छ । यदि हामी उसलाई सजिलै नियन्त्रणमा लिन चाहान्छौँ भने सबै प्रकारका ननस्टप परिक्षण गर्न आवश्यक छ ।
यो अदृश्य सत्रु आफैँ लखरखर हिडेर आउँदैन कसैको बुई चढेर आउँछ । त्यसकारण संक्रमित ठाउँबाट आएका सबै मानिसहरुलाई क्वारिनटिन गरेर तुरुन्त जाँच्नु पनि गरिहाल्नु पर्छ । अहिले चाँहि क्वारिनटिन मात्र गरिने भएकोले लुकीछिपी सत्रु त्यहाँबाट सजिलै अरुको बुई चढेर अन्यत्र भाग्ने भयो । अहिले त्यही भइरहेको छ । त्यसकारण नाकाहरुमा प्रहरी, आर्मीले नभ्याए स्वयंसेवकहरु लगाएर भएपनि कडा क्वारिनटिन र सगैँ जाँच गर्नुपर्छ ।

यो युद्धमा सबै जनता सहभागी हुने भएकोले जनताको आत्मबल उँचो राख्न सरकारले विभिन्न विधि दिनुपर्छ । हाम्रो नेपाली समाजमा विभिन्न धार्मिक तथा सांस्कृतिक संस्कार र परम्परा प्रमुख आस्थाको केन्द्रको रुपमा रहेको छ । यतिखेर बैज्ञानिक कुरालाई छाडेर जेजस्तो गर्दा जनताको आत्मबल बढ्छ त्यो गर्न हौसला दिनुपर्छ । यदि दैनिक महामृत्युजय मन्त्रजापले कसैको आत्मबल बढाउँछ भन्ने जताततै मन्त्रजाप गर्न प्रेरित गर्नुपर्छ । पूजापाठ गराउँनुपर्छ । आ–आफ्नो धार्मिक विश्वासको धरातलमा उभिएर जनतालाई विहान दिउँसो बेलुकी एकचिक्त भएर विभिन्न मन्त्रजाप, प्रार्थना, कर्मकाण्ड आदि गर्न स्वयं सरकारले प्रेरित गर्नुपर्छ । केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यलयमा हिन्दु शान्ति मन्त्र जप गराएको भिडियो भाइरल भएको थियो । अरु कुनै कुराहरु नहेरी आत्मबलको लागि यसो गर्न सकिन्छ ।

यो धर्मसंस्कारको कुरा मात्र होइन आत्म सुझावको लागि पनि महत्वपूर्ण छ । फ्रान्समा इमायल कुवे नाम गरेका एक मनोवेत्ता थिए । अन्त कतै ठिक नभएको विरामी केवल एक मन्त्रको भरमा उनले ठिक पार्थे । विरामीलाई एक शान्त ठाउँमा राखेर उनले ‘प्रत्येक दिन म ठिक हुँदैछु’ भन्ने मन्त्र बारबार जप्न लगाउँथे । यूटुबमा उनको त्यही मन्त्रलाई गीत बनाएर राखिएको छ । खोज्न सक्नुहुन्छ । (“Everyday, and in every way, I am becoming better & better”, Emile Coue) । यही मन्त्र हुनुपर्छ भन्ने छैन । हामीले कुनै एक आफुलाई चाहिएको मन्त्र बनाएर त्यसलाई बारबार दोहोर्याउनुपर्छ । एकचित्त भएर भावपूर्ण रुपमा पटक पटक कुनै एक शब्दमात्र पनि दोहोर्याउँदा त्यसले हाम्रो अवचेतन मनमा छाप छोड्छ । अवचेतन मनमा जे कुराको प्रभाव पर्छ त्यो वास्तविक जीवन अवतरण हुन्छ । यसबारे विश्वविख्यात अमेरिकन लेखक जोसेफ मर्फीको पुस्तक अवचेन मनको शक्ति पढ्न सकिन्छ । (The Power of your subconscious mind by Joseph Murphy) । यसरी हामी सकारात्मक एवम् उच्च मनोबल निर्माण गर्न सक्छौँ । अहिले संसारभर मानिसहरु कोरोनाले भन्दा बढी भयले मरिरहेका छन् । यसको लागि सरकारले देशका मनोवेत्ता, लेखक वा जानकार सबै व्यक्तिहरुलाई सदुपयोग गरी जनतालाई भयमुक्त गर्न पनि लाग्नुपर्छ ।

यो सत्रुसँग लड्न उच्च आत्मबल सँगै शसक्त रोगप्रतिक्षा प्रणाली पनि हुन आवश्यक छ । सारा रोगहरुसँग लड्न हामीसँग प्राकृति प्रणाली छ जसलाई रोगप्रतिक्षा प्रणाली भनिन्छ । यसलाई शक्तिशाली पार्न हामीले खानपानमा विशेष ध्यान दिन आवश्यक छ । विज्ञहरु भन्छन्, भिटामिन सि भन्ने तत्व त यसलाई विशेष मजबुद पार्ने अस्त्र हो । यसबारे फाटफुट डाक्टरहरु बोली रहेका छन् तर त्यो सबै समक्ष पुगेको छैन । रोगप्रतिरक्षा प्रणाली मजबुत पार्न विहादेखि बेलुकीसम्म के के कसरी खाने भन्ने विषयमा सरकारले जनताको लागि एक राष्ट्रिय मेनु दिनुपर्छ ।

रोगप्रतिरक्षा प्रणालीलाई दरबिलो बनाउने खानेकुराहरु जस्तै सिट्रस फ्रुटस् (मौसमी, सुन्तला, अंकुर) अमला, कागती, मेवा, केरा, किवी, स्ट्रबेरी आदि दैनिक लिनुपर्छ । त्यस्तै ब्रोकाउली, क्यप्सीकर्न, टमाटर, कांक्रा, हरियो खुर्सानी जस्ता तरकारी पर्याप्त मात्रमा लिनुपर्छ । यस्ता खानेकुरा एकदिनमात्र खाएर हुन्न । प्रत्येक दिन खानुपर्छ । हाम्रो रोगप्रतिक्षा प्रणाली शसक्त भयो भने सत्रुलाई परास्त गर्न सजिलो हुन्छ । यसबारे सरकारले राष्ट्रिय मेनु मार्फत जनतालाई सजग गराउन सक्छ ।

सम्बन्ध मानिसको लागि शक्ति हो । त्यसैले जीवनमा शिक्षा भन्दा पनि महत्वपूर्ण कुरो सम्बन्ध मानिन्छ । शिक्षा विना मानिस बाँच्न सक्छ तर सम्बन्ध विना सक्दैन । बैज्ञानिकहरु भन्छन् जसको बढी साथीहरु छ उ बढी स्वस्थ हुन्छ । यस्तो बेला प्रत्येक मानिसको आफ्ना साथीभाइ, छरछिमेकी र नातागोतामा सद्भावले भरिएको गाढा सम्बन्ध हुन आवश्यक छ । यस्ता सम्बन्धले मानिसहरुलाई जीवनप्रति हरदम आशावादी एवं उत्साहित छ । अहिले लकडाउनको बेला दर्जनौँ मानिसहरुले आत्महत्या गरेको खबर आइरहेको छ । यसलाई रोक्ने एक प्रभावकारी अस्त्र प्रेमल सम्बन्ध पनि हो ।

अहिले सबै एकैठाउँमा भेला भएर बस्न मिल्दैन र सकिन्न तर, सबैले आफ्ना सबै आफन्त, छरछिमेकी र साथीहरुलाई निरन्तर सम्पर्क गर्नुपर्छ । एक–अर्कालाई खुशी पार्ने प्रयास गर्नुपर्छ । भियतनामका प्रख्यात भिक्षु तथा लेखक थिक नात हान (Thich Nhat Hanh) भन्छन् ‘प्रिय तिम्रो लागि म छु ।’ (Darling I’m for you.)  भनेर हामीले आफ्नाहरुलाई समय समयमा भन्न सक्यौँ भने दुवैको जीवन आनन्दमय हुन्छ । सम्बन्धहरु सधैँ मजबुत र न्यानो बन्छ । हामीले पनि आफ्ना सबैलाई ‘म तिम्रो लागि छु है केही पर्यो भने भन है’ भन्यौँ भने उसले पनि हामीलाई त्यसै भन्ने छ र न्यानो सम्बन्ध निर्माण हुन्छ । यसले हाम्रो जीवनप्रतिको आशा, इच्छाशक्ति र संकट जित्ने हिम्मत पनि बढ्छ । हेर्दा सामान्य जस्तो देखिन्छ तर अहिलेको युद्धमा यो विधि प्रत्याक्रमणको लागि अत्यन्तै प्रभावकारी हुन्छ ।

हाम्रो दिनचर्यालाई प्राकृतिक बनाउँनुपर्छ । सिकायत त्यागेर सद्भाव र अहोभावले भरिएको दैनिकीलाई प्राकृतिक दिनचर्या भनिन्छ । सिकायत गरिरहने मानिसहरु नकारात्मक हुन्छन् । सिकायतले मानसिक दुर्वलता निम्त्याउँछ । यस्ता मानिसहरु हरेक कुरामा केवल सिकायत मात्र गर्छन । विहानदेखि बेलुकीसम्म विभिन्न सामाजिक सञ्जालहरुबाट उसले विभिन्न नकरात्मक खबरहरु संकलन गरेर आफ्नो दिमागलाई फोहोरदानी नै बनाउँछ । जसको कारण निराशा, नकारात्मक सोच र भयको मात्रा बढ्छ । मानिसहरु कमजोर हुन्छन् । कमजोर मानिसहरु त सजिलै कोरोनाको सिकार भइहाल्छन् ।

दैनिक जीवनलाई प्राकृतिक बनाउँ न केही स्वधर्म पालना गर्नुपर्छ । केही सामूहिक अभ्यास गर्नुपर्छ । हाम्रो समाजमा प्राकृतिक दैनिकीको लागि मानिसहरु विहान–बेलुकी भजन, कृतन, प्रवचन सुन्ने, पूजापाठ गर्ने गर्छन । यो उत्तम विधि हो । त्यसबाहेक घरका सबै जना मिलेर योग, प्राणायम, नाचगान, बाद्ययवादन, अध्ययन आदि विभिन्न कार्य गर्न सकिन्छ । यसले हामीलाई प्रकृति झैँ स्वच्छ, शान्त र स्थिर बनाउँछ । जब हामी शान्त हुन्छौ हाम्रो सकारात्मक सोच बढ्छ । यसले पनि हामीलाई प्रत्याक्रमणको लागि बलियो पार्छ ।

अतः सरकारले आवश्यक सबै विधिहरु प्रयोग गरि कोरोना विरुद्ध खतरनाक झिकीकटक गर्नुपर्छ । हाम्रो विजय सुनिश्चित छ ।

विवेक विनयी
प्रीन्सिपल, जुगल स्कुलर कलेज, कपन तथा
विद्यालयमा नैतिक शिक्षा सिकाउन तयार पारिएको पुस्तक संस्कार (भाग १-५) का लेखक हुन ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट