मङ्लबार, जेष्ठ १३, २०७७

देशैभरि दूध खपत घट्यो

देशैभरि दूध खपत घट्यो


  • KTM Khabar
  • शुक्रबार, चैत्र २१, २०७६

काठमाडौं, चैत २१ । ‘कोभिड–१९’ को प्रभाव दूध तथा दुग्धजन्य पदार्थका क्षेत्रमा परेको छ ।

कोरोनाभाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको दुई साता लामो ‘लकडाउन’का कारण होटल एवं रेस्टुरेन्ट पूर्णरुपमा बन्द भएपछि काठमाडौं उपत्यकासहित देशैभरि दूध खपत घटेको हो ।

दूधको माग घटेपछि सबैभन्दा बढी मर्कामा किसान परेका छन् ।

निजी क्षेत्रअन्तर्गत् सञ्चालित नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालकाअनुसार काठमाडौं उपत्यकामा साबिकको तुलनामा अहिले दूध तथा दुग्धजन्य पदार्थको खपत २० प्रतिशतभन्दा कम भएको छ ।

उनकाअनुसार कोरोनाको प्रभावभन्दाअघि देशभर दैनिक ६२ लाख ५० हजार लिटर दूध किसानले उत्पादन गर्दै आएका थिए ।

किसानले उत्पादन गरेको दूधमध्येमा आधा आफैंले प्रयोग गरेर ३१ लाख ५० हजार लिटर बिक्री हुँदै आएको थियो ।

‘बिक्री भएको दूधमध्ये काठमाडौंमा दैनिकरुपमा करिब चार लाख लिटर दूध खपत हुँदै आएको थियो । तर, कोरोनाभाइरसको प्रभावपछि एक लाख ५० हजार लिटरमात्र खपत भएको छ’–उनले भने–‘सरकारले अतिआवश्यक वस्तुमा छुट दिने घोषणा गरेपनि हामीलाई प्रशासनले बेवास्ता गर्‍यो ।’

संस्थाले संकलन गरेका दूध बजारमा पुर्‍याउन सहज वातावरण नभएको र खोलिएका ‘पसल सबै बन्द भएपछि कसरी दूध पुर्‍याउने ?’ भनी उनले दुखेसो गरे ।

काठमाडौं उपत्यकामा खपत हुने दूधमध्ये निजी क्षेत्रको ६० र सरकारी स्वामित्वमा रहेको नेपाल दुग्ध संस्थान (डीडीसी)को ४० प्रतिशत दूध उपत्यकामा मात्रै खपत हुने गरेको थियो ।

डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेल किसान, संघ–संस्थाबाट नियमितरुपमा दूध संकलन भइरहेको बताउँछन् ।

उनकाअनुसार ‘लकडाउन’अघि काठमाडौं उपत्यकामा दैनिक ८८ हजार लिटर दूध खपत हुँदै आएको थियो । लकडाउनको अवधिमा ७२ हजार लिटर दूध खपत भएको छ ।

काठमाडौंबाहिर भने करिब १५ प्रतिशत खपत घटेको बताइएको छ ।

‘दैनिक १० देखि १२ हजार लिटर दूध कम खपत भएको हो । खपत नभएका दूधलाई हामीले पाउडर बनाएका छौं’–उनले भने–‘हामीले उत्पादन गरेका दूध नियमितरुपमा घरमा प्रयोग गर्ने ग्राहकहरुले लिइरहनुभएको छ । लकडाउन भएपनि खासै प्रभव परेको छैन ।’

उनकाअनुसार बिक्री नभएको दूध प्रयोग गरी संस्थानले विराटनगर र पोखराबाट दैनिक पाउडर दूध बनाइरहेको छ ।

पोखरामा निजी डेरीसँग मिलेर दैनिक २५ हजार लिटर पाउडर दूध र विराटनगरमा आफ्नै डेरीबाट ५० देखि ६० हजार लिटर पाउडर बनाइएको छ । पछिल्लो ६ महिनासम्मका लागि पुग्ने पाउडर तयारी अवस्थामा छ ।

कृृषि विकास मन्त्रालयको तथ्यांकानुसार हाल नेपालमा दर्ता भएर सञ्चालनमा आएका दुग्ध उद्योग करिब ८० छन् ।

दर्ता भएका दुग्ध उद्योगमध्ये प्रशोधनसहित सुविधा भएको १० लाख लिटर क्षमताका ४०, १० हजारदेखि ५० हजार लिटर क्षमताका ३५/४० र १० हजार लिटरसम्म क्षमता भएका ४०  जति रहेको उल्लेख छ । त्यस्तै, डीडीसीका ८/१० डेरी सञ्चालनमा छन् । रासस


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट