मङ्लबार, जेष्ठ १३, २०७७

कविताः लकडाउनको दिन

कविताः लकडाउनको दिन


  • विनोद चालिसे
  • आइतवार, चैत्र १६, २०७६

लकडाउनको दिन छ
असमान्जस्यताहरु उभाएर मनमा
म घर कम्पाउण्डमा भित्रै यत्र तत्र छरिन्छु
घर भित्र बाहीर
आँगन, चोटा, कोठा बरण्डामा
पत्र–पत्रिका, मोबाइल र टिभीहरुमा ।

मान्छेले–मान्छेलाई
मान्छेले–प्रकृतिलाई
धनले–जनलाई
धनले–मनलाई
मात्र लकडाउन गर्दो रहेनछ ।
एउटा सूक्ष्म भाइरसले विश्वलाई
प्रकृतिले–मान्छेलाई
र समयले–समयलाई पनि
लकडाउन गर्दोरहेछ ।
बरण्डमा बसि टोलिरहँदा
माथि आकाश नियाल्छु
पहाडको खोँचमा लकडाउन भएको
एक टुक्र बादल
पश्चिमि बायुले पूर्वतर्फ लखेट्दैछ,
घरको छानामाथि भएर
एक हुल भँगेरा
एक हुल परेवाका बथान
कावा खाँदै पूर्वतफै उड्दैछन्
मानौ वषौ पछि मुक्त भएझैं ।

घरती, रुख–पात सबैले एकै पटक
शीतल श्वास फेर्दैछन्
गर्मिले दवेर बसेका
एकाध फूलका बोटहरु,
पुतलीका झुण्डहरु,
तल–माथि गर्दै नाँचिरहेछन्,
बाँसुरीको धुन बोकि ल्याएका
स–साना बतासका झोक्काहरुसंगै ।

अगाडिको चौतारोको बुढो पिपल
बटुवाहरुको पर्खाइमा छ
बेला–बेला सुसेली हाल्ने पिपल
चराहरुको गीत
र रुख पातको संगीतको आशामा
कान ठाडा पारि बसेको छ,
घर नजिकैको मुल बाटो
लमतन्न परि निदाएझै छ ।

केहि क्षणमै नयाँ वटुवा
सपनाहरुको रुमाल बुन्दै
किनारै–किनार दौडिन्छ
जीवनमा केहि पाउने आशामा
केहि गुमाउने डरमा
तर दिन सुनसान छ
किन मौन छ आकाश
किन मौन हुन्छ ?
मानविय मान–सम्मान
मानविय अभिमान र स्वाभिमान
जति सुनसान छ, त्यत्तिनै घमासान छ
त्यो मौनता भित्र ।

सभ्यता हराएका बादलका टुक्राहरु
सुर्यलाई गुटुमुटु बेर्दै दौडिरहेछन्
घामसंगै ओझेल परेका हुन्छ
सतहले चाटेर गएका नांगा पहाडहरु ।
दृष्टि गुमाएका नयनहरु जस्तै लाग्ने
त्यो गाउँको मन्दिर
त्यो गाउँको गुम्बा
त्यो गाउँको विद्यालय
त्यो गाउँको कार्यालय
चकमन्नता, बेहोसी
र सपनाहरु ।

त्यो परको क्षितीज
विस्तारै घुमिल भएर डाकिन्छ
त्यो परको टल्कने हिमाल
विस्तारै आँशु भएर पग्लन्छ
लकडाउनको नाममा
अल्मलिरहेको मौनता
सामज्यस्य छैन चेतना
लठ्याइरहेको छ आशा एवं भरोसा
लड्खडाइरहेको छ विश्वास ।

लेखक: विनोद चालिसे नेपाली काँग्रेस  काठमाडौँ क्षेत्र  नम्वर ४ का सचिव एवं प्रदेश (ख) का सभापती हुन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट