मङ्लबार, जेष्ठ १३, २०७७

कथाः लकडाउन

कथाः लकडाउन

जब काकी ढोका थुनेर गइगइन् । काका एकोहोरिरहे, अनि सोचे अर्काे लकडाउन सुरु भो ।


  • शक्तिराज नेपाल
  • शुक्रबार, चैत्र १४, २०७६

लकडाउन हो काका फनडाउन हैन, लाइफडाउन पनि हैन । साँच्चिकै नेपाली साहसी भएरभन्दा अटेरी भएर चाही संसारमा चिनिएको रहेछ । सरकार बिचरा जनताको सुरक्षा तथा मानवीय क्षति कम गर्न पटकपटक विभिन्न कार्यक्रम ल्याइरहेको छ ।
जनता भने नियम उल्लंघन गर्ने दाउ हेर्दै छ यार । काका चुप्प लागेर हिंडिरन्छन बाटोमा । लाग्छ उनी छिमेकीका अघि मास्क बिना पनि हिंड्न सक्ने सानदार व्यक्ति हुन् । त्यही सानका साथ काका मुखमा पराग चपाउँदै चोकका बिचमा बसी गर्वका साथ उभिएका छन् । जिउ तन्काएर यसो पछाडि र अगाडि हेर्छन् । लाग्छ उनी चोर गाईजस्तो गोठालो नभएका बेला बाली चोरेर खाँदा सानले खाएजस्तै बिच बाटोमा उभिएर सरकारको लकडाउनलाई चुनौती दिंदै छन् ।
प्रहरीको भ्यान साइरन बजाउँदै आको थाहा पाएर होला गोजीमा भएको मैलो मास्क निकालेर लगाउँछन् अनि अटेर गर्दै पेटीमा गएर उभिन्छन् र प्रहरी गएको मुसुमुसु हाँसेर खिल्ली उडाउँछन् । उता काकी घरबाट काकालाई फोन गर्छिन् “कहा हुनुहुन्छ हौ ?” काका सानले उत्तर दिन्छन् “यसो पत्रिका पढ्न निस्केको सबै बन्द गरेछन् काँतरहरु” । अनि काकी भन्छिन् “अनि के हेरेर बस्नुभाको त ? थपक्क घर आउन छाडेर, पुलिसको गाडी घुमेकोघुम्यै छ”! पख् पख् धेरै नबोल पुलिसको काम आउने जाने हो म आइहाल्छु, काका भन्छन् ।
काकाको यो अटेरीपना देख्दा लाग्छ उनी कोरोनाबाट त्रसित छैनन् सरकारलाई च्यालेन्ज गर्दै छन् र लकडाउनका बेला बाहिर निस्केर उनी ठूलो विजेता बनेका छन् ।
कोरोनाको रिजल्ट पोजेटिभ देखियो रे नि काका घरमै जानोस् यसरी बाहिर काम बिना बाहिर नघुम्नोस् भनेर होलसेलवाला भन्छ । सरकारले चेक गरेर पत्ता लाउँछ र ? उता बिदेशमा बस्दा के–के आई अनि लाग्छ नि कोरोना सोरोना भन्दै काका ओठे जवाफ फर्काउछन् । पेटीमा ओइलाइसकेको साग बेच्ने सागवाली पनि मुसुमुसु हाँस्दिन्छिन् । किनकी उनलाई पनि ओइलाइसकेको साग तीन डबलमा छिटोछिटो बेच्नुछ ।
पल्लोघरको कान्छो भाइ पेट्रोल पम्पमा काम गर्छ । उसको ध्यान पनि ब्ल्याकमा तेल बेच्नुमा छ। काका भन्छन् “यतिबेलै हो अलिअलि पोको पार्ने अलि जोड गह्रै” । काकाको कुरो सुनेर कान्छो पनि मुसुमुसु मुस्काइदिन्छ । लाग्छ उसको काममा काकाले पूर्ण समर्थन गरेका छन् । हिजो ग्याँसको लाइनमा ३ घण्टा बसेका तर ग्याँस नपाएका अर्जुन दाइ पनि ब्ल्याकमा पाए त ग्याँस किन्थेँ भन्न थालेका छन् । उनको कुरोमा काका पनि सही थाप्छन् । “ठीक हो तर अरुले थाहा पायो भने ” । यसैबिचमा त्यहाँ भएकाहरुमा हाँसो फुट्छ । काका पनि गम्भीर हाँसोको मुद्रा छर्छन् र बिस्तारै घर फर्कन्छन् ।

घर पस्ने बित्तिकै साबुन पानीले हात धुन र सफा हुन काकीले भन्छिन् तर काका ह्या ! भन्दै सरासर घरभित्र पस्छन् र किचेनमा खाना खान जान्छन् । काकी कराउँछिन् “हैन किन नमानेको तपाईंले? ” तर काका झन् कराउँछन् “नकरा नकरा मरे म आफैं मर्छु त तँलाई के भो त ? खाना पस्की न छिटो !” यस्तो सुनेसी काकी पनि अँध्यारी हुन्छिन् र परै बसेर खाना पस्किदिन्छिन् ।
एकछिनमा काकी आफ्नो खानाको प्लेट, पानीको बोतल, ओढ्ने , ब्रस र साबुन अनि सानिटाइजर लिएर बाहिर जानैलागेको काकाले देख्छन् र झर्केर सोध्छन् “फेरि कहाँ हिंडेकी यतिबेला ?” अनि काकी निन्याउरो मुख लाउँदै भन्छिन्, अब म पल्लो कोठामा बस्छु, उतै जेजे भेट्छु त्यही खान्छु, तपाईं यतै बस्नुस्, साह्रै लापरबाही गर्नु भो, राम्ररी बस्नुस् । काकाले कुरो गर्न खोज्दा खोज्दै काकी ढोका थुनेर गइगइन् । काका एकोहोरिरहे, अनि सोचे अर्काे लकडाउन सुरु भो ।

लेखक शक्तिराज नेपाल साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल हुन् ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट