सोमवार, चैत्र २४, २०७६

प्रिन्सिपलद्वारा लिखित पुस्तकमा कक्षा १० पढ्ने आफ्नै विद्यार्थीको समिक्षा

प्रिन्सिपलद्वारा लिखित पुस्तकमा कक्षा १० पढ्ने आफ्नै विद्यार्थीको समिक्षा


  • नमुना गिरी
  • शुक्रबार, माघ ३, २०७६

कपन स्थित जुगल स्कुल/कलेज कक्षा १० मा अध्ययनरत नमूना गिरीले आफ्नै विद्यालयका प्रिन्सिपल विवेक विनयीद्वारा लिखित पुस्तक विद्यार्थी जनआन्दोलन डायरी ०६२/०६३ माथि समिक्षा गरेकी छिन । शीतकालीन छुट्टीको समय सदुपयोग गर्दै उनले रोचक समिक्षा गरेकी छन् । हेरौं उनको समिक्षा:

जो व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको शिर जोगाउने काम गर्छ त्यही व्यक्तिलाई देशप्रेमी भनिन्छ । विवेक विनयी पनि त्यस्तै महान् व्यक्ति हुनुहुन्छ जसले जनआन्दोलन २०६२/२०६३ मा आफ्नो सक्रिय भूमिकाले देशबाट राजतन्त्र हटाएर लोकतन्त्र भित्र्याउन मद्दत पु¥याउनु भएको थियो र जनआन्दोलन डायरी लेखेर आफ्नो साहित्यिक क्षेत्रतिर पनि योगदान दिनु भएको छ ।

यो विद्यार्थी जनआन्दोलन डायरी २०६२/२०६३ मा लेखकले प्रत्येक दिनको दैनिकी लेख्नु भएको छ । उहाँले आन्दोलनमा हुँदा घटेको घटना, दुःख, सुख, पीडा सबै कुरालाई नियालेर यो जनआन्दोलन डायरी लेख्नु भएको हो । जनआन्दोलन डायरी २०६२/२०६३ मा जनताले भोगेको पीडा, कष्ट, योगदान सबै उल्लेख गर्नु भएको छ । लेखकले अनन्दोलनमा पढाइलाई माया मारेर विद्यार्थीहरू, काम र ज्यानको माया मारेर युवाहरू, घुँडा टेकेर हिँड्ने बच्चा र बुढापाकाले पनि सक्रिय भूमिका खेलेको कुरा यो डायरीमा प्रष्ट पार्नु भएको छ ।

लेखक आन्दोलनको पहिलो दिनदेखि नै आन्दोलनमा लाग्नु भएको थियो । उहाँ जोरपाटीमा एउटा डेरा लिएर बस्नुहुन्थ्यो । उहाँ दिउँसोभरि आन्दोलनमा व्यस्त हुनुहुन्थ्यो भने रातिमात्र घर पुग्नुहुन्थ्यो । उहाँ निकै थकित भएर घर पुग्नुहुन्थ्यो । उहाँलाई तिर्खा लागेको बेला पानी दिने पनि कोही हुँदैनथे । आन्दोलनको एक दुई दिनसम्म त त्यति धेरै मानिसहरू लागिपरेका थिएनन् तर प्रायः कसैलाई राजतन्त्र मन नपरेका कारण विस्तारै विस्तारै आन्दोलनलाई साथ दिने मानिसको भिड बढ्दै गयो । त्यतिखेरको आन्दोलनमा कतिपय मानिसको मृत्यु भएको थियो भने कतिपय घाइते पनि भएका थिए तर लेखक भने त्यतिखेरसम्म घाइते पनि हुनु भएको थिएन । दिन बित्दै गएपछि सबै पाटीहरू आफ्ना आफ्ना झण्डा लिएर सडकमा उत्रन थाले । त्यसपछि त आन्दोलन झन् खतरनाक बन्दै गयो तर राजाले भने धेरै वास्ता गरेका थिएनन् । बाटाहरू पनि बन्द हुन थाले, कुनै पसल पनि खोलिएका थिएनन् मात्र कुनै कुनै ठाउँमा औषधी पसल खोलिएको हन्थ्यो ।

आन्दोलनमा भिडका कारणले गर्मी भएर तिर्खा लाग्दा पिउने पानी पनि पाइँदैनथ्यो किनभने कफ्र्युका कारण सबै पसलहरू बन्द हुन्थे ।

यसरी नै प्रहरीको नजरबाट टाढा भएर लेखक आन्दोलनमा लागिरहनु भएको थियो । न उहाँले खानका लागि खाना पाउनु भयो न त सरसफाइको लागि समय । उहाँ रातभरि पनि राम्ररी निदाउनु हुन्नथ्यो किनकि भोलि के हुने हो, कसो गर्ने हो? भनेर रातभरि सोच्नुहुन्थ्यो । उहाँले आन्दोलनमा हिँड्दा हिँड्दै निकै साथीहरू बनाइसक्नु भएको थियो ।

आन्दोलनको पाँचौँ दिनसम्म आइपुग्दा जुलुस निकै ठुलो भइसकेको थियो । त्यो जुलुसलाई पुलिसले रोक्न पनि गाह्रो प¥यो । पाँचौँ दिनमा भने प्रहरीको पनि निकै सहभागिता थियो । त्यसकारण आन्दोलनकारी र प्रहरीबिच भिडन्त हुने सम्भावना निकै थियो । त्यसै दिन लेखक अनि उहाँका दस जना साथीहरूले निकै पिटाइ खानु भएको थियो । उहाँहरूले भाग्न निकै प्रयत्न गर्नुभयो तर पनि सफल हुनुभएन । लेखकले यति पिटाइ खानुभयो कि उहाँलाई हात गोडा चलाउनसमेत मुस्किल परेको थियो । त्यस्तो अवस्थामा पनि उहाँ डेरातिर जान बाध्य हुनुभयो । बाटोमा उहाँका मनमा अनेक थरीका प्रश्नहरू आए जस्तैः यस्तो अवस्थामा डेरामा गएर कसले खान देला ? कसले पानी पिउन देला ? घाउमा मलम कसले लगाइदेला ? आदि । अनि उहाँ दुर्गा दिदी भएको ठाउँमा जानुभयो । त्यहाँ उहाँले स्याहार सुसार राम्ररी पाउनु भयो ।

एक दुई दिन नबित्दै पत्रकार र अन्य मित्रहरूसँगै उहाँ फेरि आन्दोलनमा लाग्नुभयो । उहाँको शरीरको घाउको चिन्ताभन्दा बढी उहाँलाई देशमा लागेको घाउको चिन्ता थियो त्यसैले होला आन्दोलनमा हिँड्दा पनि उहाँलाई मेरो शरीरमा चोट छ भन्ने महसुस कहिल्यै भएन । भोक तिर्खा बिर्सिएर पसिनाले निथ्रुक्क भिजे पनि उहाँ आन्दोलनमा लागिरहनुभयो । उहाँलाई प्रायः सबै मानिसले आन्दोलनमा नलाग्ने सुझाव दिएका थिए तर खाने मुखलाई जुँघाले छेक्दैन भनेजस्तै उहाँ आन्दोलनमा लागिरहनुभयो । उहाँजस्तै अन्य उहाँका साथीहरू र जनताहरू पनि आन्दोलनमा सहभागी भइरहे । नयाँ वर्षमा साथीहरूसँग रमाइलो गर्ने उहाँ २०६३ मा भने आन्दोलनमै होमिइरहनु भयो । उहाँले लामो समयपछि घरमा फोन गर्दा आफ्नो गाउँमा नमुना मतदान गर्दा राजतन्त्रमा भन्दा लोकतन्त्रमा बढी मत खसेको खबर पाउनुभयो र झन् आन्दोलनमा लाग्ने प्रेरणा पाउनुभयो । निकै प्रयासपछि त्यो सूर्य उदाएरै छाड्यो र लोकतन्त्र देशमा आइछाड्यो । यसरी सबैका मुहारमा खुसी छाएको कुरा उल्लेख गर्दै डायरी समाप्त भएको छ ।

यो डायरी पक्कै सबैको मन मष्तिस्कमा बस्न सफल हुन्छ भन्ने कुरामा म पनि विश्वस्त छु किनभने उहाँले प्रयोग गरेका शब्द, भाषा र गति यस्ता छन् कि जसले पाठकहरूलाई मन्त्रमुग्ध बनाउनेछन् ।

नाम: नमुना गिरि, कक्षा: १०, जुगल स्कुल/ कलेज


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट