मङ्लबार, चैत्र १८, २०७६

परम सद्गुरु ओशोको नवमानव (जोर्बा दि बुद्ध) के हो ?

परम सद्गुरु ओशोको नवमानव (जोर्बा दि बुद्ध) के हो ?


  • विवेक विनयी
  • मङ्लबार, मंसिर २४, २०७६

२१ औँ शताब्दिको सर्वाधिक शक्तिशाली, प्रभावशाली एवं वहुचर्चित बुद्धपुरुष ओशोले आध्यत्मजगतमा अभूतपूर्व परिर्वतन गरी शरीरबाट विदा भए । म जस्तो आलोकाँचो ठेट्नालाई उनको बारेमा बोल्नु र लेख्नु खतरापूर्ण छ । तथापि उनको प्रेमी भएको नाताले परमपुज्य सद्गुरु ओशोको जन्मोत्सव मनाउने सन्दर्भमा केही कुराहरु लेखौं कि भनी कलम समातेको छु । आफुले बुझेको कुराहरु लेख्ने प्रयास गर्छु । नपुगेका कुराहरु हाम्रा खारीएका साधकहरुले थप्नुहुनेछ भन्ने विश्वास छ ।

भगवान बुद्ध झैँ ओशो एक विराट हिमालय हुन जहाँबाट हजारौं धाराहरु प्रवाह भइरहेका छन् । भइरहने छन् । ओशोले यो धर्तीलाई आनन्दमय ग्रह बनाउन एक नव मानवको परिकल्पना गरी त्यसलाई मूर्तरुप दिन कदमहरु चाले । ओशोले आफ्नो नवमानवलाई जोर्र्बा दि बुद्ध भन्छन् । जोर्बा दि बुद्ध भन्ने धारणको धार के हो भन्ने सन्दर्भमा एक मनथन गरौं ।

ओशो भन्छन् मनुष्य भौतिक र पराभौतिक (आध्यत्मिक) रुपमा सहजतापूर्वक बाँच्न सक्छ । तर, त्यसको लागि एक समझ र वोधको आवश्यकता पर्दछ । सांसारीक र आध्यत्मिक रुपमा बाँच्नको लागि ओशोले एक सुत्र दिएका छन्, त्यही सुत्र हो : जोर्बा दि बुद्ध ।

सन् १९४६चचिर्त लेखक निकोस कजानजाकिसले लेखेको उपन्यास जोर्वा दि ग्रिक (Zorba the Greek) प्रकाशित भयो । यो उपन्यास नोबेल पुरस्कारको लागि पनि छानिएको थियो तर कारणवस पुरस्कृति भने भएन । उक्त उपन्यासमा एक पात्र छन जसको नाम एलिसिस जोर्वा (Alexis Zorba) हो । जोर्बासंसारिक जीवनमा मस्त हुन्छन् । कुनै कुराको तनाव लिँदैनन् । संसारमा उपलब्ध प्राय सबै सेवा र वस्तुलाई उनले भरपूर उपयोग गर्छ । उसको जीवन सामान्य छ । ऊ उपन्यासको कतावाचकको सहयोगी हो । धनसम्पक्ति, पद, प्रतिष्ठा त्यस्तो कुनै पनि चिज ऊसँग पर्याप्त छैन तै पनि ऊ आफुसँग भएको चिजहरुसँग मस्त छ । खुशी छ । उनी परम भौतिक पात्र हुन । ति चिजहरुलाई उसले प्रेम गर्छ । ओशोले जोर्वालाई प्रेमको प्रतिक भनेका छन् । यहाँनेर जोर्वा मनुष्यको वाहिरी जीवन (संसारिक जीवन) को प्रतिकको रुपमा ओशोले अर्थाएका छन् । आफुसँग भएको चिजहरुप्रति सन्तुष्ट भई प्रेम गर । उपभोग गर । वाहिरी संसारबाट भाग्नु पर्दैन । त्यसलाई त्याग्नु पनि पर्दैन । प्रेमपूर्ण तवरले उपभोग गर भन्ने ओशोको जोर्वा मार्फत सन्देश हो ।

तर यतिले मात्र जीवन सम्पूर्ण हुँदैन । यो जीवनको आधा मात्र हो । आधा जीवनमात्र बाँचेर मनुष्यपूर्ण हुँदैन त्यसको लागि भित्री जीवन पनि पूर्ण हुनुपर्छ । भित्री जीवन भनेको आध्यात्म हो जसको प्रतिविम्वको लागि उनले बुद्धलाई प्रयोग गरे र एउटा पूर्ण मानवलाई जोर्वा दि बुद्ध भने ।

बुद्ध भनेको के हो ? एक जागेको मानिस । आफुलाई चिनेको मानिस । म शारीर होइन । म अशरीर हुँ भन्ने बोध भएको मानिस । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यबाट मुक्त मानिस । ‘म’ को विसर्जन गरेको मानिस । आफु भित्र विराट अस्तित्व, शुन्य वा परम सत्य देखेको मानिस । श्वासलाई जीवन्त रुपमा बुझेको मानिस ।

आफुभित्र कसरी बुद्धलाई सजाउने भन्ने सन्दर्भमा पनि ओशोले बाटो दिएका छन् । त्यसका अनेकौँ विधि छन् । त्यसमा भगवान बुद्धको एक विधि आनापानसतिको सन्दर्भमा पनि ओशोले प्रकाश पारेका छन् । आनापानसति अर्थात आउँदै–जाँदै गरेको श्वासलाई वोधपूर्व भई हेर्ने विधि ।

हामी सबैले श्वास त फेरिरहेका हुन्छौं । एक वयस्क मानिसले सामान्यतय एक मिनेटमा २० पटक श्वास फेर्छन । २४ घण्टामा १४४० मिनेट हुन्छ । हिसाब गर्ने हो भने दैनिक हामीले २८८०० पटक श्वास फेर्छाैँ । ओशो हामीलाई प्रश्न गर्नुहुन्छः के तिमीलाई यसको वोध छ ? श्वास भनेको जीवन हो थाहा छ ? अन्तिम श्वास गएको दिन तिमी लास बन्छौ थाहा छ ? श्वास कहाँबाट आउँछ ? अन्तिम श्वास निश्केर कहाँ जान्छ ? यसको बारेमा थाहा छ ? यी सबै प्रश्नको उत्तर भित्री जीवनमा बुद्धलाई सजाउने एक सरल तरीका हो । ओशोले यहाँ बुद्धलाई ओशोले ‘चेतना’ भनेको छन् ।

जोर्वा प्रेम हो बुद्ध चेतना । Zorba is love, Buddha is awareness: Osho

वाहिर र भित्र वोधपूर्ण रुपमा मस्त मानवलाई ओशोले जोर्वा दि बुद्ध भनेका हुन । मानिस वाहिर र भित्र दुवैतर्फ मस्त रहन सक्नुपर्छ । तर, अहिलेको सन्दर्भमा अधिकांस मानिसको जीवनमा जोर्वाको हस्तक्षेप छ । मानिसहरु जोर्वाको तहमा मात्र बाँचिरहेका छन् । अब यात्रा जोर्वाबाट बुद्धतर्फ हुनुपर्छ । जुन दिन मानिसहरुले आफुमा जोर्वा र बुद्धको उपस्थितिको बोध गर्छ त्यही दिन उनीहरु नवमानवको रुपमा उदाउने ओशोको मत छ ।

वास्तवमा जोर्वा दि बुद्ध धन र ध्यानको जीवनमा समजोड हो ।

परपूज्य सद्गुरु ओशोको जन्मोत्सवको पवित्र अवसरमा हामी पनि जोर्वाबाट बुद्धको यात्रा शुरु गरौं । आजै यात्रा थालौं । भोलि भनेर थाँती नराखौं । किन कि जीवनले हामीलाई भोलि भनेर कहिल्यै थाँती राख्दैन । कुन वेला जानुपर्ने हो पत्तो छैन । जानु अघि नै यात्रा पूरा गरौं । जय ओशो ।

विवेक विनयी
ओशो सन्यासी


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट