| Sunday 15th December 2019

पर्वतमा एक सुत्केरी महिलाको दुवै मृगौला फेल, सहयोगको अपेक्षा

काठमाडौं, १ मंसिर ।


ADVERTISEMENT

पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मृगौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मृर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मृगौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मृगौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता परियारले बताइन् । गत कात्तिक ६ गते विशाकाको जिल्ला अस्पताल पर्वतमा गर्भ परीक्षण गर्दा बच्चा जन्माउने मिति कटिसकेकाले धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘रिफर’ गरियो । त्यो अवस्थामा चिकित्सकले बच्चा जन्माउनका लागि दिएको मिति कटिसकेको थियो ।

यही कारण बागलुङ अस्पतालले शल्यक्रियामार्फत बच्चा निकाल्न सुझाव दिँदै पोखरा रिफर गर्यो । कात्तिक १७ गते गण्डकी अस्पतालमा शल्यक्रिया गरेर विशाकाको पेटबाट छोरी निकालियो । आमाछोरी दुवैको अवस्था सामान्य रहेको सविताले बताइन् । तर शल्यक्रिया गरेको २४ घण्टासम्म पिसाब भएन । उनको शरीर र पेट पूरै फुल्दै गएपछि मृगौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै भिडियो एक्स–रे गरेर हेर्दा दुवै मेृगौला फेल भएको देखिएको थियो । अहिले उनको अवस्था जटिल बन्दै गएको छ । उनको अहिले सोही अस्पताल सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरेर उपचार भइरहेको छ । आमाको दुवै मृर्गौला फेल भएपछि पोषिलो दूध चुस्नुपर्ने नवजात शिशुको बिचल्ली भएको छ । बच्चालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि आमासँग राख्न नमिलेको विशाकाकी जेठानी सविताले बताइन् । विशाका १३ दिनदेखि अस्पतालको आइसियुमा नै राखिएकी छन् ।

एक÷एक दिनको अन्तरमा उनका मृर्गौलाको डायलाइसिस गर्नुपरेको परिवारले जनाएको छ । उनको उपचारका लागि अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको सविताले बताइन् । चिकित्सकहरूले कम्तीमा पनि तीन हप्तासम्म डायलिसस गरिरहनुपर्ने बताएका छन् ।

सविताका अनुसार विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । उनको शरीरमा रगत परिवर्तन गरेर मिर्गौलाको समस्या ठीक पार्नुपर्ने अवस्था रहेको छ । रक्तनलीको समस्याका कारण हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइएको छ । डायलाइसिसबाट पनि मिर्गौलाको समस्या समाधान नभएमा उहाँका दुवै मिर्गौला फेर्नु एउटै मात्र विकल्प रहेको चिकित्सकहरुले बताएका छन् । तर मृर्गौला दिनका लागि मान्छे पाउनै पनि समस्या रहेको सविताले बताइन् । शल्यक्रिया गरेर निकालिएकी पहिलो सन्तान छोरीको विशाकाले मुख देख्नसमेत पाएकी छैनन् ।

जन्मैबाट आमाको दूधको स्वाद चाख्न नपाएको नवजात शिशुलाई ल्याक्टोजिन खुवाएर प्राण धानिएको सविताले बताइन् । आमाको दूध खान नपाएकै कारण छोरी रातभर रुने गरेकाले आफूले काखमा राखेर सुमसुम्याउँदै भुलाउने गरेको उनले सुनाइन् । विशाकाका श्रीमान् विनय परियार कुस्मा बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन् । उनको कमाइ त्यति धेरै छैन, अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ । विशाकाका ससुरा पदम परियारसमेत अपाङ्ग छन् ।

विशाकाकी जेठानी सविताले आमा र छोरी दुवैलाई बचाउनका लागि सहयोगको आग्रह गर्दै जिल्लाका विद्यालयदेखि हरेक ठाउँ चहारिरहेकी छन् । मिडिया क्षेत्रका मान्छेसँग खासै परिचय नभएका कारण आफ्नो परिवारको समस्या बाहिर नआउँदा सहयोग गर्ने मन भएकाहरूले पनि सहयोग गर्न नपाएको हुन सक्ने सविताले बताइन् । देउरानी र छोरी दुवैलाई बचाउनकै लागि आर्थिक सहयोग चाहिने भएपछि सविताले जिल्लाका विभिन्न ठाउँमा सहयोग माग्दै हिँड्न थालेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार