सोमवार, साउन ६, २०७६ | Monday 22nd July 2019

काठमाडौं महानगरमा नयाँ निजी स्कुल खोल्न नपाइने

१५ फागुन, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रदेखि निजी विद्यालय खोल्न अनुमति नदिने भएको छ।


ADVERTISEMENT

महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बनेको १३ सदस्यीय महानगर शिक्षा समितिको बैठकले आउने शैक्षिक सत्रमा शैक्षिक गतिविधि सञ्चालनका लागि प्रस्तुत गरिएका प्रस्तावमाथि छलफल गर्दै यो निर्णय गरेको हो।

महानगर प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अर्को निर्णय नहुन्जेलसम्म अब काठमाडौं महानगरमा नयाँ निजी स्कुल स‌ञ्चालन गर्न दिइने छैन।

त्यस्तै, काठमाडौं महानगरपालिका, विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद २, नियम (५) बमोजिम सामुदायिक तथा संस्थागत स्कुलले आउने शैक्षिक सत्रका लागि नयाँ स्कुल सञ्चालन तथा तह थपको अनुमति र नियम (१८) बमोजिम कक्षा थपका लागि अनुमति माग्न सक्ने व्यवस्था छ। यस व्यवस्था बमोजिम माग भएका प्रस्तावमाथि छलफल गर्दै बैठकले कक्षा थप, कक्षा ९ सञ्चालन, कक्षा ११ मा विषय थपको निवेदन दिने सामुदायिक तथा संस्थागत स्कुल अनुगमन गरेर मापदण्ड पूरा गरेकालाई अनुमति दिने निर्णय पनि गरेको छ।

कक्षा ११ र १२ भएका स्कुल वा कलेजले कक्षा १ सञ्चालन गर्न माग गरेको खण्डमा मापदण्ड पूरा गरेकालाई सहकारी वा शैक्षिक गुठीमा सरकारको नीति अनुरुप प्रति शैक्षिक सत्र एउटा कक्षाको अनुमति दिइने भएको छ।

स्कुल सञ्चालन अनुमति, अपग्रेड जस्ता विषयमा स्वीकृति नै नलिई विद्यार्थी भर्नाका लागि विज्ञापन गर्ने परिपाटीमाथि समिति कठोर बनेको पनि प्रवक्ता डंगोलले जानकारी दिए।

उनका अनुसार विद्यार्थी भर्ना गर्न प्रचारप्रसार गर्ने स्कुललाई यसो नगर्न शिक्षा विभागले सचेत गराउने र यसपछि पनि नमान्नेलाई कानुनी कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार