सोमवार, साउन ६, २०७६ | Monday 22nd July 2019

सन्दर्भ भ्यालेन्टाइन डे: तीन प्रकारका प्रेम

आज(फ्रेब्ररी १४) भ्यालेन्टाइन डे अर्थात बजारको भाषामा खासगरी मनपरेको मान्छेलाई रातो गुलाब दिएर आइ लभ यू भन्ने खास दिन रे । आज काठमाडौँ र आसपासका जंगल, पार्क, खोल्छाखोल्छी र डाँडाहरु कही खाली छैनन् । जोडीहरुले भरिभराउ छन् । आज विहानै लैलामज्नुहरुका लावालस्कार जंगल पसी सके । ठिक ठिक ठाउँमा बसीसके । प्रेम उत्सव मनाउन । भरे साँझ तिर कुइरोको काग झैं भएर फर्कछन् ।
आज गुलाबको व्यपार खुबचल्छ । प्राय लुकीछिपी गुलाब लिनेदिनेहरुको संख्या नै बढी हुन्छन । मिडियाहरुलाई पनि भ्यालेन्टाइन डेले खुब छुन्छ । नानाथरीका खबरहरु हेर्न, सुन्न र पढ्न पाइन्छ । उता विवाहीत जोडीहरु पनि उपहार र गुलाबहरु साटासाट गरी फेसबुक भरी थरीथरीका फोटाहरु पोष्ट गरेर भ्यालेन्टाइन डे मनाउँछन् । यो दिनलाई नेपालीमा चाँहि प्रेम वा प्रणय दिवस भनेको सुन्छु ।
यो नेपालीहरुले मनाउने नयाँ चाड चाँहि पश्चिमबाट आएको हो । एक जना भ्यालेन्टाइन भन्ने क्याथोलिक चर्चका सन्तले आर्मीहरुलाई विवाह गर्न निषेध हुँदा हुँदै पनि गुपचुप धमाधम आर्मीहरुको विवाह गराइदिएछन् । यसै मुद्दामा उनलाई फाँसि दिइयो रे । अनि उसैको सम्झानामा प्रेम उत्सवको रुपमा भ्यालेन्टाइन डे मनाउन थालियो भन्ने सुन्छ । खास कुरो के हो थाहा छैन यो मनुवालाई ।
सत्य जे भए पनि यो दिनले प्रेम के हो भन्ने वहसलाई चाँहि राम्रैसँग चर्चाको विषय बनाएको छ । तिनै सेरोफेरोमा रहेर केही प्रेमिल कुरा गरौं ।
प्रेम के हो ? प्रश्न सुन्दा जति सजिलो लाग्छ उत्तर दिन त्यती नै कठिन छ । वास्तवमा जे उत्तर दिए पनि त्यो अपूरो र गलत हुने खतरा हुनसक्छ । तर, आध्यात्मको धरातालमा उभिएर हेर्ने हो भने मानिसले प्रेमलाई बुझ्न सकेका छैन । अहिले जे जति कुराहरु हामीले बुझेका छौं त्यो भौतिक शरीरको धरातालमा उभिएर बुझेका छौं ।
आम मानिसको वा भनौं हाम्रो प्रेम सम्बन्धि बुझाइ गजबको छ । हामी ठान्छौंः प्रेम भनेको मानिसले मासिलाई चाहानु । उसको याद गर्नु । उसको चिन्ता र चासो लिनु । उसलाई मनपराउनु । उसको लागि धेरैथोक गर्न तयार रहनु । उपहार दिनु । यि सबै हामीले परिवारमा देख्छौं । गर्छाैं । प्रेमीप्रेमीकाको सन्दर्भमा भन्ने हो भने प्रेम भनेको उसलाई (प्रेमी वा प्रेमीका) पाउनु हो । ऊ सँग शारीरिक रुपमा एक हुनु हो । एकअर्काको शरीरमा हक जमाउनु हो । एकअर्का एकअर्काको सम्पक्ति हुनु हो ताकी चाहेको बेलमा चाहेको जसरी उपयोग गर्न सकियोस । त्यसैले हामी भन्छौं मेरो श्रीमती, मेरो श्रीमान । त्यो सम्पत्तिमा कसैले आँखा लगाएको हामी मन पराउँदैनौ । वरु लडाँइ गर्न तयार हुन्छौं । हामी प्रेमलाई शब्दमा व्यक्त गर्दछौं । म तिमीलाई माया गर्छु । यसमा अंग्रेजी शब्द अलि चलेको छः I Love you darling। एउटाले भन्छ अर्काेले मुस्कुराउँदै विश्वास गरिहाल्छ । कोही त रिसाउँछन् पनि । तिमीलाई माया गरेर त हो नि यो सबै थोक ल्याइदेको पनि भन्न भ्याउँछन् । प्रेमीका, प्रेमी, श्रीमान वा श्रीमती विच खटपट हुन्छ । सम्बन्ध टुक्रिन्छ । अनि केही समय अघि सम्म गरेको घनघोर माया फेरि बन्द हुन्छ । अनि भन्छौं म तिमीलाई घृणा गर्छु । अर्थात खल्तीमा राखेको रुमाल झैं मायालाई जसरी पनि प्रयोग गर्न सकिने रहेछ । नाकपुछे पनि भो । अत्तर छरेर यसै राखे पनि भयो ।
तपाईं हामीले जानेको माया देखिने छ । छामछामछुमछुम गर्न मिल्ने छ । खोल्न मिल्ने छ । बन्द गर्न मिल्ने छ । बोल्न मिल्ने छ । गुलाबमा अवतरण गराउन पनि मिल्ने छ । चिठीमा लेख्न मिल्ने छ । फोटोमा कैद गर्न मिल्नेछ । अधिनमा राख्न मिल्नेछ । मार्न मिल्ने छ । बचाउन मिल्ने छ । दिन मिल्ने छ । लिन मिल्ने छ । हाम्रो माया यस्तै यस्तै छ ।
त्यसैले होला आज हामी माया चाहियो भन्दै खोज्दै छौं । कोही रोज्दै छौं । मायालाई यसरी बुझ्दै छौं ।
आउनुस प्रेमलाई अर्काै पृष्ठभूमिबाट बुझौं ।
वास्तवमा हामीलाई प्रेमको बारेमा हेक्का छैन । हामीले यसलाई बुझेका छैनौं । हाम्रा किशोर किशोरीहरुले त झन के बुझुन । हामीले पनि बुझाउन सकेका छैनौं । हामीले प्रेमको सुगन्धलाई महसुस गर्न सकेका छैनौं ।
अहिले मैले प्रेमको बारेमा जुन आलेख लेखेँ यो वास्तवमा संभव छैन । प्रेम लेख्न र वोल्न मिल्ने विषय होइन । यो भाषाको सानो थैलोमा अटाउन सक्दैन । तर, मैले एउटा सानो मूर्खता गरिरहेको छु । यो सानो लेखलाई मैले ट्राफिकको वत्तीको रुपमा मात्र प्रयोग गर्न खोजेको हुँ । जस्तो ट्राफिक लाइटको रातो र रोकिनु अनि हरियो र जानु विच केही सम्बन्ध छैन तै पनि मानिसहरु रातो देख्ने वित्तिकै रोकिन्छन् । हरियो देख्ने वित्तिकै आफ्नो यात्रामा लाग्छन् । ठिक त्यसैगरी केही शब्दहरु कहुँ ठिक लागे मानिसहरु यात्रामा जान सक्छन् भन्ने मात्र मेरो चाहना हो ।
परम पूज्य सद्भगुरु ओशोले प्रेमको सन्दर्भमा वहुतै प्रीतिकर उद्घोष गर्नुभएको छ । उहाँ भन्नुहुन्छः “जब सम्म तिमीले आफुलाई प्रेम गर्दैनौ तबसम्म अरुलाई प्रेम गर्न सक्दैनौ । आफुलाई प्रेम गर्नु भन्दा अगाडि म को हुँ भनेर तिमीले आफुलाई चिन्न जरुरी छ । अनि आफुलाई चिन्नको लागि ध्यान गर्न आवश्यक छ ।”ओशोले प्रेमलाई सरल मार्ग हुँदै गहिराइसम्म लगे । प्रेमलाई घुमारो पारमा ध्यान भने । ध्यान पराभौतिक कुरो हो । ध्यानले मनिसलाई मस्तिष्क भन्दा परको अुनभव गराउँछ । देखाउँछ । अहिलेसम्म हाम्रो बुझाई केवल मस्तिष्कको हो । हाम्रो ज्ञान, वुद्धी, विवेक— जे नाम दिए पनि त्यो सबै मस्तिष्कको उपज मात्र हो । तर, ध्यानले हामीलाई मस्तिष्क भन्दा धेरै परको दुनियाँमा लैजान्छ ।
त्यसकारण यहाँनेर बुझ्नुपर्ने कुरो के हो भने प्रेम हामीले भनेझैं वस्तु होइन । शब्दमा आउँदैन । लिन दिन मिल्दैन । शरीर होइन । अब प्रेम गर्छु भनेर खोल्ने अनि फेरि यसलाई अब प्रेम गर्दिन भनेर बन्द गर्न मिल्दैन । प्रेम शरीर वा भनौं मस्तिष्क भन्दा धेरै परको एक विशिष्ठ अनुभूति हो जहाँ जीवन अडेको छ । मनुष्य जीवननै प्रेममय छ । जसरी पानीमा माछा हुन्छन । ठिक त्यसैगरी मानिस प्रेममा हुन्छ । मानिसको पानी प्रेम हो । जसरी पानीबाट वाहिर निस्केपछि माछाले थाहा पाउँछ कि पानी त मेरो जीवन रहेछ । म पानीमा रहेछु । ठिक त्यसै गरी जब मानिस पनि आफ्नो शरीरबाट वाहिर निस्कन्छ । बल्ल उसले प्रेमलाई बुझ्न सक्छ । शरीरबाट बाहिर निस्कनु भनेको निर्वाण प्राप्त गर्नु । Enlightened हुनु हो । हामीहरु जस्तो शरीरमा मात्र बाँचीरहेका मानिसहरुले प्रेमलाई वुझ्न सक्दैनौं । मुस्किल छ ।

हामीहरु अन्धाले हात्ती छामे जसरी प्रेमलाई बुझी रहेका छौं । कसैले प्रेमलाई श्रीमती देख्छन् कसैले श्रीमान, कसैले प्रेमी, कसैली प्रेमीका, कसैलै को, कसैले को । हाम्रो प्रेम नानाथरी रुपमा देखिन्छ, भेटिन्छ । हामी प्रेमको सन्दर्भमा एक भयंकर ठूलो भ्रममा बाँची रहेका छौं । यसबाट वाहिर आउनको लागि कम्तिमा हामीले आत्मसाक्षत्कार गर्न आवश्यक छ । शरीरभन्दा पर पनि अर्काे शरीर छ भन्ने अनुभव गर्नुछ । त्यसलाई जान्नु छ । अनि मात्र प्रेमलाई बुझ्न सकिन्छ । त्यसको लागि उत्तम मार्ग ध्यान हो ।
आज जो जसले गुलाब दिएर आइ लभ यू भनेका छन् र दंग परेका छन् वास्तवमा त्यो एक आकर्षण मात्रै हो । प्रेम शब्दमा आउँदैन । यो एक हृदयको अनुभूति हो । केवल अनुभव गर्न सकिन्छ । प्रेम व्यक्त गर्ने भाषा कहाँ छ र ? प्रेमलाई भाषामा मात्र व्यक्त गर्ने हुँदो हो त बोल्न नसक्नेले कसरी प्रेम गर्थे होला र ?त्यसकारण यो हृदयको एक अद्भूत अनुभव हो । गुलाबमा बेरीएर आएको प्रेम एक आकर्षणको प्रस्तुती मात्र हो । कुनै केटाले केटी देख्दा उसको शरीर मन पर्ला । जसरी हामी बगैचाँमा डुल्दा कुनै एक फुललाई खूब मनपराउँछौं त्यसैगरी घुम्दै गर्दा एक केटी वा केटाको शरीर मनप¥यो । त्यसलाई चुँड्न पाए हुन्थ्यो । सुग्घन पाए हुन्थ्यो भनेर आकर्षण पैदा हुन्छ । चाहाना सल्बलाउँछ । प्राप्त गर्ने इच्छा प्रकट हुन्छ । मनमा वास्ना जाग्छ । यो एक शरीरले अर्काे शरीरलाई आकर्षण तर्फ लैजानमात्र खोजेको हो । जब फुलमा सबै सुन्दरता र सुगन्ध सकिन्छ त्यो आकर्षण फेरि विकर्षणमा बद्लिन्छ । हामीले हाम्रा किशोर किशोरीहरुलाई बुझाउन आवश्यक छ कि तिमीले जुन कुरालाई प्रेम भनिरहेका छौ त्यो एक क्षणभंगुर आकर्षण मात्र हो । यो दुनियाँमा जसले हामीलाई माया गर्छ उसले कहिल्यै आइ लभ यू भन्दैनन् । के हाम्रा आमाबाबाले हामीलाई कहिल्यै त्यसो भने ? हाम्रा आफन्ता वा परिवारका सदस्यहरुले कहिल्यै त्यसो भनेका छन् त ?
त्यसकारण प्रेम भ्यालेन्टाइन डेको रुपमा प्रस्तुत गर्न सकिन्न । गर्नु हुन्न । ति सन्तलाई मेरो नमन छ । उनले राम्रो काम गरे । तर, हामीले बुझ्र्ने पर्ने कुरो चाँहि प्रेम कुनै भाषा वा वस्तुमा अटाएर आउने चिज होइन । यो एक हृदयको अनुपम अनुभूति हो । पवित्र प्रेमको गंगा हृदयमा बग्छ । त्यसलाई बुझ्न आवश्यक छ । प्रेम पाउने र गुमाउने चिज होइन । हामी प्रेममा छौं । जीवन प्रेममय छ । त्यसलाई केवल बुझ्न आवश्यक छ । त्यसलाई चिन्न आवश्यक छ ।
प्रेम प्रकृति हो । यो सहजतामा प्रस्फुटित हुन्छ । तर, हामीले यसलाई जटिल बनाउने प्रयास गर्दैछौं । त्यसकारण प्रेमको अभाव महसुस गरेर मानिस निराश छन् । आत्महत्या गर्छन । मलाई एक किसानको कथा याद आउँछ । एक समय पानी पर्दै परेन । बालीनाली सुकेर मरेछन् । किसान दुखीत भयो । उसले भगवानलाई पुका¥यो । जति गरेपनि पानी परेन । सारै भएपछि एक दिन उसले प्रण ग¥यो कि भोलिदेखि जब सम्म भगवानले पानी पार्दैनन् तबसम्म खेतमा केही पनि नखाइ धर्ना दिन्छु । गाउँलेले जती सम्झाए पनि उसले धर्ना रोकेन । यसरी जति धर्ना बसे पनि पानी परेन । अन्ततः ऊ त्यहीँ म¥यो । उसैको खेतमा उसलाई पुर्न छिमेकीले खन्न थाले । खन्दै जाँदा ५ फिट पनि नखनीकन पानी निस्कियो । जुन पानीको लागि उसले जीवन दियो त्यही पानीमाथि उभिएर उसले पानी मागी रहेको थियो ।
कतै हाम्रो पनि हालत त यस्तै हुँदैछैन । बुझ्न आवश्यक छ ।
यो आलेखको अन्ततिर आइपुग्दा, ओशोले चर्चा गरेका तीन प्रकारको प्रेमका बारेमा केही चचौ गरेर यो लेखलाई विराम दिन्छु । ओशोले हामीलाई सामन्य रुपमा बुझाउनको लागि प्रेमलाई वर्गिकरण गरेः
१) प्रेममा गिर्नु (Fall in Love)
२) प्रेममा हुनु (Being in Love)
३) प्रेम हुनु (Being Love)


ADVERTISEMENT

१) प्रेममा गिर्नु (Fall in Love)
अहिले जो किशोर किशोरीहरुले म तिम्रो प्रेममा परेँ भन्छन् । यो प्रेमगरेँ भन्दै आकर्षणमा गिर्नु मात्र हो । यसलाई ओशोले प्रेम शब्द प्रयोग गरे पनि भन्न खोजेको कुरो चाँहि आकर्ष कै हो । यो अवस्थामा मानिसहरु अरु कसैको नियन्त्रणमा हुन्छन् । जसरी हामी रिमोटले टिभि चलाउँछौं त्यसैगरी एकले अर्काेलाई चलाउँछ । यता आउ भन्छ आइहाल्छ । यसो गर भन्छ त्यसै गर्छ । कलेजबाट भागौं भन्छ, भागी हाल्छ । आमाबाबालाई ढाँटौं भन्छ ढाँटी हाल्छ । त्यसकारण यो अवस्था पर्दा महिलाहरु बलात्कृत हुने, हत्या, वेचविखन जस्ता जघन्य अपराधहरुका शिकार हुने हुन्छन् । यस्तो प्रकारको आकर्षणले मानिसलाई विनास तर्फ लैजान्छ । अंग्रेजी शब्दहरुलाई गहिरो गरि हेर्न सकियो भने पनि जीवनलाई बुझ्न सकिन्छ । यो अवस्थाका मानिसहरु कसैकोलागि प्रयोग हुन्छन् । कसैको गुलाम हुन्छन् । कसैको वस्तु हुन्छन् । आफ्नो जीवनको मोज अर्काेलै लिन्छ ।
२) प्रेममा हुनु (Being in Love)
दोस्रो प्रकारको प्रेमलाई ओशोले प्रेममा हुनु भनेका छन् । अर्थात यो अघिल्लो भन्दा वढी प्रतिकर मानिन्छ । यहाँ जब दुइजना विच आकार्षण हुन्छ । यहाँ समझदारी अलि हुन्छ । यो स्टेजमा एकअर्काको गुलाम हुनुपर्दैन । एक अर्काको सम्मान हुन्छ । यहाँ भागौं । झुट बोलौं । शोषण गरौं भन्ने कुरा हुन्न । यदि कोही यो प्रेममा छ भने उसले आफुलाई सुरक्षीत र आत्मविश्वासी ठान्छ । यहाँ शरीरप्रति संयमित आकर्षण हुन्छ । जीवनलाई समृद तथा आनन्दमय बनाउनको लागि यो स्टेजको प्रेम लागुहुन्छ । लेखक खलील जेब्रानले अत्यन्तै सुन्दर कुरा भनेको छन् । उनी श्रीमान श्रीमती विचको कुरा लेख्छन्ः हामी विवाहीत भएपनि दुबैजना यो पोखरीको वारीपारी बसौं । जब तिमीलाई मलाई भेट्ने मन हुन्छ निमन्त्रण दिनु म आउँछु । जब मलाई मन लाग्छ म पनि त्यसै गर्छु । तर, निमन्त्रणाविना कोही पनि एकअर्कालाई भेट्न नआउने । एकअर्काको स्वतन्त्रतालाई हस्तक्षेप नगर्ने । जब मानिस प्रेममा हुन्छ उसमा यस्तो प्रकारको भाव जाग्छ । एक अर्काको सम्मान हुन्छ । यसलाई हल्का हल्का प्रेमको अनुभूति भएको वा मिसिएको आकर्षण भन्न सक्नुहुन्छ । यहाँ वोध र अनुभूति प्रगाढ हुने हुँदा क्षतिको संभावना एकदमै न्यून हुन्छ ।
३) प्रेम हुनु (Being Love)
तेस्रो चरणको प्रेमलाई ओशोले प्रेम हुनु भनेको छन् । जब मानिस यो चरणमा पुग्छ ऊ अब एक सत्त प्रेम मात्र हुन्छ । जस्तो बुद्ध भए । जस्तो ओशो भए । जस्तो महाविर भए । जस्तो कविर भए । जस्तो जिसस भए । उनीहरुको जीवनको पूर्ण प्रस्तुती प्रेममय बन्यो । महाविरलाई ढुंगा हान्थे मानिसहरु तर उनी मुस्कुराउँथे । बुद्धलाई थुक्थे मानिसहरु तर उनी मुस्कुराउँथे । जिससलाई झुन्ड्याए तर उनी यि सबैलाई क्षमा दिनुप्रभु भन्दै प्रार्थन गर्दे । जसरी वृक्षमा बसन्त आउँदा हरियाली र फूलहरुले ढकमक्क ढाक्छ ठिक त्यसैगरी जब मानिस प्रेम हुन्छन् तब जीवन औलोकिक बन्छ । जीवन प्रेमको सुगन्धले भरिपूर्ण हुन्छ । प्रेम हुनु मानिसको प्राकृतिक स्वरुप हो । विभिन्न कारणले हामीहरु प्रदुषित भयौं । बागमती जस्तै । तर, यसलाई सफा गर्न सकिन्छ । कठिन छ होला तर सफा गर्न सकिन्छ । प्रेम हुन सकिन्छ ।
जीवन प्रेम । प्रेम जीवन । वाँच्नु प्रेम । फक्रनु प्रेम । मृत्यु प्रेम । प्रेम एक वह्मण्ड । थाहा छ त्यसैले थाहा पाउन कठिन छ ।

विवेक विनयी वु.न.पा. वडा नं. १० कपन स्थित जुगल स्कूल/कलेजका प्राचार्य तथा प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका सदस्य एवं तालिम विभागको सचिव साथै लेखक पनि हुनुहुन्छ । उहाँको दुइ पुस्तक बजारमा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार