सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

मृत्युमा किन दुःखी नबन भन्छन श्रीकृष्ण?

श्रीकृष्ण समय । भगवान श्रीकृष्णको जन्मोत्सव । मनुष्यजातीले पूज्ने भगवानमा सबैभन्दा प्रिय नामः श्रीकृष्ण । त्यही भएर होला खोज्दै जाँदा श्रीकृष्ण भगवानलाई पुकार्ने १०८ वटासम्म नाम भेटियो । आखिर किन यति धेरै चर्चीत छन् हाम्रा श्रीकृष्ण ? मेरो साँघुरो समझको आँखी झ्यालबाट श्रीकृष्णलाई चियाउने यत्न गर्दैछु ।
श्रीकृष्णलाई पूज्ने एक चर्चित वाक्य छः श्रीकृष्ण शरणम् ममः अर्थात हे कृष्ण मलाई शरणमा लेउ । म तिम्रै शरणमा छु । मलाई आर्शिवाद देउ ।
भगवान श्रीकृष्णको सन्दर्भमा केही लेख्न कोशिष गर्नु पनि अत्यन्तै कठिन छ । मनुष्य जातीको इतिहासमा सर्वाधिक महत्वपूर्ण ग्रन्थ भगवत गीताउही कृष्णबाट सृजित महाग्रन्थ हो । पूर्वदेखि पश्चिमसम्मगीतलाई नपढ्ने र नपूज्ने मानिस लगभग छैनन् । यति प्रिय कृष्णबाट हामीले सिक्नुपर्ने, बुझ्नुपर्ने धेरै कुराहरु छन् ।


ADVERTISEMENT

भगवत गीतामा श्रीकृष्ण भन्छन्ः मृत्युमा दुःखी नबन । किन ?

जातस्यहिध्रुवोमृत्युर्ध्रुवंजन्ममृतस्यच।
तस्मादपरिहार्येऽर्थेनत्वंशोचितुमर्हसि॥२(२७

अर्थात जन्मपछि मृत्य र मृत्युपछि जन्म अवश्यमभावी छ । कृष्णको मूल सन्देश मृत्यु पछि पनि जीवन छ भन्ने हो । त्यसकारण मृत्युमा दुःखी हुन आवश्यक छैन भन्छन । तर, सामन्यतय हामीले सोच्छौं कि मृत्युपछि जीवन समाप्त हुन्छ । के साँच्चै यो शरीर ढलेपछि जीवन सकियो त? कृष्णको सन्देशलाई सुन्ने हो भने हामी भ्रममा छौं । मृत्युले जीवनलाई समाप्त पार्न सक्दैन । जन्म र मृत्युको चक्र चलिरहन्छ । जसलाई आध्यात्मिक गुरुहरु महाजीवन भन्छन् । हामी धर्तीमा एक पटक होइन पटक पटक आउनुपर्छ । आउँछौं । आएका छौं । तर, हामीलाई किन यसको वोध हुँदैन ? वास्तवमा हामीले जीवनलाई बुझेका हुँदैनौं । जीवन शरीर मात्र होइन । शरीर त कपडा जस्तो मात्र हो । पुरानो भएपछि आफैं च्यातिन्छ । सकिन्छ । यो शरीरको अस्तित्व भित्र आत्मा तत्व पनि छ जसलाई हामीले बुझेका हुँदैनौं ।
अहिले विज्ञानको समय छ । बुद्धिको समय छ । हामीलाई प्रमाण चाहिन्छ । अनि मात्र विश्वास गर्छाैं । तर, आध्यात्मले भनेको कुराहरु सबै प्रमाणमा आउँदैनन । अनुभूतिमा भने आउँन सक्छ । त्यसकारण आत्मा हन्छ कि हुँदैन भन्ने कुराहरु कसरी जान्ने त ? जसलाई आत्माको बारेमा जान्नु छ उसले आध्यात्मको यात्रा शुरु गर्यो भने पक्कै पनि उसलाई यसको बोध हुन्छ । गुरुहरुको संगतले यति चाँहि भन्न सक्ने भएँ म पनि । शरीर र आत्माको सन्दर्भमा हाम्रो आधुनिक भाषामा भन्नु पर्दा कम्प्यूटर र इमेल जस्तौ हो भनेर मान्न सकिन्छ । जसरी कम्प्युटर समाप्त भए पनि त्यसभित्रको इमेल समाप्त हुँदैन त्यसैगरी शरीर सकिए पनि आत्मा सकिन्न । अर्काे नयाँ कम्प्युटर पाउनसाथ इमेल खुल्छ । ठिक त्यसैगरी नयाँ शरीरमा आत्माले पनि प्रवेश पाउँछ ।

आत्मा त कहिल्यै सकिन्न । जबशरीरको सकिन्छ । अथवा भनौं जब कसैको मृत्यु हुन्छ । उसको शरीर मात्र समाप्त हुने हो आत्मा होइन । शरीरबाट निस्कन्छ आफ्नो यात्रामा अनि उपर्युक्त समयमा आत्मा फेरि फर्केर आउँछ । तर, हामीलाई यसको वोध हुँदैन । त्यसैले हामीले मृत्युलाई सबै समाप्त भएको ठान्छौं । आकुल व्याकुल हुन्छौं । कृष्ण भन्छन्ः मृत्युले तिम्रो अर्काे जीवनको लागि ढोका खोल्छ । परम पूज्य सद्गुरु ओशोले मृत्युको सन्दर्भमा प्रितिकर प्रवचन दिनुभएको छ । उहाँले आफ्नो मृत्युमा कसैले एक थोपा आँशु नझार्नु वरु हर्षाेउल्लासका साथ सबैले नाँचगान गर्दै मलाई चितामा चढाउनु भन्ने आदेश दिए । जब ओशोले शरीर छाडे ठिक त्यसै गरियो । उनका कोही पनि शिष्य रोएनन । सबैले बाजागाजा बजाउँदै उनको पार्थिव शरीरलाई जंगल लगे । चितामा चढाए । उनको शरीरलाई आगोको लप्काले एकै छिनमा खरानी पारिदियो । कोही पिडाँमा छैन । कसैको आँखा रसाएका थिएन । ओशोले यो धर्तीमा पहिलो पटक मृत्यु एक महोत्सव बनाई दिए । उनले पनि कृष्णको सन्देशलाई पक्रे कि मृत्युले जीवन यात्रा रोकिन्न वरु नयाँ रुपमा अघि बढ्छ । जब आध्यात्मिक यात्राबाट अघि बढेर ओशोले जीवन र मृत्युलाई बुझे भने के हामीले पनि बुझ्न सक्दैनौ र ? अवश्य सक्छौं । हामीमा साहस, विश्वास र साधना हुन आवश्यक छ । मृत्यु पनि उत्सव बन्न सक्छ ।

आध्यात्ममा खासगरी मृत्यु भन्ने शब्द प्रयोग हुँदैनन । त्यहाँ मृत्युलाई शरीर छोड्नु भनिन्छ । यो मृत्यु होइन । वरु अर्को जीवनको शुरुवात मानिन्छ । त्यसैले शरीर छोड्नु भनिन्छ । तर, मृत्यु पछि पनि जीवन हुन्छ भनेर कसरी पत्तो पाउने भन्ने कुरा महत्वपूर्ण छ । पक्कै पनि हो । अहिले त्यसबारे जान्नको लागि केही विधि र विज्ञान शुरु भएको छ जसलाई Past Life Regression भनिन्छ । नेपालमा पनि यो विधि उपलब्ध छ । सम्मोहन विधि मार्फत जोकोहीले विगतको जिन्दगीलाई फर्केर आफैं हेर्न सक्छ । हामी अघिल्लो जीवनमा कहाँ थियौं, के के गर्र्याैँ भन्ने साराकुराहरु हाम्रो मेमोरीमा रेकर्ड भएर रहेको हुन्छ । त्यसलाई निश्चित विधिद्वरा हेर्न सकिन्छ । ओशो धाराको महाजीवन प्रज्ञामा सबै साधकहरुले आफ्नो अघिल्लो जीवनको यात्रा तय गर्न सक्छन् । उनीहरु कहाँ जन्मेका थिए, कस्तो परिवार थियो, के के भएको थियो । यि सारा कुराहरुलाई आफैंले हेर्न सकिन्छ । यसले हामीलाई हाम्रो जीवन मृत्युपश्चात पनि चलिरहन्छ भन्ने कुराको वोध गराउँछ ।

भगवान श्रीकृष्णले मनुष्यको लागि महाजीवनको एक अद्भुत सन्देश दिएका छन् । मानिसको जीवन जन्म र मृत्यु विचको यात्रामात्र होइन । यो त सानो अंश मात्र हो । जीवन त विराट छ । त्यसलाई बुझ्न आवश्यक छ । विराट जीवनलाई बुझ्नको लागि विराट साधना पनि आवश्यक छ । भगवत गीतामा कृष्णले अर्जुनलाई दिएको उपदेश वास्तवमा समग्र मनुष्य जातीको लागि हो । त्यसलाई बुझ्न आवश्यक छ । आज मानिसहरु जन्मको उन्माद र मृत्युको विषादमा रुमाल्ली रहेका छन् । त्यसबाट माथि निस्केर जीवनलाई अर्काे आयमबाट बुझ्न पनि जरुरी छ ।
जीवनलाई जन्म र मृत्युभन्दा परगएर बुझ्न अहिलेको सन्दर्भमा चर्चित डा. ब्रेन ए वासले लेखेको मेनी लाइभ्स मेनी मास्टरस (Many Lives many masters) पुस्तक अति नै रोचक छ । विश्व प्रसिद्ध यो पुस्तकको अध्ययनले हाम्रो जीवनमा साँच्चै जीवन सम्बन्धी समझको नयाँ ढोका खोल्छ ।

कृष्णले वडो सरल भाषामा जीवनको अर्थलाई सम्झाएका छन् । खासगरी मृत्युको शोकबाट कसरी वाहिर निस्केर जीवनलाई बुझ्न सकिन्छ भन्ने प्रसंग अत्यन्तै महत्वपूर्ण । आत्मालाई चिन्ने प्रयासमा लाग्न कृष्णले मनुष्यलाई प्रेरित गरेका छन् । अर्जुन मृत्युबाट डराएर युद्धबाट भाग्न खोजेका थिए । त्यही सन्दर्भमा कृष्णले अर्जुनलाई जन्म र मृत्युको जीवन्त सन्देश दिए ।

हामीले फर्केर हेर्ने हो भने हाम्रो शरीर पञ्चतत्वले निर्माण भएको पाउँछौं । अग्नि, बायु, आकाश, पृथ्वी, जल । यसमध्येको एक तत्व आकाशको अर्थ आत्मा हुन्छ । सद्गुरुहरु भन्नुहुन्छ । वच्चा गर्भमा आएको ४२ दिन पश्चात शरीरमा आत्मा प्रवेश हुन्छ । र हाम्रो शरीर समाप्त हुँदा ४ तत्व हामीले यही धर्तीमा छाडेर जान्छौं । केवल तत्व (आकाश) आत्मामात्र यहाँबाट निस्केर जान्छ । यसलाई बुझ्नको लागि हामीलाई एक महत्वपूर्ण आध्यात्मिक साधनाको आवश्यकता पर्छ । विज्ञानलाई एकैछिन एकछेउमा राखेर यदि हामीले कृष्णले दिएको सन्देशको बाटो भएर अघि बढ्ने हो महाजीवनको वोध गर्न सकिन्छ ।
हामीसबैलाई भगवान श्रीकृष्णको आर्शीवाद सधैं मिलोस । श्रीकृण शरणम् ममः ।

लेखक विवेक विनयी जुगल स्कूल/कलेजका प्राचार्य हुन् ।

 

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार