आइतवार, भदौ ८, २०७६ | Sunday 25th August 2019

मार्पा र मिलारेपाः अभूतपूर्व गुरु-शिष्य

अक्षर ज्ञान र जीवन ज्ञान दिने शिक्षक तथा गुरुप्रति गुरुपूर्णिमाको पवित्र अवसरमा भावपूर्ण अहोभाव प्रकट गर्न चाहान्छु । तपाईंहरुले दिएको ज्ञानको भूमिमा उभिएर आज जीवनलाई अर्थपूर्ण यात्रामा लगाउन पाएको छु । आफुलाई चिन्ने यात्रामा निस्कन पाएको छु । जीवनमा ति ज्ञान अन्धकारको दीप समान भएको छ । म मा पात्रता थियो कि थिएन तर पनि मैले जीवनमा शिक्षक र गुरुको अभूतपूर्व साथ पाएको छु । जीवन पर्यन्त कृतज्ञ रहने छु । जय शिक्षक । जय गुरु ।


ADVERTISEMENT

गुरुपूर्णिमाको अवसर छ । जीवनमा ज्ञानको महत्व बुझ्नेलाई यो दिन अत्यन्तै महत्वपूर्ण छ । यतिवेला उनीहरु भावमा डुबेका छन् । आँशुको धारा बगाउँदै गुरुको चरणमा आफुलाई समर्पित गरेका छन् । यो आलेख तयार पार्दै गर्दा मैले मेरा सम्पूर्ण शिक्षक तथा गुरुहरुलाई खुब सम्झँे । उहाँहरुको कृपालाई महसुस गरेँ । कस्तो थिएँ । कस्तो भएँ । कस्तो हुँदै छु । हेरेँ । आफुलाई खुब हेरेँ । आँखाहरु रसाए । वास्तवमै मेरो जीवन शिक्षकमय रहेछ । गुरुमय रहेछ ।

यो आलेखको शिरानीमा मैले शिक्षक र गुरु भनेर छुट्टा छुट्टै शब्दावली प्रयोग गरेँ । हामीले चलन चल्तीको भाषामा शिक्षकलाई गुरु भन्ने गर्छाैं । अझ, पण्डित, ड्राइभर, प्रहरी तथा आर्मीका प्रशिक्षकहरुलाई पनि गुरु भन्ने गरेको सुन्छु । गुरु शब्द जतातै प्रयोग भइरहेको छ । वढी जसो शिक्षक र पण्डितलाई गुरु भन्ने गरिन्छ । गुरु महिमापूर्ण र प्रतिकर शब्द हो । प्रयोग गरेको राम्रै हो । सुन्दा भावनात्मक अनुभूति पैदाहुन्छ । तर, आध्यात्मको आँखी झ्यालबाट हेर्ने हो भने शिक्षक, पण्डित वा अरु कुनै पेशाधारीलाई गुरु भन्न सकिन्न । उनीहरु गुरु होइनन् ।शिक्षक गुरु होइन । तर हुन सक्छ ।

वास्तवमा गुरुको अर्थ विराट छ । संक्षिप्त रुपमा भन्नु पर्दा अक्षर ज्ञान होइन जीवन ज्ञान दिएर जसले अरुलाई आत्मवोध गराउन सक्छ उही गुरु हो । अर्थात गुरु हुनुलाई चाहिने पहिलो योग्यता नै आफुलाई आत्मवोध हुनु हो । अक्षर ज्ञान नभएका पनि गुरु हुन सक्छ । गुरु हुनको लागि अक्षर ज्ञानको आवश्यकता छैन । जस्तो भारतका सन्त कविर एक महान गुरु हुन ।तर, उनलाई आफ्नो नाउँ समेत लेख्न आउँदैन थियो । अतः गुरुसँग विराट आत्मज्ञान हुन्छ । उसले आफुलाई चिनेको हुन्छ । आफुलाई चिनेको मान्छेले मात्र अरुलाई पनि आफुलाई चिन्न सिकाउन सक्छ । अर्थात जागेको मान्छेले मात्र अरुलाई पनि जगाउन सक्छ । जस्तो बुद्ध, ओशो, महाविर, शिवपुरीबाबा, नानक आदि । यस्ता थुप्रै गुरुहरु छन् जसले आफ्नो जीवनमा आत्मवोध गरी अरुलाई पनि आत्मवोध गराए ।

अहिले हामी विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा गुरुपूर्णिमा मनाउँछौं । आफ्ना शिक्षकहरुलाई गुरु सरह मानेर हामीले पूज्ने गर्छाैं । यो राम्रो प्रचलन हो ।उहाँहरुले पनि हामीलाई अक्षर ज्ञान दिएर आत्मज्ञानको बाटोमा त पठाउनु भएको छ । हिड्ने नहिड्ने हाम्रो काम हो ।पक्कै पनि उहाँहरुले आफुले जानेको काम त सफलतापूवर्क पूरा गर्नुभएको छ । आजकाल गुरुपूर्णिमालाई विद्यार्थीहरु ह्याप्पी टिचरस डेभन्दै आफ्ना शिक्षकहरुलाई विभिन्न उपहार दिएर मनाउँछन् । यसो गर्नु राम्रो भए पनि गुरु पूर्णिमालाई टिचरस डे भनेर अंग्रेजीमा अनुवाद गर्न सकिन्न । वास्तवमा गुरु पूर्णिमालाई अंग्रेजीमा व्यक्त गर्न सक्ने कुनै शब्द छैन । गुरु शब्दको अर्थ वोक्न सक्ने अंग्रेजी शब्दको जन्म नै भएको छैन । गुरुको लागि प्रयोग हुने टिचर शब्द त कामचलाउ मात्र हो ।

यतिका महत्वपूर्ण गुरुलाई हामीले जीवनमा कसरी बुझेका छौं भन्ने कुरालाई नियाल्न जरुरी छ । जबसम्म हामीले जीवन ज्ञान प्राप्त गर्न सक्दैनौं तबसम्म जीवन प्रतिकर हुन सक्दैन । जीवनमा एक बुद्ध पुरुष वा भनौं आत्मज्ञान भएको गुरुको पाउ पक्रनु अति नै जरुरी छ । त्यस्ता गुरु पाउन पनि सजिलो छैन । यदि हामीले सही गुरु जीवनमा प्राप्त ग¥यौं भने हाम्रो नश्वर शरीर पनि अमर बन्छ । हामीले अमरतत्व प्राप्त गर्छाैं । त्यसकारण समय छदैं हामीले एक सद्गुरुको खोजी गर्न आवश्यक छ ।

हामीले प्राप्त गरीरहेको अहिलेको सबै ज्ञानले हामीलाई संसारमा लैजान्छ । संसारबारे बुझ्न लगाउँछ । आर्थिक तथा सामाजिक संमृद्धिको बाटोमा हिड्न सिकाउँछ वा भनौं वाहिरको सांसारीक ज्ञानको लागि अभिप्रेरित गराउँछ । तर, वाहिरी ज्ञानले मात्र जीवन पूर्ण आनन्दमय हुन सक्दैन । संसारमा हामीले जति नै धेरै धन र प्रसिद्धि प्राप्त गरेपनि जबसम्म हामीले फर्केर आफैंलाई हेर्न सक्दैनौ तबसम्म जीवन आनन्दमय हुन सक्दैन । त्यसकारण आफैं भित्र पढ्न सिकाउने गुरुको हामीलाई आवश्यकता हुन्छ ।

गुरु—शिष्य प्रसंग कोट्याउँदा तिब्बतका मार्पा र मिलारेपाको कथा मेरो मानसपटलमा प्रस्फुठित हुन्छ । धेरै अगाडि मैले यो कथा सुनेको थिएँ । एकपटक फेरि भन्ने प्रयास गर्छु । कथाबाट आफुलाई चाहिने खुराग विद्वान पाठकहरुले आफैं निकाल्न सक्नुहुन्छ ।

हजारौं वर्ष अघि तिब्बतमा एक सम्पन्न परिवार थियो । परिवारमामिलारेपा भन्ने एक किशोर, उनको आमा, बाबा र वहिनी थिए । तर, अचानक मिलारेपाको पिताको देहान्त भयो । जीवनको अन्तिम क्षणमा मिलारेपाको बाबाले आफ्नो भाइलाई आफ्नो श्रीमती, छोरा, छोरी सबैको हेरचाहार गर्नु र पछि मिलारेपा युवा भएपछि सबै सम्पक्तिहरु उसैको नाम गरिदिन आदेश दिए । मिलारेपाको काकाले आज्ञा माने । तर, समय बदलियो । मिलारेपाको काकाकाकीको मन पनि बदलियो । उनीहरुले आफ्नो दाईको सबै सम्पक्ति माथि हैकम जमाए । एक टुक्रा पनि दिएनन । उल्टै मिलारेपाको परिवारलाई दुःख दिन सम्म दिए । मिलारेपाको आमाले गाउँले भेला डाकेर आफ्नो देवरलाई सम्झाइ दिन अनुनय गरे तर कोही पनि गाउँलेहरुले उनीहरुलाई साथ दिएनन् । मिलारेपाको परिवार दुःखको सागरमा डुब्यो ।मिलारेपाले केही गर्न सकेनन् । दिन प्रतिदिन उनीहरुको अवस्था नाजुक बन्दै गयो ।

एकदिन आमाले मिलारेपाललाई कतै गएर तान्त्रिक विद्या सिकेर आफ्नो काकाकाकी र पुरै गाउँलेहरुलाई बद्ला लिन भने । आमाको कुरा मानेर मिलारेपा घरबाट तान्त्रिक विद्या सिक्न भनी निस्के । जाने वेलामा आमाले भनेः यदि तैँले यो विद्या नसिकि आइस भने म आत्माहत्या गरेर मर्छु । आमाको कठोर निर्णयले दबाब दियो मिलारेपालाई । उनी घरबाट निस्के । लामो समयको परिश्रम पश्चात मिलारेपाले तान्त्रिक विद्यामा सिद्धी प्राप्त गरे । उनी जे पनि गर्न सक्ने भए । लामो साधाना पश्चात उनी घर फर्के । आफ्नो काकाले एक भोजको आयोजना गरिरहेका थिए । सबै गाउँलेहरु भेला भएका थिए । त्यहाँ खुब मस्ती चलिरहेको थियो । मिलारेपाले आफ्नो शक्ति प्रयोग गरेर घनघोर हिमपात गराए । उनका काकाकाकी लगायत सबै मानिसहरु हिउँमा पुरीएर मरे ।

उनको मिसन पूरा भयो । उनले बद्ला लिए । तर, केही समय पछि उनको मनमा अशान्ति छायो । उनले आफुले ठिक नगरेको महसुस गरे । यो बद्लाले पिर्न थाल्यो । उनलाई पश्चताप लाग्यो । उनी असाध्यै मानसिक पिडामा डुबे । कसैले उनलाई मार्पा भन्ने गुरुले उनलाई यो दुखबाट वाहिर निकाल्न सक्छ भन्ने सल्लाह दिए । उनी मार्पालाई खोज्दै गए । एउटा सानो केटोले उनलाई मार्पा खेतमा काम गरीरहेका देखायो । उनी खेतमा गए । मार्पा सित भेट भयो । मिलारेपाले आफ्नो कुरा राखे । तर, मार्पाले उनलाई खेत खन्न लगाएर केही नबोली आफु चाँहि त्यहाँबाट निस्के । वेलुकी मिलारेपा मार्पाको घर पुगे । उनले आफ्ना सारा दुखहरु मार्पालाई बताए । तर, मार्पाले ठिक समयमा म तिमीलाई दिक्षा दिन्छु भने । हरेक दिन विभिन्न वहाना बनाउँदै मार्पाले मिलारेपालाई आफ्नो आश्रममा राखे । विभिन्न कामहरु गराउँदै मार्पाले १२ वर्ष भन्दा बढी समय उनलाई केही ज्ञान नदिइ राखीरहे । कैले घर बनाउन लगाए । फेरि भत्काएर फेरि बनाउन लगाउँथे । कैले के कैले के । अनेकौं अफठ्यारा कामहरु गर्न लगाए । मिलारेपा अब बुढो हुँदै गइरहेका थिए । तर, मार्पाबाट दिक्षा पाएनन् । उनले मार्पाको श्रीमतीलाई आफ्नो दुःख विसाए तर पनि उनको केही लागेन । यसरी एक दिन उनी अब यहाँबाट ज्ञान नपाइने रहेछ भनेर आत्माहत्या गर्न तयार थिए मापाले बोलाए अनि दिक्षा दिए । मिलारेपाले आत्म साक्षत्कार गरे ।

यतिका वर्ष किन मार्पाले दिक्षा दिएनन ?मार्पा भन्छन्ः मिलारेपा तिमीले निक्कै ठूलो पाप गर्यौ । त्यसलाई पखाल्न १२ वर्ष लाग्यो । तिमीले मैले भने झैं सरासर साधाना गरेको भए अलि थोरै समय लाग्न सक्थ्यो तर तिमीले यस विच पनि विभिन्न छलहरु गर्यौं । त्यसै कारण यतिका समय लाग्यो तिमी दिक्षीत हुन । जब मिलारेपा दिक्षित भए उनलाई आत्मावोध भयो । उनी जागे । उनले बुद्धत्वता प्राप्त गरे ।उनीले साक्षत डाँकीनीको दर्शन भयो । उनको यात्रा अझैं अघि बढ्यो । सबै दुःखबाट उनी मुक्त भए । आज पनि मानिसहरु मिलारेपाको भब्य पूजा गर्छन । उनी तिब्बतको मुक्त पुरुष हुन । एक योगी हुन । एक कवि हुन । एक महानतम साधक हुन । एक उज्जवल नक्षत्र हुन ।
यहाँनेर हामीले सिक्नु पर्ने महत्वपूर्ण कुराचाँहि गुरु असल भएर मात्रै पनि हुन्न । शिष्यमा पात्रता पनि चाहिन्छ । कसैले केही दिइरहेको छ भने त्यो स्वीकार गर्नको लागि पनि हामी सित केही न केही त हुनुपर्यो । यो असाध्यै महत्वपूर्ण कुरो हो । मिलारेपामा विराट पात्रता थियो । उनले १२ वर्ष लामो कठोर धैर्यता गरे । दुःखका अग्ला पहाडहरु चढदै अघि बढे ।तर, लामो समयसम्म पनि उनी आफ्नो आशाबाट पछि हटेनन । निरन्तर अघि लागी रहे । तान्त्रिक विद्या सिक्दा पनि उनीले अभूतपूर्व संघर्ष र साधना गरे । उनको गुरुप्रतिको विश्वास विराट थियो । गुरुले यतिका लामो समय केही दिक्षा नदिई राख्दा पनि उनी हल्लीएनन । अन्नततः उनीले आत्मा ज्ञान पाइ छाडे । उनीले यो धर्तीमा फेरि आउन चाहेनन । उनी सदाको लागि मुक्त भए ।

मार्पामा पनि अभूतपूर्व आत्मवोधको रस बगेको थियो । उनी हेरेर नै सारा कुरा जान्न सक्ने हैसियतराख्थे । मार्पा एक उच्च कोटीको सद्गुरु हुन । जसले सहजै मिलारेपालई जगाइ दिए ।

आज मार्पा र मिलारेपा जस्तो गुरु शिष्य त कहाँ पाइएला र तथापि हामीले कोशिष गर्यौं भने हामीलाई पनि त्यही बाटोमा जान सक्छौं । एक मुक्त गुरु जब प्राप्त हुन्छ उसको हाम्रो जीवन सरल रुपले आत्मज्ञानको बाटो निशानिर्देश गरिदिन्छ । जबसम्म हामीलाई आत्माज्ञान हुन्न तब सम्म जीवन आनन्दमय हुन सक्दैन । अक्षरको ज्ञानले मात्र जीवन पूरा हुन सक्दैन । हामीले वाहिरको झिलिमिली दुनियाँ धेरै हेर्यौं अब भित्रको झिलिमिलि पनि हेर्नुछ । आत्माज्ञान प्राप्त गर्नु पर्छ ? के हो आत्मज्ञान ? जब हामी ऐनामा आफुलाई हेर्छाैं त्यहाँ हेर्ने मान्छे हुन्न । त्यहाँ दृश्य हुन्छ द्रष्टा हुन्न । ठिक यसरी नै आत्माज्ञान प्राप्त भएपछि मान्छेले शरीर र आत्मालाई भिन्न देख्न थाल्छ ।केही अगाडि ऊ काँचो नरीवल जस्तो थियो । अब सुकेको नरीवाल जस्तो भयो । बोक्रा र गुदी छुट्टियो । म भन्ने शरीर होइन भन्ने कुरा उसलाई बोध हुन्छ । शरीर दुख्दा उसलाई पिँडा हुन्न । शरीर छोड्दा पनि उसलाई पिडाँ हुन्न । म भनेको शरीर होइन । शरीरमात्र नष्ट हुने हो आत्मा त नष्ट हुन्न । त्यो अमर छ ।सबै कुराहरुको बोध हुन्छ । अर्काे तर्फ काम, क्रोध, लोभ, मोह, मद, मात्सार्य जस्ता सबै कुराहरुबाट ऊ मुक्त हुन्छ ।

हामी सबैको जीवनमा असल शिक्षक र गुरु उपलब्ध होस । हामी सबैले शिक्षक र गुरुको महिमालाई बुझ्न सकौं । अक्षरज्ञानको भ¥याङ चढेर आत्मज्ञानको मार्ग जान सकौं । सबैलाई पुन शुभकामना ।

विवेक विनयी
प्रिन्सिपल जुगल स्कूल/कलेज ।

प्रतिक्रिया

सम्बन्धित समाचार