सोमवार, असार २, २०७६ | Monday 17th June 2019

बाबुराम र उपेन्द्रको दावी : अबको चुनावमा पहिलो शक्ति

१८ जेठ, बुटवल ।
नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी समेत गरे ।
समाजवादी पार्टीले २०५२ सालपछि उदय भएका क्रान्तिकारी, पहिचानवादी र परिवर्तनकारी पार्टी, शक्ति र समूहलाई पार्टी एकतामा ल्याई आगामी चुनावपछि देशको नेतृत्व गर्ने भट्टराईले दावी गरे ।

‘समाजवादी पार्टी अब ४०–५० सिटमा चित्त बुझाएर नेकपा वा कांग्रेसको पुच्छर बनेर २÷४ जना मन्त्री खाने पार्टी बन्दैन’ भट्टराईले भने ‘देशभर संगठन बनाएर सरकारको नेतृत्व गर्ने हो ।’

सत्तारुढ नेकपा र कांग्रेस एकल जातीय, एकल लिंगीय पार्टी भएको आरोप लगाउंदै भट्टराईले समाजवादी पार्टी नै वैचारिक ढंगले नयां र हिमाल, पहाड, तराई मधेसलाई जोड्ने समावेशी पार्टी भएको दावी गरे ।

प्रचण्डले जनयुद्धकालमा एजेण्डा छाडेर पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाउंदै भट्टराईले प्रचण्ड भन्दा आफू क्रान्तिकारी भएको जिकिर गर्दै नेकपाका क्रान्तिकारी, पहिचानवादी नेता कार्यकर्तालाई समाजवादी पार्टीमा आउन आग्रह गरे ।

अहिलेको राज्य पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली गलत भएको तर्क गर्दै भट्टराईले सरकार, सदन र सडक आन्दोलनमार्फत सरकारलाई झुकाएर संविधान संशोधन गराएरै छाड्ने बताए ।

पहिलो संविधानसभाको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार ११ प्रदेशसहितको राज्यको पुनःसंरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद भएपछि मात्र मुलुकमा समृद्धि र दिगो शान्ति आउने उनले स्पष्ट पारे ।

विज्ञहरुले सिफारिस गरेको ११ प्रदेशमा कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्र पनि सहमत भएको स्मरण गर्दै भट्टराईले दोस्रो संविधानसभामा एमाले र कांग्रेसको वहुमत भएपछि ७ प्रदेश आएको बताए ।

केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्तिसंगको पार्टी एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै अब राजपा, जनमुक्ति र अन्य पार्टीसंग पनि एकता गर्ने बताए ।

समावेशिताका हिसाबले समाजवादी पार्टी पहिलो बनिसकेको र संगठनलाई गाउँटोलसम्म पु¥याएर अबको चुनावमा पहिलो पार्टी बनाउने दावी गरे ।

‘नयाँ शक्तिसंग मिल्यौं, अब पुग्यो भन्ने होइन, यो एकता शुरुवात मात्रै हो, अब राजपा, जनमुक्तिलाई पनि एकतामा आउन अपील गर्छौं’ यादवले भने ‘हामी सांच्चिकै लोकतान्त्रिक, समावेशी र वैकल्पिक पार्टी बनाउने लक्ष्यका साथ अघि बढेका छौं र अर्को चुनावसम्म तरक्की गरेर नम्बर वान पार्टी बनाउँछौं ।’

विगतमा आफ्नो पार्टीलाई जातीय र क्षेत्रीय पार्टीको आरोप लाग्ने गरेको स्मरण गर्दै यादवले नयाँ शक्तिसँगको एकतापछि साँचो अर्थमा राष्ट्रिय पार्टी बनेको दावी गरे ।

अभिमुखीकरणमा प्रदेश ५ का करिब एक हजार अगुवा कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार