बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

हाम्रो गणतन्त्रको व्यावहारिक शिक्षा

हामी सबैलाई चाकडी गर्न मन लाग्छ । आफूलाई बिर्सन्छौं।अरुलाई सम्झिरहन्छौं।हात मोल्छौं।चाकडी गर्न र पूजा गर्न पाए हामीलाई पुग्यो । आफ्नो उपलब्धि जेजस्तो भए नि पुग्यो।नम्बर भए पुग्यो । कथित विज्ञहरुको नजिक जान पाए पुग्यो । उनीहरुको डम्फु बजाउन पाए पुग्यो । तर न त आफू सोच्यौँ । न त आफ्नो जिम्मेवारीलाई सोच्यौँ । कित्तामा बाँडिन सिक्यौँ । विज्ञले जेजे भने त्यही त्यही मात्रै सिक्यौँ । नवीनता खोज्न त हैन सिद्धान्त रट्ने मात्रै हो र सिद्धान्त सिद्धान्तका बीच टसल चैं सोच्यौँ ।


ADVERTISEMENT

विषयका बीचको टसल सोच्यौँ । अनि अनुवादित र किर्ते सिद्धान्तको ठेली रटेकोमा गर्व गर्न सिक्यौँ । प्रमाणपत्र हातमा परेपछि ढोका ढकढकाउन र बाउको पैसाले रिचार्ज कार्ड किनेर तिनै सिन्डिकेट धारीलाई फोन गर्न सिक्यौँ । धेरै सिक्यौँ । भनेजस्तो नम्बर आएन बन्द र टायर बाल्न सिक्यौँ । भनेका बेला परीक्षा नहुने भो जताततै आगो लगाउन र मुखमा जेजे आयो त्यैत्यै बोल्न सिक्यौँ । पढ्ने बेलामा विचारका नाम र व्यक्तिको सिको गर्न सिक्यौँ।आफ्नो पक्षको मान्छेले गल्ती नै गरे पनि ताली बजाउन सिक्यौँ ।
अन्धभक्त भई फेद न टुप्पाको बाजि मार्न सिक्यौँ।अरुलाई माला लगाई बाबुलाई जिस्काउन िसक्यौँ । अर्धवान बनी आमालाई बृद्धाश्रममा पुर्याउन सिक्यौँ । काम नगर्ने तर कामचोर बन्न सिक्यौँ । एक्काइसौं शताब्दीको भलाद्मी बन्न सिक्यौँ । गर्लफ्रेन्डलाई मम र पिजा खुवाउन बाबुलाई धम्काई धम्काई पैसा पठाइमाग्न सिक्यौँ । व्यायफ्रेन्डका नाममा दाजुभाइ र बाबुहरु बिर्सिन सिक्यौँ ।

कलेजका नाममा विकृति बन्न र बनाउन सिक्यौँ । कपडाका नाममा लफडा बनाउन सिक्यौँ । देख्न र देखाउन सिक्यौँ।रातारात दलाली गर्न सिक्यौँ । दिनदहाडै आफ्नै दिदीबहिनी बेच्न सिक्यौँ । आँखा अगाडि छोरीहरु बलात्कृत भएको टुलुटुलु हेर्न सिक्यौँ।दाजुभाइ मारामार गर्न सक्यौँ । कोही विज्ञका नामले त कोही विज्ञानका नामले लुट्न सिक्यौँ । कोही सुरा र सुन्दरीको पछि लाग्न सिक्यौँ ।
कसैले हातको मोबाइलका भरमा जिन्दगी बनाउन र भत्काउन सिक्यौँ । कसैले किताबको ज्ञानलाई अवसरमा उपयोग गर्न सिक्यौँ त कसैले दिमागी ज्ञानलाई विदेशमा दुरुपयोग गर्न सिक्यौँ ।

कोही शिक्षकका नाममा पढाउन भन्दा विद्यार्थी कुट्न सिक्यौँ। अरुलाई चैँ पढ्न प्रेसर दिने तर आफू कहिल्यै किताब नछुने ढोंगी बन्न सिक्यौँ । कोही शिक्षकका नाममा राजनीति गर्न सिक्ने कोही राजनीतिका नाममा चन्दा माग्न सिक्ने अनि कोही निलो कोटका भरमा टेबल मुनिबाट मात्रै कुरा गर्न सिक्ने । कोही पुलिसको बर्दीमा चोर बन्न सिक्ने कोही सेटिङ् र फिक्सिङ्मा गेम जित्न सिक्ने, कोही पत्रकारका नाममा हावादारी लोकप्रियता कमाउन सिक्ने त कोही वकिलका नाममा मुद्दा जित र हारको खेल खेल्न सिक्ने । त्यसैले त हामीले जोड्न हैन तोड्न र सही कुरालाई मोड्न सिक्यौँ । कमिसन र घुसखोरीका नाममा चोक चोकमा गेदरिङ्ग गर्न सिक्यौँ ।

 

घरमा लोक दोहोरी गाउँदै छमछमी नाच्दै ढिंढो र गुन्द्रक खान बिर्सी डिस्को र क्लब धाउन सिक्यौँ । बुजुरुक बन्नलाई अरुका किताब रातारात सार्रेर सर्जक बन्न सिक्यौँ । गीतको शब्द तोडमोड गरेर लेख्य चोरी गर्न सिक्यौँ।महत्वपूर्ण निर्णयहरु रक्सी र सेकुवामा बेच्न सिक्यौँ । दुख गरेर घरजग्गा जोडेको गरिबको घरजग्गा रातारात आफ्नो नाममा सार्न सिक्यौँ । उस्तै परे प्रतिस्पर्धीलाई गोली हानेर मार्न सिक्यौँ ।

 

वाह! गणतन्त्र , शिक्षक बनेर आएकोमा साधुवाद । सिक्दा सिक्दा अब त नतिजा पनि भाग लाउनी सक्यौँ । हामीले सिकेको कुराको वर्णन गर्न हजार जिब्रा भएको शेषनागले त राजनीति मिलेन भनेर बीचमा छोडिदिन्छ अनि वर्णन पनि अधुरै हुन्छ । यो बबुरोले के हिम्मत गर्नु र !
जय नेपाल । जय नेपाली

लेखक शक्तिराज नेपाल शैक्षिक अनुसन्धाता हुन् ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार