मङ्लबार, असार ३१, २०७६ | Tuesday 16th July 2019

अप्प दिपो भवः बुद्धको अन्तिम उपदेश

अन्ततः भगवान बुद्धले शरीर छाड्ने दिन आयो । यो खबर सुन्ने वित्तिकै चालीस वर्षदेखिसँगै बसेका शिष्यहरु रुन–कराउन थाले । खासगरी बुद्धका सबै भन्दा नजिक रहेर लामो समय बुद्धसँग हिडेका शिष्य आनन्द हायल कायल भए । पिडाले छटपटाउन थाले । उनी रुन थाले ।


ADVERTISEMENT

बुद्धले विस्तारै आँखा खोल्दै भन्नुभयो– “नरोऊ । किन रोएको त्यसरी ?यतिका वर्षसम्म के तिमीले मलाई सुनेनौ ?” आनन्दले आँशु झार्दै भने–“प्रभु कसरी मन थामौं हजुरले हामीलाई छाडेर जाँदै हुनुहुन्छ । अब हाम्रो ज्योति निभ्दैछ । म यतिका वर्षसँग हजुरको साथमा छाँया जसरी रहें तर अझसम्म पनि ‘मुक्त’ हुन सकेको छैन । झन् हजुरले हामीलाई छाडेर गएपछि हाम्रो हालत के होला । मैले चारै तिर निष्पट्ट अध्याँरो हामीतिर खस्दै गरेको देखिरहेको छु ।”

 

अनन्द, मैले धेरै पटक भने मलाई राम्ररी सुन भनेर तर आजसम्म तिमीले मलाई सुनेनौ । बुझेनौ । ऊ त्यहाँ गएर हेरत मन्जुश्रीलाई । ऊ किन रोहीरहेको छैन ? बुद्धले नजिकै रुखको फेद मुनी आँखा बन्द गरेर शान्त एवं प्रसन्न रुपमा बसीरहेका उनका अर्का प्रिय शिष्य मन्जुश्री तर्फ देखाउँदै भन्नुभयो ।

 

आनन्द मन्जुश्रीको नजिकै पुगी कारण सोध्छन् । जवाफमा मन्जुश्री भन्छन–किन रुनु ? के कारण छ र रुन ? भगवानले मलाई मेरो प्रकाश देखाइ दिनु भएको छ । म सँग मेरो आफ्नै प्रकाश छ । मैले जताततै उज्यालो मात्र देखिरहेको छु । म भगवानप्रति कृतज्ञ छु । मलाई म मर्दीन भन्ने थाहा छ । झन् भगवान त कसरी मर्नुहुन्छ र ?उहाँ सधै हामीसँगै रहनु हुनेछ । एउटा खोला समुन्द्रमा गएर विलाएझै उहाँपनि यो व्रहमण्डमा विलिन हुनुहुनेछ । उहाँ यो व्रामण्डको कण–कण हुनुहुनेछ । हिजासम्म भगवान शरीरमा मात्र सीमित हुनुहुन्थ्यो तर अब विशाल रुपले फैलनु हुनेछ । हामीलाई उहाँको सितल छहारी सधै मिलिरहने छ । त्यस कारण किन रुनु? उहाँले खाली शरीर मात्र छाड्दै हुनुहुन्छ । बाँकी त सबै रहनेछ । त्यसको लागि आत्मलाई चिन्नु पर्छ । मैले उहाँलाई सुने र आफ्नो आत्मलाई चिने । तिमीले सुनेनौ उहाँलाई र आत्मलाई चिन्न सकिरहेका छैनौ त्यसैले तिमी रोही रहेका छौ । मन्जुश्रीले कुरोलाई खुलस्त पारे ।

 

केही छिनमा बुद्धले “अप्पदिपो भव”भन्नुभयो अनि आँखाबन्द गरी शरीरलाई छाडी अनन्त व्रामण्डमा विलिन हुनुभयो ।
२५५७औं वर्षअघि यो धर्तीमा अवतरण भएका भगवान बुद्धले दिएको अन्तिम उपदेश हो ‘अप्पदिपो भव’ । मैले सुनेका बुद्धका अनगिन्ती अनमोल उपदेशहरु र मेरा आफ्ना गुरुहरुले सुनाउनु भएको ज्ञानमय वाणीहरु मेरो लागि अत्यन्तै अनमोल भएका छन् । त्यसैको आडमा जीवनले गतिपाएको छ । खास गरी अन्तिम समयमा भगवान बुद्धले दिनु भएको उपदेशले झनै मन छोयो । माथि प्रस्तुत गरिएको भगवान बुद्ध र उनको शिष्य आनन्द विचको मार्मिक संवादले जोकोहीको पनि मन छुन सक्छ । बुद्धले अन्तिम समय दिनुभएको उपदेश ज्यादै महत्वपूर्ण छ ।

बुद्धको यो सन्देश तर्फ एक छिन ध्यान मोडौं । हामी, प्राय धेरै मानिसहरु, अरुकै उज्यालोमा हिडिरहेका हुन्छौं । हामी अरुकै उज्यालोमा वाँची रहेका हुन्छौं । त्यसैमा रमाउँछौं । अनि जुन दिन त्यो उज्यालो निभ्छ वा हामीबाट टाढा हुन्छ त्यस पछि हामी टुक्रिन थाल्छौं । जीवन हठात अध्यारो गुफामा प्रवेश गर्दछ । हामीले बाटो हराउँछौं अनि निराशामा रुमल्निछौं । अर्काको उज्यालोमा मात्र बाँच्द सधैं सबैलाई यस्तै हुन्छ । झन बुद्धको उज्यालोमा बाँचेका आनन्दलाई कस्तो भयो होला?त्यस कारण जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा आफ्नै उज्यालो आफैं निर्माण गर्नु हो । आफुलाई प्रकाशमय बनाउनु हो । गुरुको साथ छँदै यो अवसरलाई प्रकाश निर्माण गर्ने कार्यमा लगाउनु पर्छ । त्यसैले बुद्धले भन्नुभयो आफ्नै प्रकाशमा बाँच ।

 

के हो त त्यो प्रकाश? निश्चित रुपमा प्रकाश भनेको आत्मज्ञान हो । एउटा त्यस्तो ज्ञान जसले आफुलाई चिनाउन मद्दत गर्छ । हामी धेरैको समस्या भनेको नै आफुलाई चिन्न नसक्नु हो । हामीहरु त्यो कस्तुरी हौँ जो आफ्नो शरीरबाट प्रस्फुठित भइरहेको सुगन्ध चिन्न नसकेर वनवन सुगन्धको खोजमा तडपिन्छौंर जीवनलिला समाप्त पार्छौं। मानिसहरुलाई अरुको बारे धेरै कुरा थाहा हुन्छ तर स्वयं आफ्नै बारेमा कम थाहा हुन्छ । कसैले पल्लो घरको मसिने कस्तो मान्छे हो भनेर उसको छिमेकीलाई सोध्यो भने त्यो छिमेकीले मसिनेको तीन पुस्ताको लेखा जोखा बताइदिन्छ । तर उसलाई आफ्नो पुस्ताको केही थाहा हुँदैन ।

 

थुप्रै मानिसलाई आफ्नो पहिरन, लगाउने शैली, वोल्ने शैली, आनीवानी, स्वास्थ, भित्री ज्ञान लगायत धेरै कुरा एक दमै कम थाहा हुन्छ । त्यहीभएर अस्वास्थ्य, निराशा र असफलताले घेर्छ । जुन दिन हामीलाई आफ्नो स्वास्थको होस हुन्छ हामी एकदमै स्वस्थ प्रिय खाना मात्र खान्छौं । पक्कै पनि जथाभावी, जसरी पायो त्यसरी, जहिले पायो तैले केही खाँदैनौ । एउटा विद्यार्थीलाई आफ्नो अध्ययन कस्तो छ भनेर ख्याल हुनेहो भने ऊ जिन्दगी भर कहिले फेल हुँदैन । एउटा शिक्षकलाई आफुले कस्तो पढाउछु, विद्यार्थीले कसरी लिएका छन् भन्ने ख्याल भयो भने ऊ सबैभन्दा प्रभावशाली र प्रिय शिक्षकऊ नै बन्न सक्छ । प्रगतिको जरो भनेको आफुलाई चिन्नुमा रहेछ । र त्यसैलाई बुद्धले आफुलाई प्रकाशमय बनाउ भन्नु भएको हो ।

 

बुद्धले त मोक्ष प्राप्तका लागि आनन्दलाई यो सन्देश दिनु भएको हो । तर हामी संसारीक जीवन यापन गरिरहेकाहरुलाई पनि यो सन्देश उत्तिकै अर्थपूर्ण छ । हामीले आफुलाई चिन्ने प्रयाश गर्यौं भने पक्कै पनि जीवन शान्त, स्वास्थ र संवृद्ध हन्छ । अरुलाई चिन्ने काम बन्द गरेपछि यसै तनाव घट्छ । हामी अरुलाई बढी चिन्ने प्रयास गछौं अनि जानी–जानी तनावको जलथलमा फस्छौं । बुद्धले अन्तिम समयमा दिनुभएको यो वहुमुल्य उपदेशलाई मनन गरौं । हामी सबैले जानेवुझेका ज्ञानलाई बाँढी चुडी लिदै, हाते–मालो गर्दै, आफ्नो प्रकाश निर्माण गर्ने महायात्रामा लागौं । पक्कै पनि कसैको विछोडमा आनन्दझै हामीले विलौना गर्नु पर्दैन । हामी मन्जुश्री झै ढुक्क भएर आनन्द पूर्वक बाँच्न सक्छौ । हाम्रो प्रयास मन्जुश्री बन्ने हुनुपर्छ ।

लेखक विवेक विनयी जुगल स्कूल/कलेजका प्राचार्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार