सोमवार, असार २, २०७६ | Monday 17th June 2019

मापसेसँगै अब लापसे जाँच

३१ वैशाख, जनकपुरधाम ।

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए ।

अब प्रहरीले फेरी मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच ।प्रदेश २ प्रहरीले मादक पदार्थ सेवन ९मापसे० का साथै लागुपदार्थ सेवन गरेर सवारी चलाए नचलाएको जाँच गर्न थालेको हो ।मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि यो अभियान सुरु गरिएको बताउँछन् प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुर पाल ।पालका अनुसार बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे/नगरेको जाँच गरिएको छ ।बारामा ५३ जना र सप्तरीमा १० जना सवारी चालकको पिसाब परीक्षण गरिएको छ । यस क्रममा दुई जनाले लागुऔषध गाँजा प्रयोग गरेको फेला परेको उपरीक्षक पालले बताए ।

उनीहरुलाई दिनभर नियन्त्रणमा लिई जरिवाना तिराएर आगामी दिनमा यस्तो नगर्न सचेत गराएर छाडिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिनेछ ।नार्कोनन नामक संस्थाले ड्रग यूरिन टेस्ट किट प्रदेश २ प्रहरी कार्यालय बारा पथलैयालाई उपलब्ध गराएको थियो । यो किटको प्रयोग गरी लागुऔषध प्रयोग गरे नगरेकोबारे जाँच गरिएको छ । जाँचका क्रममा सवारी चालकहरुलाई एउटा सानो डिब्बा दिँदै त्यसमा पिसाब भरेर ल्याउन भनिन्छ ।ल्याइएको पिसाब किटमा राखेपछि लागुऔषध प्रयोग गरे नगरेको थाहा हुन्छ । ‘यदि कसैले लागुऔषध प्रयोग गरेको छ भने तत्कालै त्यसले देखाउँछ,’ पालले भने, ‘कुन लागुऔषधको प्रयोग गरेको हो त्यो पनि देखाउँछ किटले ।’दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियानको प्रारम्भ गरिएको पालले बताए ।

उनकाअनुसार लापसे जाँच गर्ने किट उपलब्ध गराउन माथिल्लो निकायमा आग्रह गरिएको छ र आउनासाथ आठ वटै जिल्लामा जाँच सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार