बुधबार, साउन ८, २०७६ | Wednesday 24th July 2019

आमाः अर्थ र महत्व

हामी सबैका सामु एउटा सजीव उमङ्ग वा संवेग रहन्छ। सायद त्यो संवेग नै आमा हो।अनि हामी सबैका सामु अमिट खुसीको रेखा तरङ्गिन्छ। सायद त्यो खुसीको बहार नै आमा हो। आमा एउटा नवजात शिशुको जन्मदाता मात्रै हैनन्। आमा भनेको त एउटा बच्चाको अनुभूति, व्यवहार र बच्चाका लागि गरिने कैयौँ सम्झौताहरुको सम्मिश्रण हो।आमा भनेको एउटा असल सन्तानका लागि “अन्कन्डिसनल लभ” पनि हो। त्यसैले हुनसक्छ अङ्ग्रजी लेखक बार्बरा किङ्सल्वरले आमालाई “प्राकृतिक शक्तिभन्दा पनि अटल, निस्वार्थी र शक्तिशाली सम्बन्धको असल उदाहरणका रुपमा लिएकी छिन्।” एउटा सन्तानका लागि आमा भनेको सबैभन्दा नजिकको साथीका रुपदेखि लिएर जिन्दगीको प्रथम शिक्षक तथा मैनबत्ती जस्ती मायालु शक्ति पनि हुन्। उनी एउटी महिला वा आइमाई मात्रै हैनन् हाम्रो गल्तीलाई काँध थापी हामीलाई दोषबाट मुक्त गरिदिने कृतज्ञ पात्रसमेत हुन्। उनी जतिसुकै पीडामा किन नहुन् हामीलाई मुस्कानले हेरचाह गर्ने अलौकिक मायाकी खानी हुन्। हामी रिसाउँदा पनि हाँसेर स्वीकारी कपाल सुम्सुमाउने र काखमा लुटुपुटु पार्ने धैर्य र ममताकी महासागर हुन्। यदि हामी रिसायौँ र उनका कुरा, माया तथा अनुरोधलाई अस्वीकार गर्यौँ भने हाँसीहाँसी स्वीकार गर्ने अतुलनीय भावना हुन्।


ADVERTISEMENT

हामी आमासँग नजिक पर्न चाहेनौँ भने मुस्कुराउँदै शीतल पवनको स्पर्शद्वारा हाम्रो समृद्धिको कामना गर्ने हाम्री भक्त हुन्। आफ्ना सन्तानका लागि आफ्नो खुसी, रहर, ईच्छा तथा चाहनालाई बिर्सिदिने असाध्य साधना हुन्।उनको ममताको साधनाले हाम्रो जिन्दगीमा नै खुसी र सफलताको बर्षा हुन्छ। आमाका सबै आवश्यकता,भावना तथा खुसीहरु आफ्ना सन्तानको मुहारमा पाइन्छ।त्यसैले त कवि रड्यार्ड किप्लिङ् लेख्छन् “ईश्वर सबैतिर पुग्न सक्दैनन् त्यसैले ईश्वरले पनि आमाको सृजना गरे ।” आमाले आफ्नो मुटु रित्याएर आफ्ना सन्तानको मन र मस्तिष्कमा समान माया र स्नेह भर्छिन्। त्यसैले त भनिन्छ ममताभित्र मायाको सुरु तथा अन्त्य एकैठाउँ हुन्छ।

एउटा भर्खर जन्मेको नाबालक पनि जन्मनेबित्तिकै स्तनपान गर्न खोच्छ वा रुन थाल्छ। जसको मतलब उसले ममता खोजिरहेको हुन्छ। आमाका हातका औँलाहरु समात्दै भुइँमा घस्रिरहेको बालक उभिन सिक्छ।। चाहे फुटेर चर्चरी भएका आमाका पैतालाहरु हुन् त्यस्तै पैतालाहरुलाई पछ्याउँदै बालक आफ्नो सुकोमल पैतालालाई भुइँमा कुदाउँछ र भविष्यको यात्रा तय गर्नसक्ने हुन्छ। यतिखेर आमा सबैभन्दा खुसी बन्छिन् जतिबेला आफ्नो सन्तान असल र सफल बन्न सक्तछ र उनी आफ्ना फुटे्ेर रगत बगेका पैताला र हत्केलाहरु बिर्सिन्छिन्। त्यसैले हुनसक्छ कवि भिक्टर ह्युगो लेख्छन् “एउटी आमाका पाखुराहरु दयाले भरिएका हुन्छन् र त बच्चाहरु आमाका पाखुराको सिरानीमा आनन्दले निदाउन सक्छन्।” आमाको छातीमा घुस्रिएर निदाको बालक हतपत त्यो निद्राबाट बिउँझिन चाहाँदैन।किनकि आमाको काखले संसार नै बिर्साउँछ।

आमा भोकै हुँदा पनि सुरुमा आफ्नो बच्चालाई सम्झिन्छिन्। आफ्नो अगाडि खानेकुरा हुँदा पनि पहिले बच्चालाई राख्छिन् र पुग्यो भनेमात्र आफू खान्छिन्। आफ्नो बच्चाका अघि आमा कहिल्यै हार मान्दिनन्। निराश हुन्नन्। सधैँ आँटिली वा साहसी देखिन्छिन् र बच्चाहरुलाई हौस्याइरहन्छिन्। कहिल्यै आफ्ना सन्तानलाई तिमी कमजोर छौ, बिकल्पबिहीन छँौ, हामी समस्यामा छौँ,अब केही गर्न सम्दैनौ भनी कमजोर अनुभूति दिलाउँदिनन् बरु हामी मजबुत छौँ, सशक्त छौँ र हामी नै गर्न सक्छौँजस्ता साहसी माहोल बनाउँछिन्। हामीसँग केही पनि छैन, हामी अलि अबुझ र अवाक छौँजस्ता निराशावादी कुरा एउटी आमाले कहिल्यै गर्दिनन्। जे जसरी भए नि हामीसँग सबैथोक छ र हामी नै यहाँ बुद्धिमानी र ज्ञानी बन्नुपर्छ भनी सधैँ सन्तानका पक्षमा बोल्ने र काम गरिरहन्छिन्। त्यसैले महामानव महात्मा गान्धीले “बरु नक्कली सुनलाई कसी लगाएर असली सुन बनाउन सकिन्छ तर कसैले आफ्नी आमालाई सोचेजस्तो बनाउन सक्दैन ” भनी लेखेका छन्। वास्तवमा सही हो हामी आमालाई हामीअनुकूल बनाउन सक्दैनौँ किनकि हामीले आमालाई हामीजस्तो बनायौँ भने आमाको मौलिकता पाउन सक्दैनौँ। आमाको आमापन पाउन सक्दैनौँ। ममताको कृत्रिमताझैँ महशुस हुन्छ। त्यसैले हामी कोही पनि आमालाई बनाउन सक्दैनौँ र बनाउनु पनि हुँदैन्।। आमा त ईश्वरीय वरदान हुन्। जसलाई कोमल ह्रदय , निश्चल मस्तिष्क र अबोधपनले मात्र वास्तविक रुपमा प्राप्त गर्न सकिन्छ।

महान लेखक मेक्सिम गोर्कीले लेखेका छन् “आमाले मात्र सन्तानको भविष्यका बारेमा सोच्न सक्छिन् किनभने सन्तानलाई आमाले नै जन्माएकी हुन्छिन् र सन्तानको भविष्य देखेकी हुन्छिन्।” वास्तवमा सन्तानका बारेमा केही बोल्ने तथा सोच्ने अधिकार आमाको मात्र हुन्छ। आमाको मन नै सम्झौतामुखी हुने भइसकेपछि आमाको सोचाइ सन्तानका लागि अग्रगामी हुन्छ। विकासको सिद्धान्तअनुसार हेर्ने हो भने र विकासवादी सिद्धान्तले साँच्चिकै काम गर्छ भने आमाका हातहरु किन दुइवटा मात्र बने त ? किनकि उनी त सन्तानको लोलीबोलीदेखि सङ्घषर््ासम्म हातमा समातेर अघि बढाउने हिम्मत कस्ने मान्छे हुन् । कुनै पनि आमाहरु हात्तीको लक्ष्य बोकोबाट पूरा गर्न चाहाँदैनन्। एउटी आमा आफ्नो सन्तान बढ्दैबढ्दै एक्कासी राष्ट्रपति बनेको देख्न चाहान्छिन् तर राजनीतिको घिनलाग्दो खेलसँग खेलाउन चाहान्नन् किनकि उनलाई आफ्नो सन्तान अरुको भन्दा अब्बल र स्तरीय नै लाग्छ। त्यसैले त आमा सबैका लागि आदर्श बन्छिन् ।

एउटा अटुट सत्य के हो भने हाम्रो उमेर जतिसुकै होस्,हाम्री आमाको उमेर जतिसुकै पुगोस् , हामी हाम्री आमालाई चाहान्छौँ। आमाको काखमा रमाउन चाहान्छौँ। आमाको ममताको स्पर्श अनुभूत गर्न चाहान्छौँ, अतः यही त हो आमासँगको शक्तिशाली सम्बन्ध। आमाले आफ्ना हरेक दुखाइमा सन्तान सम्झिन्छिन्। सन्तानका हरेक दुखाइमा दुखी हुन्छिन्। हाम्रो शरीरमा चोट लाग्दा आमाका आँखाबाट आँसु बग्दछन्।हामी खतरामा परेका बेला आमाको ढुकढुकी बढ्छ। हामी आरामले निदाएको देख्दा आमा खुसीका सपना देख्छिन्।यदि हामी एकछिन बिरामी भयौँ भने हामीलाई हरदम ख्याल गरिराख्छिन र छेउमा बसेर ममताको सुगन्ध छरिराख्छिन्। त्यसैले “आमा त उनका सन्तानका लागि सबथोक हुन् र उनी बिकल्पबिहीन संसार हुन” भनी लेखक अलि फजलले लेखेका छन्। आफ्ना सन्तानका लागि काम गरेर नथाक्ने आमा नै वास्तवमा सन्तानका लागि नमुना वा आदर्श हुन्छन्।

आमाको कुनै जात हुँदैन न त धर्म नै हुन्छ। उनी कुनै सीमामा बाँधिएकी हुन्नन्। किनकि उनीसँग आफ्नै संस्कारको लाइन हुन्छ। उनको परिचय नै आमा भएकाले सबैकी आमा हुन्छिन्। उनीसँग कुनै सङ्कुचनपन पनि हुँदैन ।

अब आमाको मुख हेर्ने दिन भनेर वर्षको एकदिन मात्रै विशिष्ट बनाउने र अरु दिन आमाको महत्ता थाहा नपाउने हो भने त आमासँगको सम्बन्ध पराइसँगको जस्तो हुन्छ। यो परम्परा पश्चिमा मुलुकमा अमेरिकाबाट मदर्श डेका रुपमा सन् १९०८ देखि मनाउन थालिएको चर्चा पाइन्छ भने हाम्रो पूर्वमा त मातातीर्थ आँैसीका नामको लामो वैदिक तथा लौकिक परम्परा नै पाइन्छ । खैर जहाँबाट सुरु भए तापनि आमाको महिमा वा आमा र सन्तानहरुका बीचको नैतिक र आदर्श सम्बन्धलाई अलि परिष्कृत गर्नुपर्ने देखिन्छ। बाँचुञ्जेल वास्ता गर्न एकदमै कञ्जुस्याइँ गर्ने वा जिन्दगीको बोझ वा डिस्टर्ब सम्झने सन्तानहरु त एउटी आमाका लागि अभिसाप नै बन्छन्। तथापि मातातीर्थ औँसीका नामले भए पनि आफ्नी आमालाई सम्झेर कृतज्ञ हुनु, कर्तव्य ठान्नु र मातृस्पर्शको आवश्यकता बोध गर्नुमात्रै पनि आजका सन्तानहरुका लागि शुभलक्षण ठान्न सकिन्छ। नेपाली संस्कृतिका सन्दर्भमा आमाको मुख हर्ने दिन हिन्दू मिथकसँग जोडिएको भए तापनि आमा कुनै धर्ममा बाँधिन्नन्। धर्मका नामले आमालाई र आफ्नी आमालाई गर्ने श्रद्धालाई विवादित बनाउनु हुँदैन। मातातीर्थ औँसीका सन्दर्भमा धेरै मिथकहरु पाइन्छन्। मातातीर्थ नदीमा गई आफ्नी परमधाम भएकी आमालाई सम्झिने परम्परा छ। जससँग सम्बन्धित एउटा श्लोक छः

स्नात्वा करोतिम य्ः श्राद्धं माघोः कृष्णकुहौ दिने।
वियोग न भवेन्मातुः वार्धक्येपी सुविश्चितम्।।
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै।
ऋणः प्रमुच्यते सद्धो मातृगर्भस्थितोभ्दवै।।

अर्थात् जसले मातातीर्थ नदीमा गएर नुहाउँछ उसले अर्को जन्ममा आमाको गर्भमा बास लिनुपर्दैन। उसले मान्छेको जीवनबाट तृप्ति लिन्छ र मोक्ष प्राप्त गर्दछ। मातातीर्थको सुरुवात परमधाम भएकी आमालाई सम्झिने दिनका रुपबाट भए तापनि आफ्नी आमाप्रति श्रद्धा गर्ने,मिठोमिठो सगुन खुवाउने,भेट्न जाने संस्कारले आमा र सन्तानका बीचमा भावनात्मक र संवेगात्मक सम्बन्धको निरन्तरता दिएको छ। हुन त वर्षमा एकदिनको उपहार र सम्झनाले मात्र आमा र आमाको ह्रदय खुसी हँुदैन। आमाका लागि आफ्ना छोराछोरी वरिपरि नै हुनुपर्छ। सँगसँगै रहनुपर्छ।आमाको आप्mनै हातले खान दिनुपर्छ । तर आमाको मुहारमा खुसी ल्याउने काममा टाढिएको सन्तानका लागि भने आमा सधैँ प्रार्थना गरिरहन्छिन्।अनि खुसीले भरिएको सन्तानको अनुहार हेर्न बाटो हेरिरहन्छिन्। सन्तान टाढिँदा दुःख त मान्छिन्, एक्लै चुलो बाल्छिन् , कुटो खन्छिन् ,डोको बोक्छिन् तर सन्तानको समृद्धिका लागि उनी यस्तै अनगिन्ति सम्झौताहरु गरिरहन्छिन्। तसर्थ आफ्नी आमाको मन दुखाउने काम कसैले नगरौँ। राष्ट्रमा असल काम गरेर नाम कमाएमा आमा खुसी हुन्छिन्। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीः। आमातीर्थ औँसीको सबैलाई शुभकामना!

(लेखक शक्तिराज नेपाल शैक्षिक अनुसन्धाता हुन् ।)

प्रतिक्रिया

सम्बन्धित समाचार