बिगुटार विकास फाउन्डेसनद्धारा स्वास्थ्य उपचार तथा दैवी प्रकोप उद्धार कोषको स्थापना

काठमाडौँ ।
बिगुटार विकास फाउन्डेसनले स्वास्थ्य उपचार तथा दैवी प्रकोप उद्धार कोषको स्थापना गरेको छ ।
बिगुटार विकास फाउन्डेसन तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वास्थ्य उपचार तथा दैवी प्रकोप उद्धार कोषको स्थापना गरिएको हो ।
देउसी, भैलो कार्यक्रम एवं स्वदेश तथा विदेशमा रहेको मनकारी दाताहरुको सहयोगबाट संकलित रकमबाट चैत्र १ र २ गते ओखलढुङ्गा जिल्लाको सिद्धीचरण नगरपालिका वडा नम्वर ७ (बिगुटार) मा बृहत निःशूल्क स्वास्थ्य सिविर सम्पन्न गरिसकिएको र जसबाट बाकि रहेको रकम दुई लाख छैसाठी हजार छ सय छैसाठी रुपैया कोषमा जम्मा गरि कोष स्थापना गरिएको अध्यक्ष गिरी राज दाहालले बताउनु भयो । सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा स्वास्थ्य उपचार गर्न नसकेका गरीब तथा असाहय, बिपन्न, सामाजिक र आर्थिक रुपले पछाडी परेका दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, सिमान्तकृत बर्ग या कुनै पनि प्राकृतिक तथा दैबी प्रकोपमा परी आपतकालिन अवस्थामा रहेका नागरिकहरुको घाउमा मल्हम पट्टी लगाउन संस्थाको जोड रहने दाहाल भन्नुहुन्छ ।

बृहत निःशूल्क स्वास्थ्य सिविरमा बोल्दै सिद्धीचरण नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष बम बहादुर राईले बिगुटारबाट काठमाडौँलाई कर्मभुमी बनाएका बसेका बिगुटारबासीहरुबाट सञ्चालित बिगुटार विकास फाउन्डेसनले गरेको सामाजिक गतिविधिको प्रशंसा गर्दै यस्ता सामाजिक काममा अग्रसर भई लागिरहनका लागि उर्जा मिलिरहोस् भन्ने कामना समेत व्यक्त गर्नुभएको थियो ।

बिगुटार विकास फाउन्डेसनको पहलमा यस अघि पनि बिभिन्न ३ वटा शैक्षिक कोष तथा छात्रवृद्धि कोष स्थापना भइसकेको सचिव नेत्र दाहालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार