बिहिबार, अशोज ३०, २०७६ | Thursday 17th October 2019

नेपाली भाषा बिगार्नेलाई अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्षको चेतावनी

कीर्तिपुर, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको दोस्रो साधारण सभा तथा भाषा दिवस कार्यक्रम शुक्रवार भव्य समारोहका बिच त्रि.वि. कीर्तिपुरमा सम्पन्न भएको छ ।


ADVERTISEMENT

सञ्जालका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सञ्जालका महासचिव तथा त्रि.वि.का सहप्रा.डा. लक्ष्मणप्रसाद गौतमले कार्यक्रमको सुरुआतमै “नववर्ष २०७६ को शुभकामना व्यक्त गर्दै अबका दिनमा कहीँ कतैबाट नेपाली भाषामाथि आक्रमण नहोस्” भन्ने कामना व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्यका राख्दै सञ्जालका वरिष्ठ उपाध्यक्ष तथा त्रि.वि.का सहप्रा.डा. भरतकुमार भट्टराईले भाषा दिवस मनाउनुपर्ने सन्दर्भबारे प्रस्ट पारे । उनले भने, “नेपाली भाषालाई जसरी मन लाग्यो त्यसरी नै प्रयोग गर्ने अराजक प्रवृत्ति बढ्दै गएको र स्वार्थका पछि लाग्ने तथाकथित झुण्डको भनाइमा लागेर नेपाल सरकार शिक्षा मन्त्रालय र सम्बन्धित निकायबाट गरिएको नेपाली भाषामाथिको अराजकताका विरुद्ध लड्दै सञ्जालले २०७४ साल चैत २९ गते तिनलाई घुँडा टेकायो र मानक नेपाली भाषाका पक्षमा हुबहु लाग्न बाध्य पा¥यो । त्यही दिनलाई सञ्जालले भाषा दिवसका रूपमा मनाउने अभियान सुरु ग¥यो ।”

सञ्जालका अध्यक्ष तथा मानक नेपाली भाषा अभियानका प्रमुख अभियन्ता प्रा.डा. लुइटेलले सञ्जालका उपलब्धिमाथि प्रकाश पार्दै भने, “नेपाल प्रज्ञा प्रतिष्ठानले अमानक नेपाली वर्णविन्यास प्रयोग गरी प्रकाशन गरेको ‘नेपाली बृहत् शब्दकोश’ लाई खारेज गर्न लगाई मानक नेपाली वर्णविन्यासको प्रयोग गरी पुनः प्रकाशित गर्न बाध्य पार्नु, त्रि.वि. अनिवार्य नेपाली शिक्षण निर्देशिकालाई खारेज गर्दै मानक नेपाली भाषाको प्रयोग गर्न लगाउनु, ‘सबैको नेपाली’ मानक नेपाली वर्णविन्यास अनुरूप छाप्न लगाउनु, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रका मातहतमा छापिने विद्यालय तहका देवनागरी लिपिमा लेखिएका सबै विषयका पाठ्यपुस्तकमा मानक नेपाली वर्णविन्यास अनुरूप छाप्न लगाउनु तथा सोहीबमोजिम छापिनु, कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय १००/१०० पूर्णाङ्कको राख्न बाध्य पार्नु र सोहीबमोजिम कार्यान्वयन गर्नु–गराउनु तथा मानक नेपाली भाषा अभियानमा नेपाल सरकार, शिक्षा मन्त्रालय तथा अन्य सम्बन्धित निकायसमेत झुक्न बाध्य पार्नु आदिलाई हामीले महत्वपूर्ण प्राप्तिका रूपमा लिएका छौँ ।”

शिक्षा मन्त्रालयले अमानक नेपाली वर्णविन्यास प्रयोगमा गरेको गम्भीर गल्ती विरुद्ध सञ्जाल आक्रमक तरिकाबाट लागेपछि २०७४ साल चैत २९ गते पुनः सञ्जालको रोहबरमा आफ्ना गल्तीलाई सच्याउँदै मानक नेपाली वर्णविन्यास प्रयोग गर्ने निर्णयमा हस्ताक्षर गरेको दिनलाई नेपाली भाषा आन्दोलनमा ऐतिहासिक दिनका रूपमा लिँदै सञ्जालले उक्त दिन ‘भाषा दिवस’को रूपमा मनाउन थालेको अध्यक्ष प्रा.डा.लुइटेलले प्रस्ट पारे ।

प्रा.डा.लुइटेलले भने “भाषा आन्दोलन आवश्यकताले जन्माएको हो र ।भाषा दिवस मनाउनु नेपाली भाषाका प्रयोक्ताका निम्ति दुर्भाग्यपूर्ण कुरा हो । भाषामाथि चलखेल गर्ने, अराजकता फैलाउने र सुराकी गर्दै भाषाको अस्तित्व मेट्न खोज्ने जो कोही सञ्जालको विशेष निगरानीमा पर्नेछन् र यसका  निम्ति सञ्जाल कडा चेतावनी दिन्छ । त्यस्ता कुतत्वको अस्तित्व चाँडै समाप्त हुनेछ ।”

लुइटेलले थपे, “हाम्रो यो अभियान दुर्भाग्यपूर्ण स्थितिमा थालिएको भए तापनि यसले जुन गति लिएको छ, जुन उपलब्धि हासिल गरेको छ, यो सञ्जालका लागि मात्र नभई नेपाली भाषालाई माया गर्ने र यसको अस्तित्वलाई जोगाउन चाहने नेपाली भाषाका प्रयोक्ता सबैको साझा हित र जितको यात्रा हो । यसले २०६६ साल यता सरकारका तर्फबाट तथा विभिन्न जिम्मेवार सङ्घसंस्थाबाट गरिएका मानक नेपाली भाषामाथिको अराजक गतिविधिलाई अन्त्य गर्दै मानक नेपाली भाषा स्थापनामा महत्वपूर्ण योगदान दिएको छ । भाषा हाम्रो पहिचान भएकाले यसलाई जोगाउनु हाम्रो दायित्व हो ।”

प्रा.डा. लुइटेलले भावी योजना प्रस्तुत गर्दै भने, “सञ्जालको आगामी योजना हरेक मन्त्रालयमा कम्तीमा एक जना नेपाली भाषा विशेषज्ञ राख्न आवश्यक कदम चाल्ने, लोकसेवा आयोगबाट लिइने परीक्षाहरूमा नेपाली विषय अनिवार्य रूपमा समावेश गर्न कदम चाल्ने, त्रि.वि.का विभिन्न सङ्कायमा अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गर्न कडा कदम चाल्ने, सरकारी निकायमा प्रयोग गरिने साइनबोर्ड, पत्राचार आदिका साथै इम्बोस्ड नम्बरमा मानक नेपाली भाषा र देवनागरी लिपिको प्रयोग गर्न लगाउने र यसको कार्यान्वयन पक्षमा विशेष जोड दिने, नेपाली विषय शिक्षक सञ्जाल गठन गर्ने आदि रहेका छन् । यसका निम्ति सञ्जाल सम्बन्धित पक्ष्ँसँग निरन्तर छलफल गर्दै अगाडि बढ्नेछ ।”

कार्यक्रममा सञ्जालका सल्लाहकार, त्रि.वि. नेपाली विभागका विभागीय प्रमुख, नेपाली भाषा शिक्षण समितिका अध्यक्ष एवं वरिष्ठ प्रा.डा. देवीप्रसाद गौतमले ‘नेपाली भाषाको मानकीकरण किन ?’शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै मानकी करणको प्रभाव सबैभन्दा धेरै सञ्चार क्षेत्रमा पर्ने हुँदा यसतर्फ सम्बन्धित पक्षले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए । मानकीकरण किन भन्ने प्रश्नको जवाफमा गौतमले भने, “शुद्धता कायम गर्न, स्वीकार्यतालाई ध्यान दिन, अधिकांश प्रयोग पहुँचका लागि तथा लेख्या रूपमा स्थिरीकरण आदिका लागि मानकीकरण आवश्यक पर्दछ ।”

कार्यक्रममा सञ्जालको दोस्रो साधारण सभाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्जालका महासविच एवं कार्यक्रमका सञ्चालक सहप्रा.डा. लक्ष्मणप्रसाद गौतमले सञ्जालले यस वर्ष महत्वपूर्ण केही कार्य सम्पन्न गरेको र आगामी दिनका लागि थप कार्य योजना तय गरेको र छिट्टै त्यसले महत्वपूर्ण उपलब्धि हासिले गर्ने दाबी गरे । उनले भने, “राष्ट्रिय परीक्षा बोर्डद्वारा २०७५ मा सञ्चालित कक्षा ११ को नेपाली विषयका साथै देवनागरी लिपिमा अन्य विषयका प्रश्नपत्रहरूमा अमानक वर्णविन्यासको प्रयोगका बारेमा सञ्जालले कडा चेतावनी दिँदै राष्ट्रिय सञ्चार माध्यम मार्फत त्यससम्बन्धमा क्षमायाचनासहित पुनः मानक नेपाली वर्णविन्यासको प्रयोग गर्न बाध्य पा¥यो । यसै गरी सञ्जालकै निरन्तर दबाब र निगरानी स्वरूप नेपाल प्रज्ञा प्रतिष्ठानबाट मानक नेपाली वर्णविन्यास प्रयोग गरिएको ‘नेपाली बृहत् शब्दकोश’ २०७५ प्रकाशन गर्न सफल भयो ।”

गौतमले सञ्जालको नवीकरण प्रक्रिया पूरा भइसकेको कुरा उल्लेख गर्दै भावी कार्ययोजनालाई लक्षित गर्दै भने, “हामी छिट्टै लोकसेवामा नेपाली विषयलाई अनिवार्य गराउने कार्यदिशातर्फ अग्रसर भइरहेका छौँ र यसका लागि लोकसेवाका अध्यक्ष र सञ्जालका अध्यक्षबिच निरन्तर सम्पर्क भइरहेको छ । यसका साथै कक्षा १० सम्मका पाठ्यपुस्तकहरूमा मानक नेपाली वर्णविन्यास अनुरूप छापिँदै गरेकाले तिनमा निगरानी बढाउने र कार्यान्वयन गराउने, त्रि.वि.का अन्य सङ्कायमा पनि प्रयोजन परक नेपाली विषयलाई समोवश गराउने लगायतका कार्यक्रमहरू सञ्जालले अगाडि बढाइसकेको छ ।”

सञ्जालको वार्षिक आय व्यय विवरण प्रस्तुत गर्दै सञ्जालका कोषाध्यक्ष तथा त्रि.वि.का सहप्रा.डा. नारायण गैरेले सञ्जालका गतिविधिका लागि चाहिने आर्थिक जोहो सञ्जालका आजीवन सदस्य, कार्यकारी सदस्य तथा साधारण सदस्यबाट प्राप्त भएको कुरा व्यक्त गर्दै कहीँ कतैबाट आर्थिक सहयोग नलिइएको कुरा उल्लेख गरे । कार्यक्रममा महासचिव तथा कोषाध्यक्षद्वारा प्रस्तुत गरिएका प्रतिवेदनका साथै सञ्जालका आगामी कार्ययोजनाका सन्दर्भमा बोल्दै रामकृष्ण चालिसे, केदार दाहाल, केशव सिग्देल, दिनेश घिमिरे, घनश्याम पौडेल, राजिन पनेरू, शक्ति नेपाल, सन्तोष कार्की आदिले मानक नेपाली भाषायुक्त पकेट शब्दकोश निर्माण गर्नुपर्ने, अङ्ग्रेजी विषयबाहेक अन्य विषयको प्रश्नपत्रमा नेपाली माध्यमबाट पनि प्रश्नपत्र निर्माण गरिनुपर्ने, मानक नेपाली भाषामा एप्स निर्माण गर्नुपर्ने, नेपाली विषय शिक्षक मञ्चको स्थापना गर्नुपर्ने आदि सुझाव दिएका थिए ।

समग्र कार्यक्रम प्रतिवेदकका रूपमा उपप्रा. ज्ञानु अधिकारी, उपप्रा. राजिन पनेरू, उपप्रा. ईश्वरा ओझा र उपप्रा. गोविन्दप्रसाद लुइटेल रहेका थिए । प्रतिवेदकद्वारा प्रस्तुत प्रतिवेदनलाई सञ्जालले प्रकाशित गर्ने ग्रन्थमा समावेश गरिने कुरा सञ्जालका प्रा.डा. अध्यक्ष लुइटेलले जानकारी दिए ।

कार्यक्रममा सञ्जालका कार्यसमिति सदस्य लीला लुइटेलका साथै पूर्व सिडियो तथा साहित्यकार युवराज मैनाली, प्रहरीका वरिष्ठ अधिकृत विद्याप्रसाद घिमिरे, अङ्ग्रेजी विभागका उपप्राध्यापक केशव सिग्देल, महेश पौड्यालका साथै विभिन्न पेसा–व्यवसाय, विभिन्न विषयका प्राध्यापक, विद्यार्थी, पत्रकार, साहित्यकार, कर्मचारी तथा मानक नेपालीका प्रयोक्ताको व्यापक उपस्थिति थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष लुइटेलले मानक नेपाली भाषा अभियानलाई हृदयबाट मन पराउने तथा यस अभियानमा जोडिन चाहने जोकोहीलाई सञ्जालको ढोका खुला रहेको तर कसैलाई आइज भनेर नभन्ने कुरा उल्लेख गर्दै उनले भने, “रत्नकारलाई पनि हामी वाल्मीकि बनेमा स्वीकार गर्न सक्छौँ तर रत्नकार नै बनेर डकैत गर्नेहरूलाई कुनै पनि हालतमा छोड्ने छैनौँ । सामाजिक सञ्जालबाट सुरु भएको हाम्रो अभियान अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न सहयोग गर्नुहुने मिडियाका साथीहरू, प्राध्यापक साथीहरू, सुरक्षा निकायका साथीहरू, विद्यार्थी–कर्मचारी मित्रहरू, मानक नेपाली भाषाका प्रयोक्ताहरू र तिनै अराजक तत्वलाई पनि विशेष धन्यवाद !”

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार