आइतवार, अशोज ५, २०७६ | Sunday 22nd September 2019

अबको स्कुल शिक्षा मुटु कि मस्तिष्क प्रधान ?

मुख्यरुपमा मानिसहरु दुईवटा कन्ट्रोल रुमबाट संचालित हुन्छन्ः मस्तिष्क र हृदय । मानिसलाई संचालन गर्ने यिनै प्रधान टावरहरु हुन ।पश्चिमले मस्तिष्कको उदेक लाग्दो गरी विकास गरेको छ । पूर्वले हृदयको उस्तै गरी विकास गरेको छ । पश्चिमको संस्कृति विज्ञानमय छ । पूर्वको संस्कृति आध्यात्ममय छ । यति हुँदा हुँदै पनि पूर्व र पश्चिममा यी दुबै धारहरुलाई समिश्रण गरी अगाडि बढ्ने अर्काे तेस्रो धार पनि विद्यमान छ ।
सामन्यतय मस्तिष्कले सृजनाको विउ दिन्छ । नाफा नोक्सन वा भनौ गुण अवगुण लगायतका कुराहरुको गणना गर्छ । सकारात्मक वा नकरात्मक लगायतका कुराहरुको हिसाबकिताब गर्छ । विचारको विउ दिन्छ ।
अर्काे तर्फ हृदयले करुणाको फूल दिन्छ । यहाँपवित्र प्रेमको गंगा वग्छ । स्नेह, वात्सल्यता तथा परानूभूतिका कर्णप्रिय धुनहरु यहाँ गुन्जायमान हुन्छन् । आत्मवोधको दियो वल्छ ।
पश्चिमले अलवर्ट आइन्स्टाइन, ग्यालिलियो, ग्रामवेल, न्यूटन, थोमस अल्व एडिसन लगायत संसार हल्लाउने महानतम वैज्ञानिक (मस्तिष्क) हरु दिए ।संसारलाई विज्ञानका अपत्यारिलो अविस्कारका उपहारहरु दिएकाछन् ।भौतिक संवृद्धिको विशाल संरचना खडा गरेको छ । आनन्दमय जीवनको आधार विज्ञान हो भन्दै आफ्ना अविष्यकारहरु निरन्तर अघि सारीरहेका छन् ।
पूर्वले ओशो, महाविर, वुद्ध, कविर, नानक, पतान्जली जस्ता महानतम करुणा (हृदय) का महारथी महामानव दिए । मानिसमा अभूतपूर्व परोपकार तथा दयाको संचार गराए । आध्यात्मको विशाल रुप निर्माण गरे जसले मनुष्य जातीलाई आत्मज्ञान नै आनन्दमय जीवनको एक मात्र आधार हो भन्ने सन्देश दिइरहेका छन् । अरुलाई होइन आफैंलाई चिनौं भन्दै आध्यात्म पनि निरन्तर अघि बढीरहेको छ ।
यसरी यो पृथ्वीको सागरमा दुइ प्रमुख सहित तेस्रो धार गरी जम्मा तीन प्रकारका नाउहरु तैरीरहेका छन् । तर, मस्तिष्क र हृदय एकअर्काको विरोधी र प्रतिष्पर्धी भने होइन । कुनै न कुनै विन्दुमा उनीहरु एक अर्काको हातसमाएर हिहिरहेका हुन्छन् । अझपछिल्लो समयमा एक अर्काको उपयोगको लागि मित्रवद्ध रुपमा गहकिला हातहरु फैल्याइरहेका छन् । पश्चिम यतिखेर हृदयको खोज अर्थात आध्यात्मले पनि महत्वपूर्ण स्थान दिइरहेका छन् भने पूर्वले पनि आध्यात्ममा विज्ञानको प्रयोग गरीरहेका छन् ।
यि दुई धारकका प्रयोग र प्रभाव विश्वको शिक्षा, स्वास्थ, गाँस, वास र कपासमा प्रष्टसँग परीरहेको छ । शिक्षा क्षेत्रलाई मात्र हेर्ने हो भने अहिले मस्तिष्क र मुटु प्रधान शिक्षाहरु देखिन्छन । विश्वका वडेमानको विश्वविद्यालयहरुमा एकसा एक विद्वानहरु मस्तिष्कको उत्खनन् गर्न लागी परेका छन् भने ठूलठूला गुरुकुलहरुमा हृदयको उत्खनन गर्न आध्यात्मिक गुरुहरु लागी परेका छन् ।
यि पृष्ठभूमिमा उभिएर हेर्दा अबको शिक्षा कस्तो हुनुपर्छ भन्ने महत्वपूर्ण प्रश्न हामी माझ आउँछ । हाम्रो देशको शिक्षामा चाँहि को वढीप्रधान छः मिस्तष्क कि हृदय ? यसबारे केही चर्चा गरौं ।
पूर्वीदर्शनको पृष्ठभूमिमा भए पनि नेपालको शिक्षा मस्तिष्क प्रधान छ । हामी पनि मुख्य रुपमा मस्तिष्कको खोजमा लागेका छौं । स्कूलमा हाम्रा विद्यार्थीहरु विहानदेखि वेलुकी सम्म गणित, विज्ञान, कम्प्युटर, सामाजिक, अंग्रेजी, नेपाली लगायतका थुप्रै विषयहरु पढ्न व्यस्त हुन्छन् ।विभिन्न सानाठूला खोजहरु पनि चलिरहेका छन् ।हामी पनि मरिमेटि पढाउँछौं । घोकाउँ छौं । उत्कृष्ट नतिजा ल्याहोस भन्ने हाम्रो र अभिभावकहरुको चहना रहेको हुन्छ । धेरै विद्यार्थीहरुले अरुको त्यो चहाना पूरा पनि गरिदिन्छन् । तर, वास्तवमा उनीहरुको जीवन भने त्यति विग्न सप्रेको छ्रैन वा भनौं आनन्दित हुन सकेको छैन ।
तितो यर्थाथ ओकल्नु पर्छ । अहिले विद्यार्थीहरुमा तह अनुसारको सिप नभएको गुनासो व्यापक छ । हामीले दिएको शिक्षाले विद्यार्थीहरुलाई एक खिली चुरोटबाट रोक्न सकेको छैन । एक फ्वाँक सुर्तीबाट जोगाउन सकेको छैन ।वाउआमा, शिक्षक तथा समाजप्रति उति विग्न कृतज्ञ हुन सकिरहेका छैनन् । कुलतमा फसेका किशोरकिशोरीहरुको संख्या पनि कहाली लाग्दो छ । अध्ययनमा रुची एवं संस्कारको अवस्थामा पनि व्यापक ह्रास आइरहेको जनगुनासो छ्यापछ्याप्ती सुनिन्छ ।
आखिर हाम्रो शिक्षामा के कमी भयो ? किन हाम्रा विद्यार्थीहरु सिपालु, श्रृजनशील, संस्कारयुक्त, शान्त एवं जिम्मेवार भइरहेका छैनन् ?हामी जस्ता शिक्षासेवीहरुको लागि यि प्रश्नहरु ज्यादै महंगा र महत्वपूर्ण छन् । सकारात्मक परिवर्तनको लागि हामीले आफ्नो समझलाई गहिराइमा पुर्याउन आवश्यक छ । हामीले यसको समाधानको उपाय खोज्नु पर्छ । मेरो विचारमा मुटुप्रधान शिक्षा त्यसको एक अचुक औषधी हो । त्यसैले अबको शिक्षा मुटुप्रधान हुनुपर्छ ।
के हो मुटुप्रधान शिक्षा भनेको ?
अहिले हामीले दिइरहेको शिक्षा र तिनको उपलब्धिलाई जोखेर कम्तिमा मेरो निष्कर्ष चाँहिे अबको शिक्षा मुटुप्रधान हुनुपर्छ मस्तिष्कप्रधान होइन । मुटुप्रधान शिक्षा भन्नाले विद्यार्थीहरुको भावात्मक क्षेत्रको विकासमा जोड दिएको शिक्षा हो जसले करुणा, प्रेम, परानुभूति तथा एक जीवन्त निःसर्त महसुसलाई उजागर गर्छ । अहिलेको शिक्षामा बढीमात्रामा नाफा नोक्सान, फाइदा वेफाइदाको गीतहरु बजीरहेका छन् । तर,यसो भनि रहँदा मस्तिष्कलाई छाड्ने भन्ने विल्कुलै होइन । यसलाई एक सूत्रको रुपमा हेर्न सकिन्छ ।
अघि अघि मुटु पछि पछि मस्तिष्क । के गर्ने भनेर हृदयलाई सोधौं । कसरी गर्ने भनेर मस्तिष्कलाई सोधौं । संमृद एवं आनन्दमय जीवनको लागि यो एक सूत्र हुन सक्छ । यसमाथि विचार गरौं ।
अहिले जे जति समस्याहरु हाम्रो शिक्षार्थीहरुमा देखिएका छन् त्यसको मुख्य कारण चाँहि हामीले विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा मुटुलाई पढाउन सकेनौं । अर्थात प्रेम, करुणा, मृत्यु वा भनौ पूरापुर अनुभूतिजन्य ९ँभभष्लिन दबकभम०कुराहरु पढाउन सकेनौं । जीवनमा सबैभन्दा बढी वुझ्नुपर्ने कुरा नै प्रेम र करुणा वा भावनाहरु हो । तर, त्यसलाई हामीले कहाँ छोएका छौं र ? मानिसले जीवन्त महसुस गर्न सकेन भने जीवनमा केही परिवर्तन आउँदैन ।तर, यसबारे कुन किताब छ र ? हामीले कहाँ पढाउन पाएका छौं र ? वास्तवमा हाम्रो ध्यान यतातिर गएको छैन । (मैले व्यक्त गर्न खोजेको कुरालाई व्यक्त गर्न नेपालीमा धेरै शब्दहरु पाएँ तर पनि मेरो अर्थ अलि प्रष्ट नहोला कि भनेर बुझ्न सजिलोको लागि यो लेखभरी मैले अंग्रेजी शब्द (FEEL and FEELING) लाई नै नेपालीमा पनि (फिल/फिलिङ) भनेर प्रयोग गर्ने अनुमति चाहान्छु ।)
अहिलेको शिक्षाले विद्यार्थीहरुलाई केवल सोच्न ९त्जष्लपष्लन०तर्फमात्र निर्देशीत गरीरहेको छ । सोचेर मात्र जीवन बद्लिदैन । यो हामी सबैलाई थाहा छ । फिल गर्न सके मात्र जीवन बद्लिन्छ । हामी सबैले यो गर्दिन, त्यो गर्छु । यो छोड्छु । यसरी गर्छु । यता जान्छु । लगायतको बारेमा अनेकौं पटक सोचेकै हो तर जीवन बद्लिएको छैन । हाम्रो कार्यशैली बद्लिएको छैन । जस्ताको तस्तै छ । तर, जुन दिन मानिसले हृदयबाट फिल गर्छ । जुन दिन आफ्नो फिलको कारण आँखा रसाउँछ त्यही दिन जीवनमा बदलाव आउन थाल्छ ।
सिद्र्धाथ गौतमले सोचेको भए दरबार छाड्ने थिएनन् । राजा हुने अवसर, श्रीमती, छोरा, मोज मस्ती जस्ता अनेकौं कुराहरु थिए ।सोचेका भए उनीले कदापि दरबार छोड्थेनन् । राजा हुने अवसर कहाँ हातबाट उम्कन दिन्थे र ?त्यहाँ नाफा घाटाको कुरा हुन्थ्यो । मस्तिष्कले घाटा हुन दिँदैन । तर, उनको त्यहाँ मस्तिष्क भन्दा हृदय प्रधान भएर आयो । उनले हृदयबाट फिल गरे । मान्छे मर्दाे रहेछ । वुढो हुँदो रहेछ । संसारमा दुःख रहेछ । तर, मलाई त केही थाहा रहेन छ । उनलाई गहिरोसँग आफ्नो अवस्थाको अनुभूति भयो । हृदयमा एक उच्च फिलिङको गंगा बग्यो । मस्तिष्क सुन्य भयो।आत्मरतिबाट विउँझिए उनी । तत्क्षण उनले दरबार छाडे ।
हाम्रा वरीपरी पनि हेर्यौं भने थुप्रै त्यस्ता दृष्टान्तहरु पाउन सक्छौं । मानिसहरु फिल्म हेर्दा किन रुन्छन् ? विदेश जाने आफन्तहरुलाई एयरपोर्टमा विदाइ गर्दा त्यतिका मानिसहरुको अगाडि किन रुन्छन् ? यि एक फिलिङको कारण हो । त्यसकारण फिलिङ यति शक्तिशाली हुन्छ । त्यसैले भनिन्छ दिलको अगाडि दिमाग केही लाग्दैन । Feeling is more important than thinking.
अहिले जति पनि हामीले शिक्षा दिइरहेका छौं त्यसले मुख्यरुपमा सोच्नमात्र लगाइरहेको छ । उनीहरुले फिल गर्न सक्ने शिक्षा चाहियो । फिल गराउनु पर्यो । थुप्रै विषयमा कमजोर हुँदा, आनीबानी ठिक नहुँदा, हेन्डराइटीङ राम्रो नहुँदा, वाउआमाको पिडाँ र अभाव देख्दा पनि विद्यार्थीलाई कुनै चिन्ता छैन । केही भावना आउँदैन । वाउआमालाई मेरो पढाइएको बारेमा कस्तो लागेको होला भनेर केही चासो राख्दैनन् । सबैभन्दा दुखको कुरो आफनो जीन्दगीको पनि कुनै चिन्ता छैन । किन ? किनभने उनीहरुले यसबारे फिल गरेका छैनन् । उनीहरुलाई जीवन जीउनुको फिल भएको छैन । उनीहरुले यो सित्तैमा पाएको जीवन प्रकृतिको अनमोल उपहार हो । यसलाई एकखिली चुरोटको धुवाँमा उढाउन हुँदैन, अल्छी गरेर व्यतित गर्नु हुँदैन, समय फर्केर आउँदैन जस्ता महत्वपूर्ण कुराहरको कुनै फिलिङ छैन । तर जब फिल हुन्छ तब उसले सबै कुराहरु बुझ्छ । उसले बाबाआमालाई फिल गर्न सक्यो भने भगवान जस्तै पूज्न थाल्छ । शिक्षकलाई फिल गर्न सक्यो भन्ने भगावन मान्न थाल्छ । हामीले आदर गरेन भनेर भन्नै पर्दैन । फिलिङको विकास भयो भने केही कुराहरु अराउनै पर्दैन सबै कुराहरु आफसे आफ हुन्छ । नदी बगे झैं । हामीले देखेका छौं कि केही विद्यार्थीहरु प्रत्येक स्कूलमा यस्ता हुन्छन कि आफ्नो सारा काम कसैले नभनी आफैं गर्छन । वाउआमा प्रति अगाध प्रेम हुन्छ । वाउआमाको सन्दर्भमा कुनै कुरा गर्यो भने आखाँ ओसिलो बनाउँछन् । यसको मतलब उनीहरुमा फिल गर्ने क्षमताको विकास राम्ररी भएको छ । यो कसैलाई प्राकृतिक रुपमा पनि हुन्छ । तर, धेरैलाई चाँहि विभिन्न तवरले फिलिङको मैदानमा डोर्याएर लैजानै पर्छ ।
एकै छिनलाई गणित, विज्ञान लगायत विषयलाई एकातिर राखेर हामीले विद्यार्थीहरुलाई प्रेमका बारेमा फिल हुनेगरी बुझाउने प्रयास गरौं । करुणको रस चाख्न लगाउँ । परानूभूमिको भाका फिल गराउँ ।अर्थात हृदयलाई उत्खनन् गरौं । शिक्षाशास्त्री वेन्जामिन ब्लूमले पनि सिकाइले विद्यार्थीहरुमा भावात्मक क्षेत्र (Effective Domain)को विकास गर्नुपर्दछ भनेर हृदयलाई जोड दिएका छन् । विद्यार्थीहरुमा परानूभूत गर्ने क्षमता विकास गर्नुपर्छ ।
सरसर्ती हेर्दा संसारमा ज्ञानलाई दुई तरीकाले प्राप्त गर्न सकिने विधि प्रमुखरुपमा अगाडि देखिन्छः कसैले भनेको सुनेर वा हेरेर (Informative Knowledge) सूचनात्मक ज्ञानप्राप्त हुन्छ र अर्काे आफैंले प्रत्यक्ष रुपमा उपभोग गरी वा भनौ अनुभव गरेर (Experience based) ज्ञान प्राप्त गर्न सकिन्छ । वुद्धले जुन ज्ञान पाए त्यो उनी आफै स्वनुभवको धर्तीमा उभिएर पाए । कसैले भनेको वा सिकाएको ज्ञानलाई संग्रह गरेका होइनन बुद्धलाई ।
यदि हृदयलाई खोज्न सकियो भने यस्तो प्रकारको ज्ञान संभव रहेछ ।भारतका सन्त कविरदास त हस्ताक्षर समेत गर्न जान्दैन थिए । विलकुलै निराक्षर । तर उनले दिएका ज्ञान विद्यावारीदी गरेका विद्वानहरुले पनि बुझ्न सकिरहेका छैनन् । कहाँबाट आयो त कविरदाससँग यतिका अथाह ज्ञान ? हामीले बुझ्न आवश्यक छ ।
सत्य के हो भने विद्यार्थीहरुको हृदयको ढोका हामीले ढक्ढकाउन सक्यौं वा भनौ फिल गराउन सक्यौं भने यो संभव रहेछ । त्यसकारण उनीहरुसँग जोडिएका हरेक कुराको गहिरोसँग फिल गराउन सक्नु पर्छ । उनीहरुमा स्कूलप्रति यस्तो फिलिङ् जगाउन सकियोस कि विद्यालय छिर्दा पनि पूर्ण आनन्दित भइ गेटमा ढोगेर भित्र प्रवेश गरुन । कक्षाको संघारलाई ढोगेर भित्र प्रवेश गरुन । एक उच्चतम श्रद्धाको फिल जागोस । आफ्ना शिक्षक र मातापिता सम्झदा पनि आँखा भरियोस । साथीहरुसँग रहँदा उर्जाले भरिउन । एक अभूत पूर्व फिल गराउन आवश्यक छ ।
यति गर्न सकियो भने पक्कै पनि कुनै कुलत वा गलत भन्ने केही रहँदैन । जसरी हामीले विहानदेखि वेलुकीसम्म मस्तिष्क विकासको लागि अहोरात्र खटेका छौं त्यसरी नै हृदयको विकासको लागि पनि केही समय दिऔं । उनीहरु सबैले आफ्ना काम आफैं प्रेम पूर्वक रमाइ रमाइ गर्न सकून । त्यस्तो क्षणको विकासमा जुटौं ।
विद्यार्थीहरुलाईफिलिङ्को कला कसरी सिकाउने त ?
यसको लागि अनेकौं बाटाहरु हुन सक्छन् । त्यसमा पनि सबैभन्दा उत्तम चाँहि आध्यात्म नै हो । आध्यत्म हृदयको अन्वेषण गर्ने एक प्रभावकारी कला हो । मलाई लाग्छ अब हामीले विद्यालयमा आध्यात्मलाई शसक्त रुपमा प्रस्तुत गर्ने वेला आएको छ । आध्यात्मसँग परिचय गर्दै आध्यात्मलाई कसरी विद्यालयमा प्रवेश गराउन सकिन्छ र त्यसले विद्यार्थीहरुमा फिल गर्ने कलालाई कसरी बढावा दिन्छ भन्नेबारे छोटकरीमा कुराकानी गरौं ।
के हो आध्यात्म ?
मेरो बुझाइको आँखिझ्यालबाट चियाउने चेष्टा गर्छु । आध्यात्म भन्ने शब्द हामीले सुनीरहेको शब्द हो । खासगरी धर्मकर्म गर्ने मानिसलाई आध्यात्मिक भनिन्छ । तर, वास्तवमा आध्यात्म त्यो भन्दा धेरै अगाडि जान्छ ।
हामीले सामन्यरुपमा जीवनलाई दुई तवरले बाँच्न सक्छौं । एक शरीरमा मात्र समित भएर (संसारीक जीवन)र अर्काे शरीर भन्दा पर गएर, पराभौतिक रुपमा (आध्यात्मिक) ।
आध्यात्म आफैंले अनुभव गरी आनन्दमय जीवन जीउन सिकाउने एक भिमकाय विज्ञान हो । योग र ध्यानलाई यसको एउटा टुलको रुपमा हेरिएको छ । योग र ध्यान मार्फत हामीले पराभौतिक जीवन अथवा भनौ आध्यात्मलाई बुझ्न सक्छौंं । तसर्थ हामीले सबैभन्दा सहज योग ध्यानलाई स्कूलमा प्रवेश गराउन सक्छौं । आज धेरै स्कूलहरुले यो शुरु पनि गरिसकेका छन् । अब हरेक विद्यालयका संचालक तथा प्रिन्सिपलहरुले आध्यात्मको धेरथोर ज्ञान लिन अति आवश्यक छ ।
विद्यालयमा एक निश्चित योजना बनाएर विद्यार्थीहरुलाई आध्यात्म सिकाउँ जसले विद्यार्थीहरुमा फिल गर्न सक्ने क्षमतालाई विस्तारै विकास गर्दै लैजान्छ । आध्यात्मले विद्यार्थीहरुमा कसरी करुणावान बन्ने, मैत्री भावना कसरी राख्ने, कसरी लोभ, रिस तथा घृणालाई आफ्नो नियन्तत्रणमा राख्ने कलाहरु सिकाउँछ । र विस्तारै उनीहरु आफ्नो जीवनभन्दा पनि परको अर्काे फिलिङको जीवन बाँच्न शुरु गर्न सक्छन् ।
यसको लागि प्रत्येक दिन विहान एसेम्ब्लीबाट भावपूर्ण प्रार्थना गर्न सिकाउँ । कक्षामा प्रवेश गर्ने वित्तिकै सबैलाई २ मिनेटको ध्यान गर्न लगाउँ । विभिन्न प्रवचनका कक्षाहरु राखौं । आध्यात्मिक व्यक्तिहरुसँग बाक्लै सगत गराउँ । जीवनमा सित्तैमा केही प्राप्त हुँदैन । जे चिजहरु हामीसँग छ त्यो प्रकृतिको कृपा हो भन्ने कुरालाई बुझाउँदै सबैप्रति एक भावपूर्ण अहोभाव प्रकट गर्न सक्ने बानीको विकास गरौं । सधै (Wow! Feeling) वाउ फिलिङ् आइरहोस ।हामीले सिकाउँ कि संसारमा लाखौं मासिहरु खान नपाएर मरिरहेका छन् हामीले दिनमा ५ पटक खाना पाएका छौं । त्यसकारण खानाप्रति भावपूर्ण धन्यवाद व्यक्त गर्न सिकाउँ । संसारमा लाखौ मानिसहरु सित आँखा, हात, खुट्टा, वोली छैन तर हामीसँग सबैथोक छ । त्यसप्रति पनि पूरा फिलिङका साथ धन्यवाद दिन सिकाउँ । यहाँको हावा, पानी, आफ्नो कपडा वा आफुसँग भएको सबै चिजहरुको पूरा फिल गरौं । ति नभइदिएको भए जीवन कस्तो हुने थियो होला । कल्पना गरौं । एक सतत् फिल गरौं भन्दै विद्यार्थीहरुलाई फिलिङको दुनियाँमा लैजाउँ । यस्ता कुराहरु हरेक दिन विद्यार्थीहरुलाई दिन सकियो भने विस्तारै उनीहरुमा एक अभूतपूर्व फिल गर्न सक्ने बानीको विकास हुन्छ । त्यसपछि त जीवनले पूर्णरुपमा संवृदि तथा आनन्द जीवनको मार्ग पक्रन थाल्छ ।
अतः अबको शिक्षा मुटुप्रधान हुनुपर्छ । तर, दिमागप्रति पनि माया, सम्मान तथा विश्वास प्रकट गर्दै जीवनको महत्वपूर्ण अंगको रुपमा स्वीकार गर्नुपर्छ । मस्तिष्कको भरपूर प्रयोग गर्नुपर्छ । तर जीवनमा सधैं अघि अघि हृदय र पछि पछि मस्तिष्कलाई राखेर आनन्दमय एवं संवृद जीवन जीउने विद्यार्थी तथा हामीहरु पनि अग्रसर हुनुपर्छ ।
विवेक विनयी बुनपा–१० कपनमा रहेको जुगल इङिलस मिडियम स्कूलका प्राचार्य तथा प्याब्सन काठमाडौँका जिल्ला कार्यसमितिका सदस्य एवं लेखक पनि हुनुहुन्छ ।
प्याब्सन काठमाडौँको पल्लवबाट साभार ।


ADVERTISEMENT

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार