आइतवार, कार्तिक ३, २०७६ | Sunday 20th October 2019

महाशिवरात्रीः आदि योगी पूजा

खासगरी, शिवरात्रीको सन्दर्भमा केही महत्वपूर्ण प्रश्नहरु हाम्रो अगाडि उभिन्छन् ।


ADVERTISEMENT

  • शिव को हुन ?
  • शिवरात्री किन मनाइन्छ ?
  • शिवका चन्द्रमा, सर्प, त्रिशुल, तेस्रो नेत्र, डमरु र साँडेको अर्थ के हो ?
  • किन शिवलाई भाँङ, धतुरो,दुध, दहि, ध्यू,मह र चिनी चढाइन्छ ?

यस पटक यिनै प्रश्नहरुलाई मनथन गर्दै महाशिवरात्री मनाउने तरखरमा छु । तर, यसो भन्दै गर्दा यी जटिल प्रश्नहरुमाथि मनथन गर्ने मेरो विज्ञताको हैसियत छैन । मेरो हैसियत भनेको केवल मेरो उत्सुक्ता र जिज्ञासा मात्र हो । त्यसैको आधारमा यति गाह्रो विषयमा मसी पोख्न कलम समात्न मन लाग्यो । मैले पढेको, सुनेको र मेरो समझको धरातलमा उभिएर केही कुराहरु खोतल्ने भरमग्दुर प्रयास हुनेछ । तर, यो सानो आलेख विद्वान मित्रहरुको लागि शिवदर्शनको प्रस्थान विन्दु भने हुनसक्छ ।

सबैभन्दा पहिला शिव को हुन भन्ने प्रश्नबाट कुरा थालौं । शिव भनेको मानिसको जस्तै आकृति भएका देवता हुन भन्ने आम मानिसको बुझाइ छ । तर, बुद्धपुरुषहरुको कथन मान्ने हो भने हामी सत्यबाट धेरै टाढा छौं । पहिलो कुरो शिव कुनै मानिस जस्तै देखिने देवता वा भनौ भगवान होइनन । शिवको अर्थ शुन्यता हो । ‘शि’ को अर्थ जहाँ सबै कुराहरु समाहित छन् । ‘भ’ को अर्थ करुणको प्रतिक । अर्थात शिवको अर्थ करुणाको प्रतिक जहाँ सबैकुराहरु समाहित छन् । सबै कुरा अटाउने अनि फेरि शुन्यता भन्दा अलि विरोधाभाष जस्तो देखिन्छ । हाम्रो समझलाई अलि विस्तार गरौं । यो ब्रमाण्डमा ९०% भन्दा बढी शुन्यता भएको भनिन्छ ।ब्रमाण्डमा सबैकुराहरु छन् फेरि पनि शुन्यता छ । अझ भनौं मानव शरीरको प्रत्येक एटममा ९९% प्रति शुन्यता रहको सद्गुरुहरु बताउँनुहुन्छ । एटम कसरी निर्माण हुन्छ भन्ने छुट्टै विज्ञान भएपनि त्यसभित्र पनि रित्तो वा भनौं शुन्यता रहन्छ । त्यसकारण शिव एक शुन्यता जहाँ सबै अटाएको छ । यसलाई बुझ्नको लागि हामीले आध्यात्मको भूमिमा पाइल चाल्न आवश्यक छ । अहिले मानिसले जति पनि भगवानहरुको परिकल्पना गरेका छन् त्यो ठ्याक्कै आफ्नो अनुकुल प्रतिमाहरु बनाएका छन् । त्यही प्रक्रियालाई विश्वास गरी मनुष्य आफ्नो जीवन यापन गरीरहेको छ । सत्य जे भएपनि मानिसले एउटा मूर्तिलाई भगवान मानेर पुजे पनि त्यसले जीवनमा सकारात्मक परिवर्तन पनि ल्याएको छ । त्यो सुखद पक्ष मान्नु पर्छ ।

शिवको यो विराट रित्तोपनलाई बुझनको लागि एक अविरल साधनाको आवश्यकता पर्दछ । सद्गुरुहरु भन्नुहुन्छ कि प्रत्येक मुनष्यभित्र शिव हुन्छ । तर, त्यसलाई पत्ता लगाउन सकिरहेको हुँदैन । जुन दिन मानिसले आफुभित्र रहेको विराट शुन्यतालाई पत्ता लगाउँछ उसले शिवलाई प्राप्त गर्छ । उसलाई बुद्धता प्राप्त हुन्छ । जस्तो सिद्धार्थ गौतमले पत्ता लगाए । महाविरले पत्ता लगाए । ओशोले पत्ता लगाए । यो धर्तीमा अनगिन्ति मानिसहरुले यो अनन्त शुन्यतालाई पत्ता लगाए । यहाँ जुन शुन्यताको चर्चा म गर्दैछु यो वास्तवमा शब्दमा उतार्न नसकिने आयतनमा छ । यो एक काँचोकचिलो प्रयत्न मात्र हो । यसले हाम्रो खोजको यात्रालाई सहज बनाउन भने अवश्यक सक्छ । अतः शिव यो धर्तीको हर प्राणीमा मौजुदा हुन्छ । त्यसलाई बुझन भने आवश्यक छ । त्यसलाई अनुभव गर्न आवश्यक छ । हामीले आफ्नो कोशिष जारी राखेमा त्यो प्राप्त गर्न सकिन्छ ।

अर्काे तर्फ शिवलाई आदि योगी, आदि देवता लगायत थुप्रै नामले पुकारीन्छ । आदि योगी अर्थात सबैभन्दा पूरानो योगी । आज यो धर्तीमा जति पनि योगहरु छन त्यसको मुहान भगवान शिव नै हुन भन्ने हो । शिव सबैभन्दा पुरा योगी हुन । उनैले यो धर्तीमा योगको निर्माण गरेका हुन । देवताहरुको पनि देवता, सबैभन्दा पूराना देवताको रुपमा शिवलाई लिइन्छ । यसरी शिवको सन्दर्भमा विधि तवरले चर्चा गरिए पनि जुनरुपमा शिव मार्फत आफ्नो र अरुको भलाई हुन्छ त्यही रुपमा हामीले शिवलाई पूज्न, बुझ्न र श्रद्धा प्रकट गर्न सक्छौं । यो केवल हिन्दुहरुको मात्र वसको कुरो होइन । यो समस्त मुनष्यजातीको भलाईको कुरो हो ।

हामी माझ शिवरात्री किन मनाइन्छ भन्ने अर्काे महत्वपूर्ण प्रश्न छ । अहिले जतिपनि हामीले शिवदर्शनका कुराहरु गर्दैछौं ति दुईवटा बाटो भएर हामी माझ आएका छन् । एउटा चाँहि केही महापुरुषहरुले शिवको अनुभव गरे, उनीहरुले देखे अनि हाम्रो लागि बोलीरहेका छन् । अर्काे, केही मानिसहरुले मनुष्यजातीको सभ्यताको उत्पत्तिसँगै देवीदेवताहरुको प्रतिमा बनाए, एक चलन चलाए, एक परम्परा चलाए र त्यसको परीक्षण विना नै आउँदो पिढीँहरुले त्यसलाई मान्दै गए । पूज्दै गए । यसै सन्दर्भमा यो शिवरात्री पनि शुरु भएको मान्न सकिन्छ । आज धर्तीको कुनाकुनामा मानिसहरु भब्यरुपमा शिवरात्री मनाउँछन् । रातभर मानिसहरु जाग्राम बसेर शिवको पूजाआराधना गर्छन । भनिन्छ कि समुन्द्र मनथन गर्ने वेलामा अचानक कालकुट विष निस्कीयो । सबै देवताहरु डराए । यो खतरनाक विष भएकोले सारा सृष्टि नष्ट हुने डर भयो । भगवान शिवलाई हारगुहार गरे । शिवले यो विष पिए तर, घाँटीमा अड्काएर राखे ।विषको रापले उनको घाँटी निलो भयो । वैद्यहरुले भने यदि शिवलाई निदाउन नदिइकन रातभर जाग्राम राख्न सकियो भने सबै लागि अतिउत्तम र भलो हुन्छ । त्यसकारण सबै मिलेर रातभर शिवलाई विभिन्न नृत्य तथा भावभंगी देखाउँदै भुलाएर राखे । पछिल्लो दिन भगवान शिवले सबैलाई आर्शिवाद दिए त्यसकारण दुष्प्रभावबाट रक्षा गर्ने भगवान शिवको जय जयकार गर्न यो शिवरात्री मनाइन्छ भन्ने भनाई छ । अर्काे तर्फ भगवान शिवको फाल्गुन कृष्ण चतुदर्शीको दिन देवी पार्वतीसँग विवाह भएको भन्ने पनि छ । त्यसकारण शिवप्रति सर्पित गर्दै भव्य पुजा गरी आर्शीवाद लिनको लागि महाशिवरात्री बनाउने गरिन्छ । यो दिन मानिसले आफ्ना सारा कुराहरु विर्सेर एकचित्त भई पूजाआजा गरी भगवान शिवको आराधाना गर्छन । यसो गर्दा मानिसको सम्पूर्ण उर्जा एकतृत भइ पुन्यकर्म तर्फ अग्रसर हुन्छ भन्ने विश्वास छ । नेपालमा यो दिन सार्वजनिक विदा हुन्छ । मानिसहरु पूजा गर्ने, भजन किर्तन गर्ने, सद्भाव साटासाट गर्ने आदि कार्यहरु गर्दछन जसले उनीहरुमा सकारात्मक सोच अझ प्रगाढ हुन्छ । तसर्थ, शिवरात्री जुनसुकै कारणले मनाएपनि यसले मनुष्य जातीलाई अग्रसर हुन उर्जा भने पक्कै दिन्छ ।

त्यस्तै अर्काे प्रश्न छ कि शिवका चन्द्रमा, सर्प, त्रिशुल, तेस्रो नेत्र, डमरु र साँडेको अर्थ के हो ?किन शिवको शरीरमा यस्ता वस्तुहरु देखिन्छन? यो हामी सबैको चियोचार्चाको विषय हो । मानिसले साँच्चै अजिव प्रकारको परिकल्पना गरेका छन् । शिवसँग जोडिएका जति पनि वस्तुहरु छन तिनको केही न केही महत्वपूर्ण अर्थ रहेको पाइन्छ ।
सबैभन्दा पहिला शिवको शिरमा एक सुन्दर चन्दमा देखिन्छ । त्यसको अर्थ पनि व्यापक छ । मनुष्यले आफ्नो मस्तिष्क मार्फत महत्वपूर्ण ज्ञान प्राप्त गर्दछ । मस्तिष्कको प्रयोग विना पनि मानिसले एक उच्च ज्ञानको अनुभुती गर्न सक्छ । त्यसलाई परमज्ञान भनिन्छ । जसको स्रोत रुपमा हृदयलाई लिइन्छ । त्यसकारण शिवको शिरको चन्दमाले त्यही परम ज्ञानलाई इंगित गरेको छ । गुरुहरु वताउनु हुन्छ मानिसले मस्तिष्कको आँखीझ्यालबाट चिहाउँदै त्यो परमज्ञानको दुनियाँमा आफुलाई लैजान सक्छ । त्यसकारण शिवको शिरको चन्द्रमा परमज्ञान तर्फ अघि बढ भनेर मानिसलाई दिशानिर्देश गरिरहेको मानिन्छ ।
त्यस्तै शिवको घाँटीमा सदैव एक सुन्दर सर्पको माला देखिन्छ । त्यसको अर्थ पनि गजबको छ । मानिसले एक समृद एवं आनन्दमय जीवन यापन गर्नको लागि उसमा सदैव एक होसपूर्ण सजगताको आवश्यक पर्दछ । मानिस आफ्नो जीवनमा सधै सजग रहनुपर्छ । प्रगतिको लागि सजकता अति नै महत्वपूर्ण छ । शिवको घाँटीमा शिर ठाडो पारेर तिक्ष्ण आँखाका साथ रहने सर्पले त्यही सहगतालाई जनाउँछ । त्यसले मनुष्यलाई होसियार बन भनिरहेको हुन्छ । हुन पनि हो जीवनको पाइला पाइलमा हामी होसीयार रहनु पर्छ । सजग बन्नुपर्छ । जीवनमा सर्पतत्वको विकास गर्नुपर्छ भन्ने हो ।
त्यस्तै शिवको त्रिशुलको अनेकौं अर्थहरु लगाइएका छन् । मलाई लाग्छ सबैभन्दा बढी शिवको त्रिशुल सबैको चर्चाको विषय बनेको छ । मुख्य रुपमा त्रिशुलका तीन चुच्चोहरु छन जसको अर्थ विभिन्न खाले विपरीत अवस्थालाई सन्तुलित गरी अगाडि बढाउने आदि देवहुन महादेव भन्ने हो । यसलाई कसैले भूत, वर्तमान र भविष्यको प्रतिकको रुपमा पनि अथ्र्याएका छन् । शिव त्रिकालदर्शी हुन । जसलाई त्रिशुलले इंगित गरिहरको हुन्छ भन्ने हो । त्यस्तै त्रिशुललाई जन्म, जीवन र मृत्यको प्रतिको रुपमा पनि लिएका छन् । यि सबै कुराहरु शिवको हात विद्यामान हुन्छन भन्ने अर्थ दिएको पाइन्छ । त्यसकारण शिवको त्रिशुल महत्वपूर्ण अस्त्रको रुपमा लिन सकिन्छ ।
त्यस्तै शिवको नेत्र वा तेस्रो नेत्रको बारेमा धेरै चर्चा गरिरहन आवश्यक छैन । यसलाई हामीले ज्ञानको स्रोतको रुपमा लिएका छौं । तेस्रो नेत्र सम्बन्धी विशेष ध्यान पनि मानिसहरु गर्ने गर्छन । वास्तवमा सम्पूर्ण ज्ञानको स्रोत चाँहि नेस्रो नेत्र वा भनौ शिव नेत्रलाई लिइन्छ । जुन दिन मानिसको शिवनेत्र सक्रिय हुन्छ त्यही दिनबाट उसको मुक्तिको यात्रा प्रारम्भ गर्छ भनिन्छ ।
त्यस्तै हामीले देखेका छौं कि शिवको साथमा सधैं एक डमरु रहने गरेको छ । डमरुलाई एक व्रमाण्डको संकेतको रुपमा लिएको पाइन्छ । व्रमाण्ड एक अनन्त छ । तर, यसमा मनुष्यले केही क्रिया तथा प्रतिक्रिया गर्न सक्यो भने उसले केही अर्थ निकाल्न सक्छ । जीवनलाई सुन्दर बनाउन सक्छ । जस्तो डमरुलाई प्रयोग नगरीकन यत्तिकै छाडियो भने यसबाट केही प्राप्त हुँदैन तर त्यही डमरुलाई तालमा हल्लाउन सकियो भने एक सुन्दर धुन उत्पन्न हुन्छ । एक कर्णप्रिय राग निकाल्न सकिन्छ । यो एक प्रतिक हो । यो व्रामण्डमा हामीले सधैं पाइला चालीरहनु पर्छ भन्ने हो । संस्कृतमा एक सुन्दर कहावत छः चरैवेति चरैवेति अर्थात हिड्दै गर हिड्दै गर । जीवन चलायमान छ । यसलाई हरदम चलाउन आवश्यक छ । डमरु जस्तै जीवनलाई बझाउन आवश्यक छ । त्यही संकेत हामीले शिवको सुन्दर डमरुबाट लिन सक्छौं ।
अन्तमा शिवको वाहान साँडेको पनि छोटो चर्चा गरौं । शिवको वाहान साँडे हो । यसलाई नन्दी पनि भनिन्छ । यो संस्कृत शब्द हो । नन्दीको अर्थ आनन्द, सत्यता र धर्म पनि हुन्छ । यो एक प्रतिक हो । शिव सत्यमाथि विराजमान छन् । आनन्दमाथि विराजमान छन् । एक धर्ममाथि विराजमान छन् । यो साँडेले एक गहकिलो प्रतिको रुपमा प्रयोग भएको छ । यदि मानिस आफ्नो जीवनमा सत्य, आनन्द, धर्म जस्ता कुराहरुमाथि सवार भयो भने उसको जीवन सार्थक हुन्छ । मानिसमा एक अटुट रुपमा सत्यप्रति प्रतिवद्ध हुनुपर्दछ । मानिसले आफुलाई सत्यमाथि उभ्याउन सकेन भने उसको जीवन अर्थपूर्ण हुन सक्दैन । त्यसकारण मानिसको जीवनमा सत्यप्रतिको आस्था महत्वपूर्ण हुन्छ भन्ने सन्देश हामी लिन सक्छौं ।
भगवान शिवसँग जोडिएको त्यस्तै अरु पनि महत्वपूर्ण कुराहरु छन् । भनिन्छ भगवान शिवलाई भाँङ, धतुरो, दुध, दहि, ध्यू, मह र चिनी चढाउनु पर्छ । मन पर्छ । अनि मात्र खुशी हुन्छन् । हामीले देखेका छौं कि मानिसहरुशिवलाई भाँङ, धतुरो चढाउने गर्छन । आफु पनि खाने गर्छन । उनीहरुको भनाई छ कि भगवान शिवलाई यि सबैकुरा प्रिय लाग्छ रे । यो प्रसाद हो रे । चढाउँनु पर्छरे । शिवरात्रीको दिन, पशुपतिनाथ मन्दिरमा नागाबाबाहरु भाँगधतुरो सेवन गरेको देखिन्छ । केही समय अगाडि सम्म सरकारले नै यसको प्रबन्ध मिलाउँथ्यो । हाललाई भने यसलाई बन्द गरिएको छ । के साँच्चै शिवलाई यि सबैकुराहरु चाहिन्छ त ? माथि नै हामीले चर्चा गरिसक्यौं भगवान शिव कुनै मानिसको आकृति भएको देवता होइन । शिव देखिने प्रतिमा होइनन । शिव एक महासुन्यता मात्र हुन । यति कुरा गरेपछि यि सबै वस्तुहरुको के अर्थ आउँछ र तथापि हामीले यो सुन्यतालाई पनि ति कुराहरु चढाउँन सक्छौं । यहाँ जतिपनि खानेकुराहरुको परिकारको कुरा गरिएका छन् ति सबै प्रतिक मात्र हुन । वस्तु होइनन । ति वस्तुहरको प्रतिकात्मक अर्थ के हुनसक्ला ? एकै छिन चर्चा गरौं ।
भाङलाई एक महत्वपूर्ण प्रतिको रुपमा लिइएको छ । प्रत्येक मानिसमा भाङ तत्व अर्थात वेहोसीपन हुन्छ । उसले जीवनमा धेरै कुराहरुमा आफ्नो वेहोसिपनको कारण गुमाइरहेका हुन्छन् । त्यहीबाट मानिसले विभिन्न गल्तीहरु गर्दछन् । एक वेहोसीको कारण मानिसले आफ्नो स्वास्थ प्रतिकुल वस्तुहरुको सेवन गरीरहेका हुन्छन् । गलत व्यवहार गरिरहेका हुन्छन् । गलत सोच राखीरहेका हुन्छन् । त्यसकारण शिवको शुन्यतालाई महसुस गर्दै, हे प्रभु मसँग भएको सबै भाङतत्वलाई तपाईंमा अर्पण गरी म पूर्णरुपमा पवित्र हुन चाहान्छु भन्ने अर्थमा मानिसले भाङलाई शिवलाई चढाइरहेका छन् । तर, यर्थातमा यसो हुन सकिरहेको छैन । मानिसले आफुमा भएको भाङतत्व त्याग्नु पर्ने हो तर उसले एक बनस्पती भाङ पो अर्पण गरिरहेको छ । प्रसाद भन्दै सेवन गरिरहेको छ । यो मानिसको वेहोसीपनकै करामत हो जस्तो लाग्छ मलाई ।
त्यस्तै गरी धतुरो पनि शिवलाई चढाउने गरिन्छ । धतुरोलाई यहाँ विषको रुपमा चित्रण गर्न खोजिएको हो । यो पनि एक प्रतिकको रुपमा प्रयोग भएको छ । तर, यसलाई पनि मानिसले बुझ्न सकेका छैनन । मानिसमा विभिन्न प्रकारका विषहरु छन् । रिस, ईष्र्या, डर जस्ता कुराहरु मानिसलाई नष्ट गर्न सक्ने विष हुन । कालकुट विष निल्न सक्ने भगवनको चरणमा म सबै मेरा विषहरुलाई अर्पण गर्दछु भन्दै मानिसले शिवलाई आफुसँग भएको धतुरोतत्वको विर्सजन गर्नुपर्छ भन्ने अर्थमा यो प्रयोग गरिएको हो । जुनदिन मानिसले आफ्नो धतुरोतत्व नष्ट गर्दछ त्यही दिनबाट ऊ स्वच्छ भएर आफ्नो जीवनलाई अगाडि बढाउन सक्छ । अतः हामीले शिवको सन्दर्भमा प्रयोग भएको धतुरोलाई बुझ्न आवश्यक छ ।
त्यस्तै शिवलाई दुध चढाउने गरिन्छ । दुध चढाउनुको अर्थ फेरि नितान्त भिन्न रुपमा प्रयोग भएको आध्यात्मिक गुरुहरु बताउनु हुन्छ । दुध अर्थात सेतो । सेतोको अर्थ स्वच्छ, सत्य र इमान्दार भन्ने हुन्छ । शिवलाई दुध अर्पण गरि मानिसले आफ्नो जीवनमा पनि सेतोपन छाहोस भनी कामना गर्छ । पाइला पाइलामा सधैं, सवै कर्ममा स्वच्छता छाहोस । सत्यनिष्ठ एवं इमान्दार बन्न सकियोस भन्ने मंगल कामनाका साथ शिवलाई दुध अर्पण गरि प्रतिकात्मक रुपमा विश्वास गरिएको पाइन्छ । यसलाई हामीले अलि गहन रुपमा बुझ्न आवश्यक छ ।
त्यस्तै दहिको पनि सन्दर्भ विलकुल फरक देखिन्छ । दहि दुधबाट बन्छ तर दही फेरि दुध बन्न सक्दैन । गजबको सत्यता छ यहाँ । हामी यो संसारबाट आउँछौं तर आफुलाई रुप परिवर्तन गरि परमात्मामा लिन हुन सक्छौं । मनुष्यको शरीरबाट आएर हामी भगवान बन्न सक्छौं । जस्तो बुद्ध बने । दहीबनीसकेपछि उसमा दुध बाँकी रहन्न । त्यसकारण भगवान शिवलाई प्रार्थना गरी दही अर्पण गर्दै प्रार्थना गर्नुपर्छ कि हे प्रभु म त्यो विराट शुन्यताको दर्शन गर्न चाहान्छु । भगवानतत्वको अनुभूति गर्न पाउँ भन्ने मंगल कामनाका साथ दहिको प्रयोग भगवान शिवको लागि प्रयोग गरिएको पाइन्छ ।
त्यस्तै ध्यूको प्रयोगको सन्दर्भ पनि वडो प्रतिकर छ । भगवान शिवलाई ध्यूसमेत अर्पण गरिन्छ । यहाँ ध्यूलाई शारीरिक समृद्धिको रुपमा प्रतिकात्मक तवरले प्रयोग गरिएको छ । शिवलाई ध्यू अर्पण गरि मेरो यो शरीर स्वास्थ बनोस ताकि म मेरो जीवनको यात्रा सहजतापूर्वक पूरा गर्न सकौं भन्ने हो । जे होस ध्यूलाई शरीरसँग जोडेर एउटा प्रतिकको रुपमा प्रयोग गरिएको हो भन्ने मान्यता रहेको पाइन्छ ।
त्यस्ते मह पनि शिवलाई चढाउने गरेको पाइन्छ । महलाई पनि एक प्रतिकको रुपमा नै प्रयोग गरिएको छ । गुरुहरु बताउँनुहुन्छ कि मेरो वाणी सधैं मह जस्तै मिठो होस भन्ने मंगल कामनाका साथ शिवमा मह अर्पण गरिन्छ ।
अन्तमा रहेको छ चिनी । चिनी पनि अर्काे एक महत्वपूर्ण प्रतिकको रुपमा मानिएको छ जुन भगवान शिवलाई मानिसहरुले चढाउने गर्छन । चिनीमा खास गुण हुन्छ । यसले जस्तो सुकै तितो र टर्राे स्वादलाई पनि मिठो स्वादमा परिवर्तन गर्न सक्छ । चिनी जस्तै मैले पनि मेरो जीवनका सबै तितातत्वहरुलाई स्वादिष्ठ चिनी जस्तै मनाउन सकूँ भन्दै मानिसहरुले मंगल कामनाका साथ भगवान शिवमा चिनी पनि अर्पण गर्दछन् ।
अतः शिवरात्रीको अवसरमा आदि योगी भगवान शिवको सन्दर्भमा केही चर्चा गर्ने प्रयत्न गरेँ । यही अन्तिम सत्य होइन । मैले भनी सकेँ कि यो शिव समझको लागि एक प्रस्थान विन्दु भने हुनसक्छ भन्ने मेरो विस्वास छ । सबैको जय होस ।

विवेक विनयी वु.न.पा. वडा नं. १० कपन स्थित जुगल स्कूल/कलेजका प्राचार्य तथा प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका सदस्य साथै लेखक पनि हुनुहुन्छ । उहाँको दुइ पुस्तक बजारमा आइसकेको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार