सोमवार, भदौ ३०, २०७६ | Monday 16th September 2019

नेता, नेतृत्व र काठमाडौं प्याब्सनको १४औँ अधिवेशन

काठमाडौं जिल्ला प्याब्सनको १४ औं अधिवेशन संघारमै आइपुग्दा नेता, नेतृत्व र १४औं अधिवेशनको वहसले काठमाडौंको शैक्षिक जगत तातेको छ । राजधानीका ठूला एवं प्रख्यात विद्यालयहरु समेत गरी सात सय निजी विद्यालयहरुलाई नेतृत्व गरीरहेको काठमाडौं प्याब्सनको आगमि दिनको नेतृत्व कस्तो हुने हो भन्ने सबैको चासो हुन स्वभाविकै छ ।

अबको एक हप्ता भन्दा कम समयमा काठमाडौं प्याब्सनले नयाँ नेतृत्वगण पाउँनेछ । निजी शिक्षा क्षेत्रलाई सरकारले बन्द गर्ने सम्मको धावा वोलीरहको सन्दर्भमा काठमाडौं प्याब्सनको अधिवेशन हुँदैछ । यो अधिवेशनबाट आउने कार्यसमितिप्रति निजीविद्यालयहरुको ठूलै अपेक्षा र विश्वास हुनेछ । उनीहरुको त्यो आशा र भरोसाको भारी बोकेर काठमाडौं प्याब्सनले सफलताको शिखर चढ्नलाई कडा यत्न गर्न आवश्यक छ ।


ADVERTISEMENT

सरसर्ती हेर्दा अबको काठमाडौं प्याब्सनलाई मुख्यरुपमा सातवटा महत्वपूर्ण अभिभारा पुरा गर्नै पर्ने बाध्यता देखिन्छः
१) निजी विद्यालयहरुको संरक्षण, संर्वधन तथा दुखको सारथी बन्नु ।
२) देशको सुगन्ध एवं संस्कार बोकेको, सिपालु, प्राविधिक एवं सृजनशील विद्यार्थी उत्पादन गर्नु ।
३) केन्द्रिय प्याब्सनसँग सहकार्यगरी राज्यलाई अविरल आवश्यक खबरदारी गर्नु ।
४) विद्यालयहरु विच न्यानो सम्बन्ध विकास गरी सामृहिक हितलाई दिशानिर्देश गर्नु ।
५) प्रतिभावान विद्यार्थीहरुको पहिचान गरी उजागर गर्नु ।
६) विश्वस्तरीर नुतन शैक्षिक अन्भेषण गरी राज्यलाई समेत दिशानिर्देश गर्नु ।
७) आफ्ना शिक्षक तथा कर्माचारीको संरक्षण एवं संवर्धन गर्नु ।

यि महत्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने भएकोले १४ औं जिल्ला अधिवेशनबाट आउने नेतृत्वले गम्भिरतापूर्वक धेरैकुराहरुमा आफुलाई अब्बल प्रमाणित गर्ने पर्छ । भोलिको दिनमा उनीहरुलाई सदस्य विद्यालयहरुले तोला तोला जोख्ने आवश्यमभावी छ ।
प्याब्सन (निजी तथा आवसिय विद्यालयहरुको संगठन, नेपाल) नेपालको पहिलो र एकमात्र बौद्धिक संस्था हो । यसको साख नेतृत्वगणले राख्नुपर्छ । यसको मर्मलाई नेतृत्वगणले बुझ्नुपर्छ । तसर्थ चुनावमा होमिनु अगाडि सबै प्रत्यासीहरुले छातीमा हात राखेर सोच्नै पर्छ कि म प्याब्सनको नेतृत्वमा किन जादैछु ? मैले के के गर्नुपर्छ ? के के गर्न सक्छु ?समयलाई मैले कसरी बुझेको छु ? यो निशुल्क सेवाको लागि म कति समय दिन सक्छु ?यस्ता बग्रेल्ती महत्वपूर्ण प्रश्नको लामो क्यू बन्न सक्छ । त्यसको उत्तरहरु बोकेर आउनु पर्छ । तिनलाई बुझ्नै पर्छ । दुई वर्षको कार्यकालमा कुनै प्रष्ट योजना भएन भने समय यत्तिकै जान्छ । न त आफ्नो विद्यालयको लागि केही गर्न सकिन्छ न त प्याब्सनको लागि नै । त्यसकारणले जो जो साथीहरु नेतृत्वको लागि इच्छुक हुनुहुन्छ उहाँहरुले यो कुरालाई आत्मसाथ गर्नेपर्छ ।
प्याब्सन यसो फुर्सदको समयमासुस्ताउन बनेको कुनै चौतारी होइन । निश्चित लक्ष्य प्राप्तीको लागि निशुल्क एवं निस्वार्थ राष्ट्रको लागि वौद्धिक समपर्ण गर्न अस्तित्वमा आएको हो । यहाँ मथिङ्गाल वेस्सरी खियाउनु पर्छ । प्रत्येक कार्यकारी साथीहरुले आफ्नो तर्फबाट केही न केही स्मरणयोग्य त्याग गर्न आवश्यक छ । केही गर्न सकिएन भने लज्जाको विषय बन्छ । त्यसको पूर्ववोध हुन आवश्यक छ । शिक्षा जस्तो गरिमामय संस्थालाई नेतृत्व गरिरहेको मान्छेले प्याब्सन जस्तो छाता संगठनमा ख्यालठट्टा वा समय व्यतित माग गर्ने सोच हुनुहुन्न जस्तो लाग्छ मलाई । प्याब्सनलाई देशको शिक्षामा महत्वपूर्ण गुणस्तरीय परिवर्तन ल्याउने कार्यको लागि प्रयोग गर्नुपर्छ । त्यो पनि पूर्ण निस्वार्थ रुपले । यो आँप टिप्न बनाइएको भर्याङ् होइन ।
यतिखेर सयौं विद्यालयका प्रिन्सिपलहरु, निर्देशकहरु एवम् संस्थापकहरुअबको काठमाडौं प्याब्सनको नेतृत्व कस्तो आउँला भनेर व्यग्रताको साथ पर्खीरहेका छन् । जस्तोसुकै मानिस आएपनि यिनले निजी विद्यालयहरुको समग्र उत्थानमा महत्वपूर्ण योगदान दिनेछन् भन्ने विश्वासका साथ उनीहरु पर्खिरहेका छन् । त्यसलाई नेतृत्वमा आउन चाहनेले बुझ्न आवश्यक छ । बुझेर सोही वमोजिम पाइला चाल्नु आवश्यक छ ।
यिनै पृष्ठभूमिमा उभिएर नेता, नेतृत्व तथा विद्यालयको सन्दर्भमा विश्वव्यापी मान्यतालाई यहाँ छोटकरीमा चर्चा गर्ने अनुमति चाहान्छु । हुन त हाम्रा विद्वान मित्रहरुलाई यसबारे जानकारी छ र सोही वमोजिम कार्यसम्पादन पनि गरिरहनु भएको होला । तथापि म काठमाडौं प्याब्सनको सानो हिस्सा एवं शिक्षा मार्फत देश निर्माण गर्न सहयोग गर्न सक्छु कि भन्ने सोचेर वोकेर एक शैक्षिक संस्था मार्फत लम्कीरहेको एक सिकारुको रुपमा केही स्वनुभवहरु राख्न चाहान्छु ।
नेताबारेमा घोत्लौं । विश्व विजेता साम्राट अलेक्जेन्डरले नेतामा हुनुपर्ने सारतत्वलाई एकै बाक्यमा उनेर सुन्दर कथन दिए । उनले नेताको प्रमुख गुण अदम्य साहस हो भन्ने कुरालाई प्रमुख ठाने र भने म भेडाले नेतृत्व गरेको सिंहहरुसँग होइन वरु सिंहले नेतृत्व गरेको भेडाहरुसँग डराउँछु । यदि नेतामा साहस भयो भने भेडालाई पनि शक्तिशाली बनाउन सकिन्छ भन्ने हो । नेताको पहिलो कदम सहासकै हो । त्यसपछि अरुपनि धेरेकुराहरु आउँलान् । भोलिको प्याब्सन जसले नेतृत्व गर्छ, उसको साहसको परीक्षा हुनेछ । झन सरकारले निजी विद्यालयहरुलाई जबरजस्ती पेलिरहेको अवस्थामा अरु सबैकुरालाई एकातिर छाडेर अदम्य साहसका साथ आफ्नो हितको लागि लड्नुको विकल्प छैन । त्यसकारण साहसलाई नेताको प्रमुख तत्व मानियो । साहस भएपछि बाँकी कुराहरु स्वत मिल्दै जानेछन् । संसारमा जो सफल नेता भए उसमा अदम्य साहास देखिएकै छ ।
दोस्रो कुरो रह्यो नेतृत्वको । नेतृत्व भनेको के हो भन्ने कुरा प्रस्टसँग नबुझी नेतृत्व गर्नसकिन्न । नेतृत्वको सन्दर्भमा विभिन्न अध्ययन तथा खोज गरीरहेका विश्वप्रसिद्ध लेखक वारेन वेनिसले नेतृत्व भनेको भिजनलाई यथार्थमा ढाल्न सक्ने क्षमता हो भनेका छन् । नेतृत्व शब्दलाई उनले क्षमताको पर्यायवाची शब्द बनाइदिए । बुझ्न सजिलो छ । नेताले नेतृत्वलाई बुझ्न आवश्यक छ । हामीले सामन्यरुपमा कसैमाथि हैकम जमाउन नेतृत्व हो भन्ने ठानीरहेका हुन्छौं जुन पूर्णरुपमा गलत छ । नेतासँग आफ्नो संस्थालाई कहाँ लैजाने भन्ने एक निश्चित भिजन हुन्छ । त्यो भिजनलाई पूरा गर्न क्षमता चाँहिन्छ जसलाई बारेनले नेतृत्व भने । त्यसकारण नेतृत्व गर्नु भनेको क्षमता प्रस्तुत गर्नु हो । यसलाई नेताले बुझ्न आवश्यक छ । काठमाडौं प्याब्सनका अबका नेताले त्यस्तो शसक्त क्षमता प्रस्तुत गर्न सक्नुपर्छ । त्यस्ता मानिसमात्र नेतृत्वमा आउनुपर्छ ।
तेस्रो कुरो रहयो विद्यालय । विद्यालयलाई अहिलेको आधुनिक जमानाको अर्थ दिन आवश्यक छ । हामीले विद्यालयलाई पढाउने थलोको रुपमा लिएका छौं । वास्तवमा विद्यालयले विद्यार्थी पढाउने होइन सिकाउने गर्नुपर्छ । पहिलो पटक प्रसिद्ध शिक्षाविद् रिचार्ड ड्यूफोरले विद्यालयको आधुनिक परिभाषा दिए । उनले भने विद्यालयले पढाउने होइन सिकाउने गर्नुपर्छ । पढाउने र सिकाउने विचको भेदलाई नेताले पनि बुझ्नु पर्छ । किन कि उसले एक यस्तो स्कूलको परिकल्पना गर्नुपर्छ जसको उपस्थितिले देशमा उन्नती हुन सकोस । कसैको जीवन संमृद एवं आनन्दमय बन्न सकोस ।
सामान्य रुपमा पढाउने भन्नाले भएका सूचनालाई एकतर्फीरुपमा सम्प्रेषण गर्ने भन्ने बुझिन्छ । जस्तो पुराणमा पण्डितहरु गर्छन् । कथाहरु एकतर्फी वाचन गरिन्छ । प्रवचन दिइन्छ । यहाँ स्रोताको खासै ध्यान राखिन्न । कतिले सुने । कतिले बुझे । यसको खासै लेखाजोखा हुन्न त्यहाँ । केवल दिइन्छ । एकतर्फी । तर, सिकाउनु भन्नुको अर्थ उसले कुनै कुरा सिकारुलाई दिँदा उसलाई प्रत्यक्ष रुपमा गर्न लगाउँछ । यहाँ सिकारु प्रधान हुन्छ । सिकारुको महत्व हुन्छ । उसको प्रत्यक्ष सहभागीता हुन्छ । त्यसकारण अबको स्कूलले पढाउने होइन सिकाउने गर्नुपर्छ ।
त्यसकारण १४ औं अधिवेशनबाट बन्ने नयाँ कार्यसमितिले यस्ता सबै कुराहरुको आवश्यक सुझवुझ हुन आवश्यक छ । समय कम छ त्यसकारण नेतृत्वले परिपक्व तथा सहीरुपले अघि बढ्ने छ भन्ने विश्वास छ । पदको लागि वा देखाउनको लागि कोही पनि साथीहरु आफुलाई कुनै पनि पदमा दाबी गर्नुहुने छैन । दुईवर्षमा काठमाडौं प्याब्सनको जीवनमा परिवर्तन ल्याउँछु भन्ने संकल्प भएका काविल साथीहरुले मात्र नेतृत्वको लागि चासो दिनुहुने छ भन्ने विश्वास म सँगै तमाम शिक्षासेवी साथीहरुको रहेको छ । हेरौं ।
१४ औं काठमाडौं जिल्ला अधिवेशनलाई सफलतार्थ शुभकामना ।

विनयी वु.न.पा. वडा नं. १० कपन स्थित जुगल स्कूल/कलेजका प्रचार्य ताथ प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका सदस्य एवं तालिम विभागको सचिव साथै लेखक पनि हुनुहुन्छ । उहाँको दुइ पुस्तक बजारमा आइसकेको छ ।

अरुणिमा कलेज

प्रतिक्रिया

सम्बन्धित समाचार